आफ्नो प्रेम सम्बन्धलाई कसले पो सुरक्षित राख्न नचाहला! यो भाव जनाउने अनेक तरिका छन्, यसमध्ये एक हो सार्वजनिक ठाउँमा ताल्चा मार्नु।
ताला मार्ने! अलमल नहुनु होला। फोटा, फिल्मका दृश्य वा गएकै बेला पनि इटालीको राजधानी रोम सम्झिनुहोस्। त्यहाँ सार्वजनिक ठाउँका पुल, पर्खाल, रूख लगायत जेमा मिल्दो हुन्छ, त्यहाँ ताला मारेको देख्न सकिन्छ।
विशेषगरी युरोपमा मायाको प्रतीकका रूपमा यसरी ताल्चा मार्ने चलन छ। अचेल यो चलन संसारका विभिन्न कुनामा फैलिसक्यो।
प्रेमको चिह्न भएकाले यस्तो तालालाई अंग्रेजीमा 'लभ प्याडलक' भनिन्छ। जोडी वा एक्लै पनि कसैको सम्झनामा ताल्चा झुन्ड्याउने अनि साँचो कतै फालिदिने, मिलेसम्म नजिकको नदीमा!
यस्तै चलन अहिले जावलाखेल कुनाको एउटा सडकमा सुरू भएको छ।
चिडियाखानापछाडिको दोबाटोसँगै टाँसिएको पर्खालको भित्तामा राखिएको तारे जालीमा सयौं ताल्चा छन्। साना-मध्यम आकारका रंगीबिरंगी ताल्चाहरूले मायाका विभिन्न रंगहरू झल्काउँछ।
विभिन्न कलाकृति कोरिएको भित्ता, सानो मन्दिर, चिडियाखानाका रूखहरूको हरियाली र छहारीसँगै मायाको राग छाडिरहेका यी ताल्चाले यो सडकमा बेग्लै रौनक थपेको छ।
आज रमाइलो ठाउँ बनेको यो सडक सधैं यस्तो थिएन। अन्धकार, सुनसान, दुर्गन्धित र लुटपाटको जोखिम मानिन्थ्यो। मानिसहरू यो बाटो हिँड्नै डराउँथे।
दुई दशकअघिसम्म यो सडकको यस्तै अवस्था देख्ने स्थानीय व्यक्ति हुन् अवदेश विष्ट। उनी नेपाल प्रहरीमा डिएसपी छन्।
'पहिले यहाँ फोहोरको थुप्रो थियो, गनाउँथ्यो। हरेक रातजसो लुटपाट हुन्थ्यो। दिउँसै पनि हिँडडुल गर्न डर थियो,' उनले त्यो बेलाको यो सडक सम्झिए, 'यहाँ सानो चौतारो त थियो, तर सँगै झाडी पनि थियो। यसले गर्दा टोलबासीलाई पनि समस्या भयो।'
टोलको बासिन्दा भएकाले अवदेशको परिवारलाई सडक सुधारको जिम्मेवारी महसुस भयो। यसको पहल गरे उनका बुवा दिवाकरले। २०६४ सालको एक दिन दिवाकरले यहाँ महालक्ष्मीको मन्दिर बनाए। दुर्भाग्य भनौं वा मन्दिर नै उनको अन्तिम रहर थियो, मन्दिर खुलेको भोलिपल्टै उनको निधन भयो।
'बुवाको निधन भएपछि जेठो छोरा भएकाले यसको रेखदेख जिम्मा मलाई नै आयो,' अवदेशले भने।
मन्दिर बनाएपछि त्यहाँ फोहोर फाल्न कम भयो। सडक गनाउन छाड्यो, किचिमिची कुल्चिन परेन। फोहोरलाई त महालक्ष्मीले रोकिन्, डर भने उस्तै रह्यो। लुटपाट चली नै रह्यो।
अवदेश त्यो बेला जागिर सिलसिलामा बाहिरै थिए। तर आफ्नो टोलको खबर आउने नै भयो। त्यसमाथि प्रहरी भएकाले सुरक्षाबारे झन् धेरै चासो भइहाल्यो। अझ मुख्य कुरा बुवाले सुरू गरेको काम!
अवदेशलाई यो सडकको कायापलट कसरी गर्ने भन्ने लागिरह्यो। दिक्कलाग्दो ठाउँ गुलजार बनाउने उपाय सोचिरहे। यसैबीच एकपटक उनी कामकै सिलसिलामा इटाली पुगे। भेरोना सहर घुम्दै गर्दा त्यहाँ उनले हजारौं रंगीबिरंगी ताल्चा झुन्डिएका देखे।
'मैले पनि त्यहाँ मेरो र श्रीमतीको नामको पहिलो अक्षर कोरेर ताल्चा लगाइदिएँ। अनि त्यहीँको नदीमा साँचो फालेँ,' अवदेशले सम्झिए।
अवदेशले त्यहाँ ताला मार्दै गर्दा उनको दिमागको ताला भने खुल्यो। फर्केर उनले बुवाले मन्दिर बनाएको सडकमा यस्तै ताला मार्ने ठाउँ बनाउने सोचे। फर्केर श्रीमती अमृतासँग कुरा गरे। उनलाई पनि यो उपाय मनपर्यो।
अनि एक वर्षअघि उनीहरूले महालक्ष्मी मन्दिर छेउकै भित्तामा निलो पृष्ठभूमि रंगाए।
सेतो अक्षरले लेखे- हाम्रो प्रेम अमर रहोस्!
अनि आयातकार जाली बनाएर झुन्डाए एउटा ताल्चा- अवदेश र अमृताको प्रेमको नाममा।
'सातौं पुस्तासम्म हाम्रो प्रेम अमर रहोस् भनेर ताल्चा मार्यौं,' अवदेशले सम्झिए, 'अनि साँचो नदीमा बगाइदियौं।'
विदेशमा मात्र चलेको चलन, सुरूमा त हिँडडुल गर्नेहरूले 'यो के गर्या होला' भन्ठाने। अचम्म मानेर हेरे। यही बाटो हिँड्ने केही विदेशीलाई भने यसले तान्यो। उनीहरूले बुझिहाले। केही जोडीले ताल्चा ल्याएर झुन्ड्याइ नै दिए।
यहाँ पाँच वटाजति ताल्चा भएपछि त झन् रमाइलो किस्सा भयो।
'केही व्यक्तिले ताला पाइने पसल हो भनेर सोधे,' उनले भने, 'हामीले होइन, प्रेम बन्धन सातौं पुस्तासम्म रहोस् भनेर यहाँ ताला लगाउँछन् भनेर बुझायौं। यसरी बुझाएपछि सोध्नेमध्ये अधिकांशले ताल्चा लगाउन थाल्नुभयो।'
बिस्तारै यसबारे बुझेका युवायुवती यहाँ आउन थाले। अवदेशका अनुसार एक वर्षमा यहाँ दुई हजारभन्दा बढी ताल्चा भइसके।
'ताल्चा लगाउने बनाएपछि मानिसको चहलपहल हुन थाल्यो। एकपछि दुई हुँदै अहिले धेरै प्रेम जोडी आउन थालेका छन्,' उनले भने।
यहाँ अविवाहित प्रेम जोडीसँगै विवाहितहरू पनि आउँछन्। आफ्नो प्रेमको अमरता कामना गर्दै ताल्चा कसेर साँचो कसैले नदेख्ने ठाउँमा फालिदिन्छन्। हालसम्म कुनै जोडी साँचो खोल्न नआएको अवदेशलाई जानकारी छैन।
ताल्चा लगाउनेहरूले सामाजिक सञ्जालमा भिडिओ, फोटो हाल्नाले पनि यसको प्रचार भएको उनले बताए।
'नेपालमा कतै पनि यस्तो ठाउँ छैन। त्यसैले काठमाडौं बाहिरका मानिसको ध्यान पनि केन्द्रित भएको छ।'
यसरी यहाँ मान्छे ढुक्कले हिँड्ने वातावरण बन्यो। तर यो केही समयका लागि मात्र हुन्थ्यो। त्यसैले अवदेशकी श्रीमती अमृताले जुक्ति फुराइन्, कफी सप खोल्ने।
मन्दिर संरक्षण र मानिसको चहलपहल बढेसँगै सुरक्षित पनि हुने भएकाले कफी सप खोल्ने आइडिया आएको अमृता बताउँछिन्।
'हामीकहाँ अलि बेग्लै तरिकाले कफी पाक्छ। प्रेसरकुकरमा,' उनले भनिन्, 'कुकरमा सिठ्ठी लाग्दा सुरूसरूमा छिमेकीले मन्दिरमा भोज हो भनेर सोधे पनि। अचम्म मान्दै हेर्न आए। बिस्तारै थाहा हुँदै गएपछि सामान्य भयो।'
कफी सप नाफाका लागि नखोलिएकाले मूल्य कम राखिएको उनी बताउँछिन्। यहाँ कफीसँगै कोल्ड कफी, हट चकलेट, लस्सी, आइस हर्लिक्स, भिभा, बोर्नभिटा पनि पाइन्छ। यिनको मूल्य ५० देखि ८० रूपैयाँसम्म छ।
अवदेश भने बिहानदेखि बेलुकासम्म ड्युटीमै हुन्छन्। हाल उनको काम प्रधान कार्यालय नक्सालमा छ। कफी सप अमृताले सम्हाल्दै आएकी छन्।
बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कफी सप खुल्छ। कफी सप नहुँदा मूर्ति चोरी हुने डरले मन्दिर पूजा गर्ने बेला मात्र खोलिन्थ्यो। अहिले बिहानदेखि बेलुकासम्मै खुल्छ।
कुनै बेला डराउँदै गुडुडु कुद्न पर्ने सडकमा अचेल ढुक्कले महालक्ष्मीलाई ढोग्न सकिन्छ। मुस्काउँदै सेल्फी-भिडिओ खिच्न सकिन्छ। बसेर कफी पिउन सकिन्छ।