बिहानै ८ बजेदेखि साँझ पाँच बजेसम्म गायत्री पासवान फोहोरकै थुप्रोमा समय बिताउँछिन्।
उनको काम विभिन्न सहरबाट ल्याइएको फोहोर प्लास्टिक सुकाउनु, काम नलाग्ने चिज छानेर निकाल्नु र थ्रेसिङ गर्नु हो। घरपरिवार चलाउन उनी जनकपुर–जलेश्वर सडकखण्डमा पर्ने महोत्तरी गाउँपालिका–५ स्थित पियूष प्लास्टिक उद्योगमा काम गर्छिन्।
पिपरा गाउँपालिकाकी स्थायी बासिन्दा गायत्रीसहित अन्य १३ जना महिला पियूष प्लास्टिक उद्योगमा यस्तै काम गर्दै गरेका भेटिए। उनीहरू सबैले मुखमा मास्क लगाएका थिए।
गायत्रीको परिवार यही फोहोरको काम गरेर चलेको छ। दिक्दार मानेर व्यवहार चल्दैन, घिन मानेर हुँदैन।
‘बानी परेपछि घिन लाग्दैन तर गाउँका मान्छेले यस्तो काम नराम्रो हो भन्छन्। यस्तो कुरा सुन्ने बानी परिसक्यो,’ गायत्री भन्छिन्, ‘यस्तो काम नथाल्नु पथ्र्यो, थालेपछि यसमै बानी पर्यो। अब छाडेर कता जानु र!’
यी श्रमिक महिलाहरू प्लास्टिक पाइप बनाउन प्रयोग हुने उद्योगका लागि प्लास्टिक छानेर कच्चा पदार्थको रूपमा तयार गर्छन्। फोहोरका रूपमा संकलन गरिएको प्लास्टिकबाट पाइप उत्पादन गर्ने पियूष प्लास्टिक उद्योग पिपरा गाउँपालिकाका राजेश झाले खोलेका हुन्।
उद्योगले काठमाडौं, पोखरा, जनकपुर लगायतका क्षेत्रबाट फोहोरका रूपमा फालिएका प्लास्टिक मगाउँछ। यस्तो प्लास्टिक प्रशोधनको प्रक्रिया पूरा गरेर पाइप बनाउन प्रयोग हुन्छ।
‘हामी प्लास्टिकजन्य नसड्ने फोहोर, पोलिथिन कवाडबाट खरिद गर्छौं। हामीले व्यावसायिक हिसाबले नै उद्योग खोलेका हौं,’ झा भन्छन्, ‘काम गर्दै जाँदा हाम्रो उद्योगले फोहोर व्यवस्थापनमा पनि सहयोग पुग्दो रहेछ भन्ने थाहा पायौं।’
झाले यो उद्योग २०७२ सालमा सुरू गरेका हुन्।
जनकपुर लगायतका ठूला सहरको प्लास्टिकजन्य फोहोर केही हदसम्म नियन्त्रण हुनुमा प्लास्टिक पाइप उत्पादन गर्ने उद्योगहरूको ठूलो भूमिका रहेको उनको भनाइ छ।
उनको उद्योगले मासिक ३० टनसम्म प्लास्टिक फोहोर खपत गर्छ। यसमध्ये १० प्रतिशत प्लास्टिक जनकपुरबाट आपूर्ति हुन्छ। झाको उद्योगले ३० रुपैयाँदेखि ५५ रुपैयाँ प्रतिकिलोका दरले प्लास्टिक फोहोर खरिद गर्ने गरेको छ।
झाका अनुसार नरमपनाको आधारमा फोहोरको ग्रेडिङ हुन्छ। कम घनत्व अर्थात् लो डेन्सिटी (एलडी) भएको र सेतोपन बढी भएको प्लास्टिक गुणस्तरीय हुन्छ। यसबाट राम्रो गुणस्तरको पाइप बन्छ। अर्को उच्च मलिकुलर अर्थात हाइ मलिकुलर (एचएम) प्लास्टिक बढी घनत्वको हुन्छ। यो कडा र खस्रो हुन्छ।
झाको उद्योगले यी दुबै प्रकारका प्लास्टिक मिसाएर पाइप बनाउँछ। पाइप उत्पादन गर्न पोलिथिन लगायतका प्लास्टिक खरिद गरेर घाममा सुकाइन्छ। प्रशोधनको प्रक्रियामा लगेर धुलो बनाइन्छ। यही धुलोबाट प्लास्टिकको पाइप बनाइन्छ।
पाइप उत्पादनबाट वार्षिक डेढ–दुई करोड रुपैयाँ आम्दानी हुने गरेको उद्योगी झाको भनाइ छ।
विभिन्न कम्पनीमा काम गर्दागर्दै झालाई सात वर्षअघि आफ्नै उद्योग खोल्ने विचार आएको थियो।
उनले बैंकबाट ६० लाख रुपैयाँ ऋण लिए। आफ्नो बचतसहित एक करोड रुपैयाँको लगानीमा आफ्नै एक बिघा जग्गामा उनले उद्योग खोले।
‘मैले प्लाइउड, छड, सिमेन्ट लगायतका फ्याक्ट्रीमा लामो समय काम गरेँ। यसपछि आफैं केही गर्नुपर्छ भन्ने लागेर उद्योग खोल्ने योजना बनाएँ,’ झाले भने, ‘गुगलबाट धेरै रिसर्च गरेर पाइप उद्योग खोल्ने निर्णय गर्यौं।’
झाले वीरगञ्ज र भारतको नयाँ दिल्लीबाट मेसिनहरू ल्याए। प्राविधिक जनशक्ति पनि भारतबाटै मगाए।
अहिले पियूष प्लास्टिक उद्योगमा ३० जना कामदार छन्। तीमध्ये पाँच जना प्राविधिक छन्। हाल प्राविधिक कर्मचारी पनि नेपाली नै छन्। कामदार अधिकांश महिला छन्।
पियूषले उत्पादन गरेको पाइप जनकपुर, जलेश्वर, बर्दिबास लगायत काठमाडौंसम्म पुग्छ। उद्योगमा लामो समय काम गरेको अनुभवले झाको पाइप उद्योग निकै राम्ररी फस्टायो।
कोरोना संक्रमणको समयमा पाँच महिना बन्द गर्नुपरे पनि त्यसपछि राम्ररी नै चलेको छ।
बन्दको समयमा कमाइ नहुँदा बैंकको ब्याज तिर्न पनि ऋण लिनु परेको झाले बताए। बन्दको समयमा बजारबाट उधारो उठ्न पाएन। बेला-बेलामा हुने आन्दोलनले पनि बाधा हुने गरेको झाको भनाइ छ।
सरकारको नीति उद्योगअनुकूल नरहेको झाको गुनासो छ। यसकारणले पनि कठिनाइ भोग्नु परेको उनले बताए।
उनका अनुसार फोहोर संकलन गरेर चल्ने उद्योगी दोहोरो करको मारमा छन्।
‘फोहोर संकलन गरेर ल्याउनेले प्यान र भ्याट बिल दिँदैनन्। यसकारण हामी पाइप बिक्रीमा भ्याटमा फिर्ता पाउँदैनौं। फोहोर खरिद गर्ने कवाडीवालाले बिल पाएको हुँदैन। उसले हामीलाई भ्याट बिल दिँदैन।’
फोहोर संकलन गरेर औद्योगिक उत्पादन गर्ने उद्योगलाई सरकारले अनुदान र कर छुट दिनुपर्छ भन्ने झाको माग छ। यस्ता उद्योगहरूले सहर सफा राख्न मद्दत गर्ने भएकाले करको मारमा पार्न नहुने उनको धारणा छ।
दोहोरो कर तिर्नुपर्ने समस्या समाधान गरिदिन र फोहोर व्यवस्थापनमा सघाउने उद्योगलाई अनुदानको व्यवस्था गर्न माग गर्दै झाले करिब डेढ वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका थिए।
मन्त्री पौडेलले माग पूरा गर्ने आश्वासन दिएका थिए तर तत्कालीन सरकार विघटन भयो।
पछिल्लो समय बिजुली खपत घटाउन निर्देशन आएकोले उद्योग सञ्चालनमा समस्या थपिएको झाको भनाइ छ।
‘डिजेल-पेट्रोलको दाम बढेको बढ्यै छ। यसले गर्दा उत्पादनको खर्च पनि बढेको छ तर हाम्रो उत्पादनको भाउ बढेको छैन,’ झाले भने, ‘हामी अहिले घाटामा जाँदैछौं तर सरकारले केही पनि सघाउँदैन। बिजुली खपत कम गर्नुपर्ने र डिजेल महँगो हुँदै जाने हो भने उद्योग चलाउनै सकिन्न।’
मधेस प्रदेश सरकारले पनि उद्योगको हितमा छिट्टै नीति ल्याउनुपर्ने उनको माग छ।
फोहोर व्यवस्थापनमा सघाउने उद्योग प्रवर्द्धनका लागि संघीय र स्थानीय सरकारले कर छुट र अनुदान लगायतका व्यवस्था गर्नुपर्ने उनले बताए।
बैंकले ऋण पनि दिन छोडेपछि उद्योगहरू समस्यामा पर्न थालेको उनको भनाइ छ।
झा एक करोड रुपैयाँको लागतमा तयारी खाद्य उत्पादन गर्ने ‘पियूष फुड एन्ड स्न्याक्स उद्योग’ चलाउने अन्तिम तयारीमा छन्।
‘बैंकले ऋण दिएको छैन। क्यास व्यवस्थापन गर्न पनि अर्को उद्योग चलाउन लागेको हुँ,’ उनले भने, ‘ठूला उद्योगपतिले खाद्य उद्योग सञ्चालन गर्ने कारण के रहेछ पत्ता लगाउँदै जाँदा क्यास व्यवस्था गर्न रहेछ भन्ने थाहा पायौं।’
खाद्य वस्तु बजारमा तुरून्तै खपत हुने र नगद आउने भएकाले खाद्य उद्योग सञ्चालनको योजना बनाएको झाले बताए।
उनको नयाँ उद्योगले मिनिरल वाटर र नौ प्रकारका स्न्याक्स उत्पादन गर्नेछ। उनका अनुसार नयाँ उद्योगमा २० जनाले रोजगारी पाउनेछन्।
नयाँ उद्योगमा कृषि उत्पादन खपत हुने हुँदा थोरै भए पनि कृषकलाई समेत फाइदा हुने उनको विश्वास छ।