सहरको कथा– विराटनगर
विराटनगरमा एउटा भव्य सिनेमा हल छ– हिमालय टाकिज।
जति बेला काठमाडौंमा नयाँ हिन्दी फिल्म हेर्न महिनौं कुर्नुपर्थ्यो, हिमालय टाकिजमा अल इन्डिया रिलिजका साथ नयाँ हिन्दी फिल्म हेर्न पाइन्थ्यो।
त्यो समय मोरङ–पशुपति एक्सप्रेस चढेर काठमाडौं जानेहरू जसै नागढुंगाबाट ओरालो झर्थे, काठमाडौंको ठिहिरो चिसो र सडकछेउ घरका भित्तामा टाँसिएका फिल्मका पोस्टर देखेर दिक्क मान्थे। विराटनगरबाट जानेहरूका लागि असोज–कात्तिकदेखि चैत–वैशाखसम्मै नागढुंगा कटेपछि ज्याकेटको चेन टम्म कस्नुपर्थ्यो। अनि पोस्टर कस्तो भने, आफूले हिमालय टाकिजमा महिनौं अगाडि हेरेर कथाधरि बिर्सिसकेका सिनेमा राजधानीका रञ्जना, विश्वज्योति, जयनेपाल वा कुमारी हलमा नयाँ रिलिज भन्दै चलिरहेका हुन्थे।
मान्छेहरू आफ्नो जन्मस्थल वा आफू बस्ने सहरप्रति गर्व गर्न अनेक बहाना खोजिरहेका हुन्छन्। विराटनगरवासीका लागि हिमालय टाकिज त्यस्तै एउटा बहाना थियो। जो हिन्दी फिल्मका कीरा हुन्थे, उनीहरू काठमाडौंका आफ्ना साथीभाइका अगाडि छाती फुकाएर भन्थे– ‘हामीसँग हिमालय टाकिज छ।’
हिमालय टाकिजको लोकप्रियताकै कारण जुन सडक यो सिनेमा हल हुँदै गुज्रन्छ, त्यो सडकलाई नै हिमालय रोड भनिन्छ। त्यही हिमालय रोडबाट लगभग पन्ध्र मिनेट दुरीमा अस्पताल चोक छ जहाँ औषधि पसलहरूको लश्कर, एम्बुलेन्स र शव वाहनको र्याइँर्याइँ, सेतो वस्त्रधारी डाक्टर–नर्सहरूको ओहोरदोहोर र विराटनगर सहरदेखि वरपरका गाउँबस्तीहरूबाट समेत उपचार गर्न आएका बिरामीहरूको सधैं घुइँचो लागिरहन्छ।
एउटा विराटनगरको मनोरञ्जन केन्द्र, अर्को विराटनगरको स्वास्थ्य केन्द्र; एउटाले व्यस्त सहरलाई राहत दिने, अर्कोले यहाँका आहत बिरामीको घाउमा मह्लम लगाउने — दुवै ठाउँ विराटनगरको परिचयसँग जोडिएको।
समयको कायापलटसँगै विराटनगर सहरको परिचय मात्र होइन, रूप पनि फेरिएको छ।
कुनै बेला हिमालय रोड र अस्पताल चोकमा सीमित विराटनगर अचेल सिंघिया र केसलिया खोलालाई दुई किनार पारेर दक्षिण रानीदेखि उत्तर ढाटसम्म र पश्चिम केसलिया किनारदेखि पूर्वमा कटहरी सीमासम्म फैलिएको छ।
यहाँ थुप्रै उद्योग, कलकारखाना छन्। देशकै ठूलोमध्येको व्यस्त रानी नाका छ जहाँ सधैं मालवाहक ट्रकहरूको घुइँचो लाग्छ। थपिँदै गएका ठूला सपिङ मल, व्यावसायिक कम्प्लेक्स, चिल्लिँदै गएका सडक, व्यस्त विमानस्थल र त्योभन्दा धेरै गुणा व्यस्त बसपार्कले विराटनगरको भूगोल र जनघनत्व दुवै उच्च दरमा बढेको झलक दिन्छ।
विराटनगरको अर्को विशेषता पनि छ– यो सहरलाई हरदम धुवाँको मुस्लोले फन्को मारिरहन्छ। यस्तो लाग्छ, सहरको फोक्सोले धुवाँको मुस्लो पचाइसकेको छ। नपचाएर धर पनि छैन– स्थापनाकै शतवार्षिकी मनाइसकेको सहर वरिपरि उद्योगधन्दाहरूको ‘क्याराभान’ जो छ। मोरङ–सुनसरी औद्योगिक करिडोर र कटहरी औद्योगिक करिडोर यही सहर वरिपरि फैलिएका छन्। सहरका चारै दिशामा नयाँ कलकारखाना थपिने क्रम तीव्र छ।
केही पाउन केही गुमाउनैपर्छ भन्ने राम्ररी बुझेको छ विराटनगरले। त्यसैले त आकाशमा फन्को मारिरहने धुवाँको मुस्लोको बदलामा विराटनगरले आर्थिक केन्द्र हुनुको पहिचान साँच्न पाएको छ। रोजगारको ठूलो अवसरसँग साक्षात्कार गर्न पाएको छ। देशैभरि औद्योगिक नगरी भनेर कहलिन पाएको छ। विराटनगर सहरप्रति गर्व गर्नेहरूले अचेल काठमाडौं वा अन्य सहरका आफ्ना साथीभाइका अगाडि भलै छाती फुकाएर ‘हामीसँग हिमालय टाकिज छ’ भन्न पाएका छैनन् तर उनीहरू गर्व गर्दै भन्छन्– ‘हामीसँग देशैभरि सामान आपूर्ति गर्ने उद्योगधन्दाहरू छन्।’
विराटनगरले काँचुली फेरेको धेरै भएको छैन। यो बढीमा तीन दशकयताको प्रगति हो। यो प्रगतिका पछाडि, वा भनौं तीन दशकयता पाएको नयाँ काँचुलीका पछाडि विराटनगर सहरका दुई पत्र छन् — एउटा सय वर्षयता विकास भएको आधुनिक विराटनगर जो हाम्रो आँखाअगाडि उपस्थित छ; अर्को दुई हजार वर्षअगाडिको विराटनगर जसलाई चिनाउने अवशेष र जसलाई बुझाउने कथा–किम्बदन्ती मात्र हामीसँग छन्।
सहरको कथा शृंखलामा हामी यसपालि विराटनगर सहरका यी दुवै पत्र उधिन्न गइरहेका छौं।
सुरूआत गरौं, इतिहासको पत्रबाट।
पुरातात्विक अनुसन्धानबाट प्रमाणित तथ्यहरूले भन्छन्– आजभन्दा २२ सय वर्षअघि नै विराटनगरमा मानव बसोबास थियो। त्यो बसोबासको स्वरूप ‘गाउँ’ मा सीमित थिएन, त्यसको अस्तित्व भव्य भन्न मिल्ने ‘नगर’ को हैसियतमा थियो।
त्यस बेलाको पत्र उधिन्न हामीले विराटनगरको सतहमा उभिएर हुँदैन। सतह उक्काएर त्यसमुनि लुकेका तहहरू केलाउनुपर्छ। विराटनगरको सबभन्दा पुछारमा पर्ने भेडियारी बस्तीमा केही पुरातत्वविदको टोली अहिले त्यही काममा जुटेको छ। कथा शृंखलाको पहिलो अंकमा आज हामी तपाईंहरूलाई त्यही बस्तीमा लिएर जाँदैछौं।
ट्राफिक चोकलाई विराटनगरको मध्यविन्दु मान्ने हो भने त्यहाँबाट १० किलोमिटर दक्षिणमा पर्छ भेडियारी बस्ती। यो भारतसँग साँध जोडिएको यस्तो बस्ती हो जहाँ दुई देशका जनताबीच ऐँचोपैंचोसम्म चल्छ।
विराटनगर महानगर, वडा नम्बर १८ मा पर्ने यो बस्तीमा गएको पुस अन्तिमदेखि माघ पहिलो सातासम्म बाक्लो चहलपहल थियो। पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवाली र उनको टिम भेडियारी बस्ती नजिकै रहेको ढिस्को वरिपरि उत्खनन गर्दै थिए। यही ढिस्को भएको ठाउँमा बाइस सय वर्षअघि राजा विराटको दरबार थियो भन्ने भनाइ छ। उनै राजाको नाउँमा सहर नामाकरण भएको विश्वास पनि गरिन्छ। यसको पुरातात्विक वा वैज्ञानिक पुष्टि भने भइसकेको छैन।
वैज्ञानिक पुष्टिको जमर्को गर्दै पुरातत्व विभागको टोली ‘विराट राजाको दरबार क्षेत्र’ भनिने ढिस्को उत्खनन गर्दैछ भन्ने थाहा पाएपछि गत माघ १६ गते म पहिलोचोटि त्यहाँ पुगेको थिएँ।
वरिपरि पक्की घेराबारा लगाइएको फराकिलो चउरको मध्यभागमा एउटा ढिस्को छ। त्यसबाहेक केही रूखबिरूवा, एउटा मन्दिर र एउटा चौतारो मात्र रहेको त्यो फराक चउरमा पुग्दा केही गाईबाख्रा चर्दै थिए।
म बाइक रोकेर भित्र पस्नै लाग्दा एक जना किशोर परबाट साइकलमा आउँदै गरेको देखेँ। उनीसँग सोधपुछ गरेर मात्र भित्र छिर्नुपर्यो भनेर म उनलाई कुरेर बसेँ।
नजिक आइपुगेपछि मैले उनलाई सोधेँ, ‘विराट राजाको दरबार भनिने ठाउँ यही हो नि, होइन?’
साइकलको स्ट्यान्ड लगाउँदै उनले ‘हो’ भन्ने जवाफ दिए।
‘भित्र पस्न पाइन्छ?’
मेरो यो प्रश्नमा ती किशोरले ‘पाइन्छ नि, किन नपाउनु’ भन्दै मलाई आफ्नो पछिपछि भित्र डोर्याए।
उनको नाम जितेन्द्र यादव रहेछ। उमेर १८ वर्ष। पढाइ छाडेर कामकाजमा लागेका जितेन्द्रले चउर सुरू हुने सीमाबाट ढिस्को अग्लिएको ठाउँ नपुगुञ्जेल विराट राजाबारे आफूले जानेका विवरण सुनाए।
‘बुझ्नुभो, यो हिजोअस्तिको ठाउँ होइन। निकै पुरानो ठाउँ हो,’ उनले यति भनेर मलाई सोधे, ‘तपाईंलाई महाभारतका पात्रहरूबारे कत्तिको थाहा छ?’
‘टिभीमा हेरेको,’ मैले पहिले–पहिले भारतीय टिभी च्यानल दूरदर्शनमा प्रसारण हुने बीआर चोपडाको ‘महाभारत’ सम्झँदै भनेँ, ‘जति टिभीमा देखायो, त्यति त थाहा छ।’
‘उसो भए तपाईं यसको कथा बुझ्नुहुन्छ,’ जितेन्द्रले भने, ‘तपाईंलाई याद होला, महाभारतमा एक जना विराट राजा भन्ने थिए। जब पाण्डवहरू कौरवसँग जुवा हार्छन्, उनीहरूले बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवास बस्न जानुपर्छ। बाह्र वर्ष वनवासमा त उनीहरू कहाँ–कहाँ गए थाहा छैन, वन–वन भौंतारिए होलान्। तर त्यो एक वर्षको गुप्तवास बिताउन चाहिँ उनीहरू भेष बदलेर विराट राजाको यही दरबारमा आएका थिए।’
म चुपचाप उनलाई पछ्याउँदै महाभारतको कथा सुन्दै थिएँ।
जितेन्द्रले हातको इसाराले अलि परको ढिस्को देखाए र भने, ‘उ त्यो ढिस्कोमुनि दरबारको अवशेष छ रे। पुरातत्वविदहरू त्यही अवशेष खोज्दै छन्। यसपालि पनि खनेर केही खजाना (अवशेष) निकाले भन्ने सुनेको छु।’
‘अहिले त यहाँ कोही छैनन्! कहाँ गए खन्नेहरू?’
‘तपाईं ढिला आउनुभो नि, खन्न आएकाहरू त खोइ के–के सामान झिकेर, खाल्डो पुरेर फिर्ता गइसके,’ उनले भने, ‘पछि फेरि आउँछन् रे खन्न।’
उत्खनन टोलीका मान्छे फिर्ता गइसके र अनुसन्धानका लागि खनिएको खाडल पुरिइसकियो भन्ने सुनेर म खिन्न भएँ, ‘थुइया, ढिला भएछ नि!’
जितेन्द्र हिँड्दा हिँड्दै टक्क अडिए र फरक्क पछाडि फर्किए।
‘तपाईं भाग्यमानी हुनुहुन्छ, कोही नभएको बेला आउँदा नि ठ्याक्कै मसँग भेट भयो।’
यति भनेर उनी मुसुक्क हाँसे र टिलिक्क दाँत चम्काउँदै भने, ‘म तपाईंलाई यो ठाउँको बारेमा सब कुरा थाहा भएको मान्छे बताइदिन्छु।’
‘तपाईंलाई भन्दा पनि धेरै?’
उनले फेरि दाँत चम्काए र भने, ‘मलाई त के थाहा छ र? सुनेको भरमा बोलेको हुँ। कमलकिशोर यादवलाई भने साँच्चिकै धेरै थाहा छ।’
हामी केही बेर ढिस्को वरिपरि घुम्यौं। त्यसपछि जितेन्द्रले मलाई कमलकिशोर यादवको घर जाने बाटो चिनाइदिए।
कमलकिशोर विराट राजाको दरबार संरक्षण समितिका अध्यक्ष हुन्। एकीकृत भन्सार जाँच चौकीको फराकिलो बाटोमा झन्डै बीस मिनेट बाइक दौडाएपछि कटहरी–जोगबनी निर्माणाधीन रेलमार्ग आइपुग्छ। रेलमार्ग कटेर करिब डेढ किलोमिटर दक्षिण–पश्चिममा पर्छ, कमलकिशोरको घर।
म पुग्दा उनी चिया र बिस्कुट अगाडि राखेर ‘ब्रेकफास्ट’ गर्न तयार थिए। मैले आफ्नो परिचय दिएँ र उनलाई भेट्न आउनुको कारण बताएँ। उनलाई भेटेपछि थाहा भयो, विराट राजाको दरबार र उत्खनन क्षेत्रबारे जिज्ञासा लिएर उनीकहाँ धाउने मै मात्र होइन रहेछु। इतिहास र पुरातत्वमा रूचि भएका धेरै मान्छे उनलाई भेट्न आउँदा रहेछन्। त्यही भएर उनले आफ्नो घरैमा ‘संग्रहालय’ बनाएका रहेछन्।
चिया–बिस्कुट खाइवरी मलाई आफ्नो संग्रहालयतिर लैजाँदै गर्दा कमलकिशोरले भने, ‘नेपालका प्रधानमन्त्रीहरू सुशील कोइराला, झलनाथ खनालदेखि भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजसमेत मेरो घर आउनुभएको छ। मैले यो क्षेत्रमा भेटिएका पुरातात्विक सामग्रीहरू सबै सुरक्षित राखेको छु।’
कमलकिशोरले आफ्नो घरको संग्रहालयमा ढुंगाका विभिन्न सामग्री, पञ्चमार्क मुद्राहरू, गहनाहरू जोगाएर राखेका रहेछन्। तीमध्ये कुनै उत्खनन क्रममा भेटिएका हुन् भने कुनै चउरका सतहमा असरल्ल फेला परेका हुन्।
ती सामग्रीबारे बताउनुअघि उनले मलाई यो ठाउँको नाउँ भेडियारी कसरी रहन गयो, त्यससँग सम्बन्धित दुइटा किम्बदन्ती सुनाए।
पहिलो किम्बदन्तीअनुसार यहाँ पहिले घना जंगल थियो। जंगलमा फ्याउरोहरूको राज थियो। स्थानीय मैथिली भाषामा फ्याउरोलाई भेडिया र ढिस्कोलाई भीड भनिन्छ। यसै आधारमा फ्याउरोहरू कुद्ने जंगल वा ढिस्कै ढिस्को भएको ठाउँ बुझाउन भेडियारी नाउँ राखिएको भनाइ छ।
अर्को किम्बदन्ती जितेन्द्र यादवले सुनाएझैं महाभारतकालसँग जोडिन्छ।
पाण्डवहरू गुप्तवास बिताउन एक वर्ष विराट राजाको यो देशमा लुकेर बस्दा हस्तिनापुरका युवराज दुर्योधनले पाण्डवहरूको भेद पत्ता लगाउन चारैतिर आफ्ना गुप्तचर छाडेका थिए। ती गुप्तचरले लाख कोसिस गर्दा पनि विराट राजाको देशमा लुकेर बसेका पाण्डवहरूको भेद जान्न सकेनन्। त्यही भएर यो ठाउँको नाउँ भेदियारी रहेको विश्वास गरिन्छ। भेदियारीबाट जिब्रो बांगिँदै भेडियारी भएको कमलकिशोर बताउँछन्।
ठाउँको न्वारनसँग गाँसिएका कथापछि ६८ वर्षीय कमलकिशोरले मलाई यहाँको उत्खनन कथा सुनाए।
पुरातत्व विभागको टोलीले यसपालि यहाँ १८ दिन उत्खनन गरेको थियो। यो यस किसिमको दोस्रो उत्खनन हो। यसअघि करिब ५० वर्षपहिले पुरातत्वविद तारानन्द मिश्रले यही ठाउँमा पहिलो चरणको उत्खनन गरेका थिए। मिश्रको उत्खननबाट नै भेडियारी क्षेत्रमा कम्तीमा दुई हजार वर्ष पुरानो प्राचीन मानव बस्ती रहेको प्रमाणित भएको थियो।
‘त्यति बेलाको उत्खननबाट ईशापूर्व दोस्रोदेखि पहिलो शताब्दीतिरै यहाँ घना मानव बस्ती रहेको प्रमाणित भएको छ। त्यो कुनै गाउँ मात्र थिएन। त्यो समयका लागि सानो र सुन्दर सहर नै थियो,’ कमलकिशोरले आफ्नो संग्रहालय घुमाइसकेपछि मलाई विराटनगरको प्राचीन स्वरूपबारे संक्षिप्त जानकारी दिए।
उनले अगाडि भने, ‘त्यो सहरका बासिन्दासँग धनदौलतका नाममा प्रशस्त चौपाया थिए। माटो वा काठका विभिन्न सामान बनाउने सीप उनीहरूले जानिसकेका थिए। तिनै सामानसँग आफूलाई चाहिने अन्य वस्तु सट्टापट्टा गरेर उनीहरू गर्जो टार्थे।’
कमलकिशोरको यो वर्णन पुरातत्वविद तारानन्द मिश्रले पहिलो चरणको उत्खननपछि लेखेको लेखमा आधारित छ।
त्यही लेखका आधारमा हामी त्यस बेला विराटनगरको यस्तो स्वरूप कल्पना गर्न सक्छौं —
वरिपरि घना जंगल। जंगललाई किनार पारेर बगेका सिंघिया र केसलिया खोला। जंगलको बीचमा सानो र सुन्दर नगर। जंगल नजिकै भएकाले यहाँका मान्छेलाई जनावरहरूले दुःख दिइरहन्थे। चौपाया र बालीनाली मात्र होइन, मान्छेलाई समेत ज्यानको असुरक्षा थियो। त्यही भएर स्थानीयले नगर रक्षा गर्न वरिपरि माटो र काठको पर्खाल लगाए। पर्खाल अड्याउन माटोकै ठूल्ठूला खाँबाहरू ठड्याए। यसरी सहर वरिपरि पर्खाल लगाउनु त्यो समयका लागि नौलो कुरा होइन। दुश्मन देशका सिपाही सजिलै प्रवेश गर्न नसकून् भनेर पनि पर्खालले घेर्ने र प्रवेशद्वारहरूमा कडा सुरक्षा दिने चलन थियो। काठमाडौं, कपिलवस्तु लगायत अन्य धेरै प्राचीन राज्यमा यस्तो चलन रहेका ऐतिहासिक तथ्य फेला परेका छन्।
पुरातत्वविद मिश्रले भेडियारी उत्खननबारे विस्तृत रिपोर्ट बनाएको पाइँदैन। उनले केही छलफलमा कार्यपत्र पेस गर्नुका साथै उत्खननमा फेला परेका विभिन्न सामग्रीबारे छोटा लेखहरू भने लेखेका छन्।
उनको उत्खनन ठ्याक्कै कहिले भएको थियो भन्ने यकिन तिथिमिति पनि उपलब्ध छैन। मिश्र स्वयंले आफ्ना दुइटा लेखमा फरक–फरक मिति उल्लेख गरेका छन्। एउटा लेखमा सन् १९६८ (विक्रम सम्बत् २०२५) मा उत्खनन भएको उल्लेख छ भने अर्को लेखमा विक्रम सम्बत् २०२७-२८ सालतिर उत्खनन गरेको लेखेका छन्। यीमध्ये जुनसुकै वर्ष उत्खनन भएको मान्दा पनि यति चाहिँ थाहा हुन्छ, भेडियारीको पहिलो उत्खनन आजभन्दा ५० वर्षअगाडि नै भएको थियो।
मिश्रले भेडियारी उत्खननबारे आफ्नो एउटा लेखमा लेखेका छन्, ‘जोगबनी–रानीको आधा किलोमिटर पूर्वमा रहेको भेडियारी गाउँ दोस्रो ईशापूर्वमै नगरका रूपमा विकास भइसकेको थियो। नगरको चारैतिर माटोको पर्खाल र खाँबाहरू ठड्याइएका थिए। भेडियारीको मध्य–उत्तर भागमा एउटा सांस्कृतिक तह फेला पर्यो जुन शुंगकालको हो। त्योभन्दा अलिकति पूर्व पोखरीसँगै रहेको अग्लो ढिस्को खन्दा सतहभन्दा ६–७ फिटमुनि ४८×४३ फिट आकारको अण्डाकार जग भेटियो। यो कुनै प्राचीन मन्दिरको गर्भगृह हुनसक्छ। मन्दिरसँगै तीनवटा कोठाका संरचना फेला परेका छन्। यो मन्दिर दोस्रो र पहिलो ईशापूर्व गरी दुईपटक बनेको देखिन्छ।’
पुरातत्वविद मिश्रको यही विवरणका आधारमा प्राध्यापक सोमप्रसाद खतिवडा र पेशल दाहालले आफ्नो किताब ‘पुरातत्वको सामान्य परिचय’ मा भेडियारीलाई पूर्वी नेपालको प्राचीन मानव बसोबास केन्द्र भनेका छन्।
प्राचीनदेखि अहिलेसम्म विभिन्न समयकालमा यहाँ थुप्रैचोटि मानव बस्ती बसे होलान्, थुप्रैचोटि बस्ती उजाडिए पनि होलान्। ती सबैको फेहरिस्त हाम्रो इतिहासमा छैन। तर कहिलेकाहीँ स्थानीयले घर बनाउँदा, इनार खन्दा, ट्युबवेल गाड्दा वा खेत जोत्दा, विभिन्न कालखण्डका विभिन्न सामग्री जमिनको गर्भबाट सतहमा निस्कन्छन्।
तीमध्ये कतिपय सामग्री अहिले हाम्रो दैनिक जीवनमा प्रयोग नहुने खालका छन्। त्यस्ता अनौठा वस्तुलाई कतिपय स्थानीयले ‘गाडधन’ भनेर जोगाएर राखेका छन्। कतिपयले विराट राजाको दरबारको अवशेष मानेर श्रद्धापूर्वक पूजा गरिरहेका छन्। तिनै अवशेषका आधारमा पाण्डवहरूलाई गुप्तवास बेला आश्रय दिने महाभारतकालीन राजा विराटका कथा–किम्बदन्तीहरूले स्थानीय जनजिब्रोमा बास पाएका छन्।
जमिनको गर्भगृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिंगो विराटनगर सहरकै कथा सुनाउन आतुर महत्वपूर्ण पुरातात्विक सामग्रीहरू कमलकिशोरको संग्रहालयमा सुरक्षित छन्। कति सामग्रीको विस्तृत पुरातात्विक अध्ययन हुन बाँकी छ।
ती सामग्रीले विराटनगरको यो भेगमा प्राचीन सहर थियो र त्यही सहरले समयक्रममा विस्तार हुँदै, काँचुली फेर्दै आजको रूप लियो भनेर भन्न हामीलाई प्रशस्त आधार दिन्छन्।
सबभन्दा प्रमुख सामग्री हुन्, करिब ४० वटा मुद्रा जुन भारतवर्षमा पहिलो वा दोस्रो ईशापूर्वदेखि सातौं वा आठौं शताब्दीसम्म प्रचलनमा थिए। यसले भेडियारीको इतिहास कम्तीमा दुई हजारदेखि बाइस सय वर्ष अगाडिसम्म तन्किन्छ।
यहाँका भग्नावशेषमा सामान्य आकारदेखि ज्यादै ठूला इँटाका फलकहरू पाइएका छन्। ती इँटाको नाप १० इन्च लम्बाइ, १० इन्च चौडाइ र साढे तीन इन्च मोटाइको छ। यी इँटाका फलकहरू पकाएर मजबुत बनाइएको देखिन्छ। ठूला आकारका इँटाका फलकमा तीनवटा धर्सा पनि छन्। पहिलो शताब्दी आसपासका यस्ता कलात्मक इँटाको प्रयोगले आजभन्दा दुई हजार वर्षअगाडि नै विराटनगर सभ्यताले इँटा पोल्न र प्रयोग गर्न जानिसकेको थियो भन्ने बुझाउँछ। यसले भेडियारीमा जुन सहर बसेको थियो, त्यो समृद्ध थियो भन्ने पनि झल्काउँछ।
पहिलो चरणको उत्खननमा भेटिएका अन्य पुरातात्विक सामग्रीमा ढुंगाका सामान पनि प्रशस्तै छन्। तिनमा ढुंगाबाट बनेका व्यायाम सामग्री, ढुंगे फलक, आगो निकाल्ने सामग्री, ढुंगाको पिर्का र शिवलिंग आकारका वस्तु छन्। व्यायाम सामग्रीको लम्बाइ १४.५ इन्च, चौडाइ ४ इन्च र उचाइ २ इन्चको छ। तौल करिब आठ किलो छ।
दुवैतिर हात पसाउन मिल्ने गरी प्वाल पारिएको र समाउने भागसमेत राम्रोसँग कुँदिएको उक्त व्यायाम उपकरण फुस्रो रंगको कडा ढुंगाबाट बनेको छ।
त्यस्तै, ११ इन्च लम्बाइ, सात इन्च चौडाइ र एक इन्च उचाइको ढुंगे फलक शिलालेख खोप्न तयार पारेजस्तो देखिन्छ। माथिल्लो भागमा दायाबायाँ हात्तीका मुखाकृति र बीचमा पुष्पयुक्त कलश अंकित छन्। दुवैतिरका हात्तीले कलशमा अभिषेक गरेजस्तो देखिन्छ भने फलकका दायाँबायाँ र तल छेउछेउमा धर्के बुट्टाहरू कुँदिएका छन्। यसमा कुनै अभिलेख कुँदिएको छैन। तत्कालीन कुनै राजा वा सामन्तले अभिलेख कुँद्न यो ढुंगे फलक ठिक्क पार्दापार्दै कुनै भवितव्य पो पर्यो कि!
उत्खननमा माटाका सामान पनि धेरै फेला परेका छन्। ठूलो गाग्रो, मझौला घैला, लामो घाँटी भएका सुराही, माटोका प्लेट र कचौरा, माटोका ढक, आल्सी, ठेकी, मट्यांग्रा, चक्का, तमाखु खान प्रयोग गरिने चिलिम, धुपौरो लगायत सामग्री छन्।
देवीको टुटेको मुखाकृति, पुरूष मुखाकृति र राधाकृष्णका मूर्ति, राम्रोसँग केश विन्यास गरिएको स्त्रीको मुखाकृति पनि भेटिएका छन्। यस्ता कलात्मक सामग्रीले विराटनगर सहर त्यति बेलै कलाकृतिमा धनी थियो भन्ने बुझाउँछ।
कमलकिशोरले आफ्नो संग्रहालयमा रहेका यी सामग्री मलाई एक–एक देखाए, एक–एक चिनाए।
यी त भए पुरातत्वविद तारानन्द मिश्रले आजभन्दा ५० वर्षअघि उत्खनन गरेर फेला पारेका सामग्रीको फेहरिस्त र त्यस आधारमा तयार पारिएको निष्कर्ष। अब कुरा गरौं दोस्रो चरणको उत्खननबारे।
पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा जारी दोस्रो चरणको उत्खनन अघिल्लोकै विस्तारित रूप हो। यसले अघिल्लो उत्खननको दाँजोमा केही थप उपलब्धि हात पारेको छ।
दोस्रो उत्खननको उद्देश्य र अहिलेसम्मको उपलब्धिबारे मैले ज्ञवालीसँग लामो कुराकानी गरेको थिएँ। उनका अनुसार यसका तीन उद्देश्य छन् — भेडियारीमा रहेको प्राचीन बसोबास कहाँसम्म फैलिएको थियो भनी पत्ता लगाउने; यहाँ फेला परेका सामग्रीबाट त्यस बेलाको सामाजिक, सांस्कृतिक जनजीवन अध्ययन गर्ने; र फेला परेका सामग्रीलाई पुरानै स्वरूपमा संरक्षण गरेर राख्ने।
पहिलो उद्देश्यअनुसार जमिनको सतह माथिबाट जिपिएस सर्वेक्षण गरेर त्यसमुनि प्राचीन बसोबासका अवशेष छन् कि छैनन् अध्ययन गरिन्छ। यस्तो सर्वेक्षणमा जिपिएस उपकरणले जमिनमुनिको तस्बिर खिच्छ र त्यस आधारमा जमिनको गर्भमा के–के लुकेका छन् थाहा हुन्छ। यसका लागि जमिन खनिरहनुपर्दैन।
विगतमा यस्तो सुविधा नहुँदा पुरातत्वविदहरूले अन्दाजमै जमिन खन्थे। कहिले महत्वपूर्ण सामग्री फेला पर्थ्यो, कहिले केही हात लाग्थेन। यो काम लगभग जुवा खेलेजस्तै थियो। लामो समय अध्ययन गरेर ठूलो रकम खर्च गरेपछि हात लागी शून्य हुन सक्थ्यो।
जिपिएस सर्वेक्षणले भने कुन ठाउँ उत्खनन गर्ने र कहाँ उत्खनन गर्न जरूरी छैन भन्ने पहिल्यै थाहा हुन्छ।
‘केही राम्रो नतिजा आयो त यसपालि?’ मैले उत्खनन टोलीको नेतृत्व गरेका ज्ञवालीलाई सोधेँ।
जवाफमा उनले भने, ‘हामीले जिपिएस सर्वेक्षण गर्दा भेडियारी पूर्वतर्फ प्राचीन बस्तीको अवेशष भेटिएन। उत्खनन स्थलभन्दा दक्षिणमा किचकवध पोखरी छ। त्यहाँ नजिकै एउटा भग्नावशेष छ। हामीले त्यहाँसम्म मात्र बसोबास फैलिएको फेला पार्यौं।’
ज्ञवालीले अगाडि भने, ‘उत्खननस्थलबाट उत्तरतर्फ निर्माणाधीन कटहरी–जोगबनी रेल्वे छ। त्यता पनि मानव बसोबास पाइएन। अहिलेसम्मको अध्ययनले त्यस बेलाको बस्ती भेडियारीबाट दक्षिण र पश्चिमतिर मात्र फैलिएको रहेछ भन्ने बुझिन्छ।’
यहाँ ज्ञवालीले भनेको दक्षिण र पश्चिम क्षेत्रले के बुझाउँछ भने, दुई हजार वर्षभन्दा अगाडि भेडियारीलाई केन्द्र बनाएर फैलिएको प्राचीन नगर अहिलेको भारतीय राज्य विहारसम्म तन्किएको थियो। अहिले पनि यहाँबाट दक्षिणी भू–भागमा पर्ने भारतीय गाउँलाई भेडियारी नै भनिन्छ।
पुरातत्व टोलीले भेडियारी गाउँभन्दा करिब दुई सय मिटर पश्चिमतर्फको एउटा सम्भावित ठाउँ खनेर प्राकृतिक तहको माटो संकलन गरेको छ। यो माटोको अब प्रयोगशाला परीक्षण गरिनेछ र यहाँ सबभन्दा पुरानो बस्ती कहिले बसेको थियो भन्ने तिथिमिति पत्ता लगाइनेछ। यसले भेडियारीलाई केन्द्र बनाएर बसेको प्राचीन बस्ती कति टाढासम्म फैलिएको थियो भन्नेबारे मोटामोटी अनुमान लगाउन सकिने ज्ञवाली बताउँछन्।
यो अध्ययन क्रममा आजभन्दा ५० वर्षअघि उत्खनन गरिएका खाडल पनि खोलिएका थिए।
यहाँ शुंगकालीन मन्दिरको गर्भगृह, तीनवटा कोठाको संरचनासँगै मन्दिरमा प्रयोग भएका झिँगटीका अवशेष भेटिएका छन्। शुंगकालमै बनेको साँढेको मूर्ति पनि पाइएको छ जसको तौल झन्डै ८५ ग्राम छ।
उत्खननमा फेला परेका अन्य सामग्रीमा पाँचवटा विभिन्न आकारका इँटा छन्। सबै इँटाको तौल २३ किलो एक सय ग्राम छ। नौ किलो माटोका खपडा पनि फेला परेका छन्।
यी सामग्री पहिलेजस्तै कमलकिशोर यादवको ‘संग्रहालय’ मा राखिएको पुरातत्व विभागले जनाएको छ।
पहिलो र दोस्रो चरणको अनुसन्धानबाट अहिलेसम्म जे–जति सामग्री फेला परे, त्यसले विराटनगरको भेडियारी क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्व प्रमाणित गर्छ। यो ठाउँ आजभन्दा कम्तीमा दुई हजार वर्षअघि नै कलाकृतिमा निपूर्ण; माटो र काठको पर्खाल लगाइएको; इँटा र ढुंगाका सामग्री बनाउने सीप जानेको एक समृद्ध नगर थियो भन्नेमा कुनै दुबिधा छैन।
जहाँसम्म यो महाभारतकालीन विराट राजाको देश हो भन्ने भनाइ छ, त्यसमा इतिहासकारहरू एकमत छैनन्।
महाभारत आफैंमा इतिहास हो भन्ने प्रमाणित नभएकाले विराट राजा पनि ऐतिहासिक पात्र हुन् भन्ने पुष्टि हुँदैन। त्यसैले महाभारत र राजा विराट दुवैलाई धेरैले इतिहासभन्दा बढी किम्बदन्तीका रूपमा लिन्छन्।
इतिहास होस् या किम्बदन्ती, विराट राजाले यहाँका स्थानीयको विश्वासमा राज गरेका छन्। यो कथाले उनीहरूलाई ‘हामीकहाँ विराट राजाको दरबार छ’ भन्दै आफ्नो अतीतमा गर्व गर्ने आधार दिएको छ। त्यसैले विराटनगर सहरको कथा भन्दा यो सहरको नामसँग जोडिएको मानिने विराट राजालाई बेवास्ता गर्न मिल्दैन।
इतिहास कहिले पनि पुरातत्वविदहरूको तथ्यमा सीमित हुँदैन। दुनियाँमा यस्ता कैयन घटना हुन्छन् जसलाई इतिहासकारहरूले बुझ्न र दुनियाँलाई बुझाउन किम्बदन्तीको सहारा लिन्छन्। किम्बदन्ती भनेको प्रमाणित इतिहास होइन तर यो त्यसै बन्दा पनि बन्दैन। किम्बदन्तीका पछाडि पुर्खौं पुर्खादेखि श्रुति परम्पराका आधारमा हस्तान्तरण हुँदै आएको संस्मरण जोडिएको हुन्छ। त्यो संस्मरणका पछाडि कुनै समयकालको वास्तविक घटना लुकेको हुनसक्छ।
जसरी कुनै वास्तविक घटना एकले अर्कोलाई सुनाउँदा फूलबट्टा भरेर बढाइचढाइँ प्रस्तुत गरिन्छ, त्यसरी नै इतिहासको कुनै कालखण्डमा भएका घटना पुस्तान्तर हुँदै आउँदा फूलबुट्टा भरेर अलौकिक ढंगमा प्रस्तुत गरिएको हुनसक्छ।
विराटनगर कथा शृंखलाको अर्को अंकमा हामी विराट राजाको किम्बदन्ती र त्यस किम्बदन्तीसँग जोडिएका विभिन्न स्थलबारे चर्चा गर्नेछौं।
(विराटनगर कथा शृंखलाको दोस्रो अंक आगामी साता प्रकाशन हुनेछ।)