सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह वैशाख ६ गते हुने भएको छ।
दीक्षान्त समारोहका लागि अधिकांश तयारी पूरा भइसकेको विश्वविद्यालयको प्रचारप्रसार उपसमितिले जनाएको छ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन्। समारोहको प्रमुख अतिथि भने भारतका कैलाश सत्यार्थी हुने प्रचारप्रसार उपसमितिले जनाएको छ ।
प्रधानमन्त्री देउवा र सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता सुर्खेत आउने तय भइसकेको छ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल पनि समारोहमा सहभागी हुनेछन्।
दीक्षान्त समारोहमा विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिने छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।
यस्तै स्नातक तहका ४० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तिर्ण ४-४ जनालाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ।
समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तिर्ण २ जना र स्नातक तह उत्तिर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिने छ ।
यस्तै विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गर्न लागिएको छ। मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिने छ।
स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दिक्षित हुनेछन्।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी गर्ने पूर्णमान श्रेष्ठ समारोहका क्रममा दिक्षित हुँदैछन्। विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका श्रेष्ठले व्यवस्थापन संकायमा आफ्नो शोधपत्र तयार पारेका थिए।
वीरेन्द्रनगर-८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ।
दीक्षान्त समारोह अघि एक घण्टा विश्वविद्यालयको सिनेट सञ्चालन गरिने छ।
यो वर्ष हुन लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो। यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो।
त्यसअघि विश्वविद्यालयको २०७३ भदौ २० गते विशेष दीक्षान्त समारोह भएको थियो। उक्त विशेष समारोहमा साहित्यकार झमकुमारी घिमिरेलाई विद्यावारिधि उपाधिसहित दिक्षित गरिएको थियो।