भारतको झारखण्डमा ४६ घन्टापछि केबलकारमा अड्किएका सबैको उद्धार भएको छ।
झारखण्डको देउघर जिल्लास्थित त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए। यो सँगै केबलकारमा रहेका ४७ जना अड्किएका थिए।
भारतीय वायु सेनाको हेलिकप्टर, नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी, स्थानीय अधिकारीको सहायतामा केबलकारमा फसेकाहरूको ४६ घन्टापछि उद्धार गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार केबलकारमा फसेकामध्ये २ महिलासहित ३ जनाको ज्यान गएको छ।
केबलकारमा फसेकाहरूलाई ड्रोनको साहयताबाट खानेकुरा पठाइएको थियो।
त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।
यसैबीच भारतको केन्द्रीय गृह मन्त्रालयले एक एडभाइजरी जारी गर्दै हरेक रोपवेका मर्मतसम्हार चुस्त दुरूस्त राख्न निर्देशन दिएको छ।
केन्द्रीय गृह सचिव अजय भल्लाले सबै राज्य सरकारलाई आफ्नो राज्य भित्र सञ्चालनमा आएका रोपवेको सुरक्षाबारे विशेष ध्यान दिन आग्रह गरेका छन्।
उनले यस्ता घटना नदोहोरिनका लागि सबै राज्य सरकारले सम्बन्धित क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशनसमेत दिएका छन्।