धनगढी उपमहानगरपालिका–१४ की कौशिला दर्जीलाई साँझबिहानको चुलो कसरी जलाउने भन्ने चिन्ता छ। आजकाल उनको घरमा खाद्यान्न सकिएको छ। खाद्यान्नको गर्जो टार्न उनी बिसञ्चो हुँदा पनि मजदुरी गर्न जान्छिन्। उनी अर्काको खेतबारीमा काम गर्न र निर्माणस्थलमा गिट्टी, बालुवा, इँटा इत्यादि बोक्न जान्छिन्।
राम्रो काम पाएका दिन पाँच सय रूपैयाँ कमाउँछिन्। घर चलाउने उनको आम्दानी यही हो। कहिलेकाहीँ काम गरेकै दिन पैसा नपाउने पनि हुन्छ। त्यस दिन छाक टार्न मुश्किल पर्छ। कहिलेकाहीँ चाउचाउका भरमा पनि रात काट्नु पर्छ।
कौशिला भन्छिन्, 'दाल त कहिलेकाहीँ मात्रै हो, धेरै त आलु र सिन्कीको झोलसँग खान्छौं। चाउचाउको झोलसँग पनि खान्छौं।'
उनका अनुसार काम नपाएको वा पैसा नभएको दिन पैसा सापटी मागेर चलाउनु पर्छ। कहिलेकाहीँ छिमेकीसँग अन्न पैंचो लिएर काम चलाउनुपर्छ।
कौशिलाको साढे दुई कठ्ठा जमिन छ। उनले त्यसमा धान रोपेकी थिइन्। काट्न ठिक्क भएको बेला गत कात्तिक पहिलो साता परेको झरीले सबै नष्ट गरिदियो। मोहना र खुटिया नदीको बाढी पस्यो।
'राति अचानक खेतमा बाढी पस्यो, धान बचाउन सकिएन,' कौशिलाले भनिन्, 'वर्ष दिन खान पुग्ने त होइन तर आधा जति त्यो धानले चल्थ्यो। यसपालि धान र मसुरो दुवै सखाप भएर बढी गाह्रो भयो।'
कौशिलाको परिवारले लकडाउनका बेला पनि भोकमरीको सामना गर्नु परेको थियो।
वडा कार्यालयले बाढीबाट प्रभावित किसानलाई राहत दिने भनेर विवरण संकलन गरेको थियो। कौशिलाले पनि आफ्नो विवरण टिपाएकी थिइन्।
'अलिकति राहत दिन्छन् भन्ने सुनेर दिनभरि लाइन लागेर नाम टिपाएका थियौं,' उनले भनिन्, 'पाँच महिना बित्यो, केही पाइएन।'
कौशिलाकै टोलकी संगीता दर्जीको पनि पाँच कठ्ठामा लगाएको धान नष्ट भयो। नब्बे वर्षकी संगीता मागेर खान्छिन्। उनी भन्छिन्, 'चामल किन्न पैसा छैन। म बुढी काम गर्न सक्दिनँ। गाउँमा चामल माग्न जान्छु।'
वडा नम्बर १४ कै असपति चौधरीको परिवारलाई पनि बाढीका कारण खाद्यान्नको समस्या परेको छ। दस कठ्ठा खेतमा लगाएको धान आधा जति बाढीले बगाएर लग्यो। गत वर्ष उनले थोरै धान बेचेकी पनि थिइन्। यसपालि त खानै नपुग्ने भयो।
'खेती गर्ने मान्छेलाई घाटै घाटा छ। मेहनत गर्यो, पैसा खर्च गरेर मलखाद हाल्यो, कहिलेकाहीँ सबै मेहनत खेर जान्छ,' असपति भन्छिन्, 'नेताहरू कठ्ठाको हिसाबले राहत दिने भन्थे, वडा कार्यालय गएर फारम भरेका थियौं, हाम्रो टोलमा केही पनि पाइएन।'
राहत कहिलेसम्ममा पाइन्छ भनेर बेलाबेला सोधखोज गरे पनि नेताहरूले वास्ता नगरेको उनको गुनासो छ।
उनी भन्छिन्, 'फेरि राहतको कुरा गर्न हाम्रो गाउँमा कहिल्यै पनि नेताहरू आएनन्। अहिले चुनावका लागि आएका छन्। हामीलाई सहयोग गर्नुस् भनेका छन्।'
जनता भोकमरीमा रुमलिँदा मुख नदेखाउने नेताहरूले चुनाव आएपछि टोलटोलमा मानिस भेला गर्न थालेको स्थानीय करवीर दमाईको भनाइ छ।
उनी भन्छन्, 'हामीले सहयोग चाहियो भन्दा नेताहरू भाग्छन्। आफ्ना लागि भोट हाम्रा घरमै आउँछन् र तपाईंहरूको सहयोग चाहियो भन्छन्।'
वडा नम्बर १ का वडाध्यक्ष तथा धनगढी उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले कृषकलाई राहत दिने विषयमा केही पनि काम नभएको बताए।
उनले भने, 'केन्द्र सरकारले भनेअनुसार क्षतिको विवरण संकलन गरेको भए पनि राहत दिने विषयमा अहिलेसम्म केही पनि काम भएको छैन।'
बाढीबाट क्षति पुगेका किसानका लागि तीन वटै तहका सरकारले केही पनि काम नगरेको उनको भनाइ छ।
'केन्द्र सरकारले जिल्ला प्रशासन कार्यालयको खातामा पैसा पठाएपछि राहत वितरण गर्ने कुरा भएको हो । त्यो काम भएन। अब यो काम चुनावपछि होला,' उनले भने।
धनगढी उपमहानगर मात्र नभई गत कात्तिकको वर्षाका कारण सुदूरपश्चिमको अन्नभण्डार मानिने तराईका जिल्ला कैलाली र कञ्चनपुरमा अधिकांश किसानको धान क्षति भएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार कैलालीमा ५२ प्रतिशत र कञ्चनपुरमा ४० प्रतिशत धानबालीमा नोक्सान भएको थियो।