भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राको चौथो दिन बुधबार साँझ तान्त्रिक विधिअनुसार दसकर्म विधान गरेर ५५ हात लामो य:सि भेलुखेलस्थित ल्योसिख्यमा ठड्याइयो।
बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरू म्ह (हात नभएको) य:सि उभ्याइएको थियो ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा य:सि उभ्याउने गरिन्छ। भैरवनाथको प्रतीक मानिने य:सिको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । य:सि उभ्याउँदा स्थानीय र दर्शनार्थीको घुइँचो ठूलो थियो।
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ यहाँ यसरी नै य:सि उभ्याउने गरिन्छ। उभ्याइएको य:सि वैशाख १ गते ढाल्ने गरिन्छ। चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले य:सि एक वर्ष उभिएको बुझाइ छ।
यसअघि बुधबार बिहान भक्तपुरकै पोटरी स्क्वायरमा सानो हात नभएको य:सि उभ्याइन्छ। स्थानीय स्तरमा उभ्याइने यो य:सि हेर्न सयौं भक्तपुरवासी आउँछन्।
यसअघि नयाँ वर्षको चार दिनअघि प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ मंगलबार दिउँसो तान्न थालेसँगै जात्रा सुरू भएको थियो। प्रत्येक वर्ष नयाँवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।
यस वर्ष चैत २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्का: जात्रा आइतबार बिहान भैरवनाथको नित्य पूजासँगै सुरु भएको हो।
हेर्नुहोस् तस्बिरहरू