शुक्रबार आफ्नो घरजग्गाको लालपुर्जा पाएपछि सुर्खेतको भेरीगंगा नगरपालिका–८ की ६७ वर्षीय रामकली खत्रीले भनिन्, ‘अब त बाकसमा पैसा राखेर ताला लगाएको जस्तो भयो।’
बाकसमा राखेर ताल्चा लगाएको पैसा बाकस नै चोरी नभएसम्म जति सुरक्षित हुन्छ, अब लालपुर्जा हात परेपछि आफ्नो घरजग्गा पनि त्यसैगरी सुरक्षित भएको महसुस रामकलीलाई भएको थियो।
‘बस्ने बास र छाक टार्ने अन्न उब्जने अलिकति जग्गा थियो, त्यसको पनि हातमा केही कागज प्रमाण थिएन,’ रामकलीले भनिन्, ‘केही भर नलाग्ने, घर–खेत अर्कैले लैजाने हो कि, भन्ने डर जहिल्यै लागिरहने। अब पक्का कागज आएपछि ढुक्क भयो।’
जाजरकोटको जगतिपुरबाट २०२५ सालमा गुर्भाकोट–८ लोदेमा रामकलीको परिवार बसाइँ सरेर आएको थियो । गाउँमा भएको थोरै घर र जग्गा छोडेर तराई बस्ने लोभले सुर्खेत झरेको उनको परिवारलाई लालपुर्जा पाउन ५३ वर्ष लाग्यो।
लालपुर्जा हातमा लिने धोको पूरा नहुँदै २२ वर्षअघि सुर्खेतमै रामकलीका श्रीमानको मृत्यु भयो। ‘उहाँ पनि लालपुर्जाका लागि कहाँ पुग्नुभएन होला, कसलाई भन्नुभएन होला र,’ उनले भनिन्, ‘उहाँको त धोको पूरा भएन, २२ वर्षपछि मैले लालपुर्जा पाएँ।’
२०२९ सालमा जाजरकोटको भुरबाट भेरीगंगा–८ लोदेमा बसाइँ सरेर आएका हर्कबहादुर रोकायाले पनि ४९ वर्षपछि आफू बसेको घरजग्गाको लालपुर्जा पाएका छन्। उनले झण्डै ३३ रोपनी जग्गाको लालपुर्जा पाएका हुन्।
‘यसअघि पनि बेलाबेला पैसा तिर्यौं, जग्गाको लालपुर्जा दिलाउँछौं भनेर कयौं मानिसले गाउँबाट पैसा उठाए पनि दिएनन्,’ हर्कबहादुरले भने, ‘लालपुर्जा पाउने आशमा जहाँ भन्यो त्यहीँ गयौं, यतिका वर्ष लाग्ने भए उबेला किन पैंसा दिन्थ्यौं र।’
उनका अनुसार ३ हजारदेखि ८ हजार रुपैयाँसम्म करिब १० पटक लालपुर्जाका लागि पैंसा बुझाएर खेर गएको छ।
गुर्भाकोट–८ मै अमृतलाल जैसीको २४ रोपनी जग्गा छ। उनको परिवार रूकुम पश्चिमको चौरजहारीबाट २०२४ सालमा सुर्खेत झरेको हो। ५४ वर्षपछि शुक्रबार लालपुर्जा पाएका जैसीले जीवन बाँच्ने आधार बनेको बताए।
‘बुवाले झाडी मासेर बसाएको घरजग्गाको २०३९ ताका नापनक्सा भए पनि लालपुर्जा पाएका थिएनौं, सानोतिनो व्यवसाय गर्न जग्गा धितो राखेर पैंसा निकालौं भने पनि पुर्जा नभएर सकिएन,’ उनले भने, ‘अब त पुर्जा पाएपछि खुशी भईयो, यो हाम्रो जीवन बाँच्ने बलियो आधार भयो।’
शुक्रबार भूमि आयोगले सुर्खेतको भेरीगंगा–८ का १०२ जनालाई जग्गाको लालपुर्जा वितरण गरेको छ। उक्त वडाका २२ टोलमा लालपुर्जा नभएका ६७७ परिवार छन्। तीमध्ये पहिलो चरणमा २४५ जनाको लालपुर्जा बनेर आएको वडाध्यक्ष पदमबहादुर खत्रीले बताए।
३६ वर्षपछि लालपुर्जा पाउँदा भेरीगंगा–८ चौखाकी पानसरा बादीले खुशी व्यक्त गरिन्। सल्यानको दार्माबाट २०४२ सालमा बसाइँ सरेर सुर्खेत आएको पानसराको परिवारको १ रोपनी जग्गा र घर छ।
‘यहाँ आउँदा जेठो छोरो बोकेर आएकी हुँ, अहिले तीन छोराछोरी छन्। १० जना त नातीनातिना भईसके,’ ५८ वर्षीया पानसराले भनिन्, ‘यतिका वर्षसम्म विना प्रमाण डराउँदै बस्नुपर्यो, अहिले लालपुर्जा पाउँदा किन खुशी नहुनु।’
गुर्भाकोट–८ मैनतडाकी धनसरी सार्कीले लालपुर्जा पाएपछि घरजग्गा खोसिने डर हराएको बताईन्।
वडाध्यक्ष खत्रीका अनुसार अहिले लालपुर्जा वितरण सुरु गरिएका साविकको कोटमाझखर्कका वस्ती २०२२ सालमा बसालिएको हो। तत्कालीन समयमा सामाजिक अगुवा चन्द्रबहादुर थापाले बाहिरबाट आएका मानिसलाई व्यवस्थित गराउन वस्ती बसालेको उनले बताए। थापा त्यसपछि पटकपटक सांसद बनेका थिए।
सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २०३९-४० सालमा ती बस्तीको नाप नक्सा गरी फिल्ड कायम गरिएको थियो।
‘५६ वर्षपछि लालपुर्जा वितरण गर्न सुरु भएको यो वस्ती नेपालको तेस्रो र कर्णालीको पहिलो हो, आयोगले छोटो समयमा गरेको कामले यो वडाका पुर्जाविहिन परिवारलाई खुशी दिलाउँदैछ,’ उनले भने।
जिल्लाका अरु ठाउँहरुमा पनि लापुर्जा वितरणको काम तत्काल अगाडि बढाउने भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले बताए। अव्यवस्थित बसोबास भएका परिवारलाई लालपुर्जा दिनु राज्यलाई पनि करका हिसाबले फाईदा हुने उनले बताए ।
सुर्खेत जिल्लामा लालपुर्जा नभएका परिवार कति छन् भन्ने एकीन तथ्यांक भने छैन। ‘हामीले स्थानीय तहलाई यसको तथ्यांक संकलन गरी पठाउन भनेका छौं, अब छिट्टै आउँछ,’ अध्यक्ष पौड्यालले भने।
पहिलो चरणमा साविकको कोटमाझर्खक हालको भेरीगंगा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३२ जनालाई लालपुर्जा वितरण गरिएको उनले जानकारी दिए।
तस्विरहरुः दिपक/सेतोपाटी