यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
उनी एक दिन दिउँसो बजार गए। मेकअपका सामान किनेर ल्याए। सुटुक्क आफ्नो कोठामा पसेर सामान लुकाए।
रात पर्यो। सुत्ने बेला भयो। झ्याल ढोका सबै बन्द गरे। मन डराएजस्तो भयो। हात कामेजस्तो भयो। सुस्तरी मेकअपका सामानको झोला खेले। अगाडि ऐना राखेर एकपछि अर्को गर्दै आफूलाई केटी मान्छेझैं सिँगार्न थाले।
ओठमा लिपिस्टिक लगाए, गालामा लाली र आँखामा गाजल। कानमा झुम्का उने। कपाल पनि छोरीको झैं चिटिक्क बान्की दिएर बाँधे। अनि धेरै बेर आफूलाई ऐनामा हेरिरहे। आफूलाई ठ्याक्कै केटी रूपमा देखेर उनी मन्द मुस्कुराए।
आफैंलाई देखेर गौरव मगर (उनले सार्वजनिक गर्न चाहेको नाम) का आँखाका डिलमा हर्षाश्रु रसाए।
गौरव सानै थिए। उनकी दिदी अलिक ठूली थिइन्। दिदी आफूसँगै भाइलाई पनि मेकअपले सजाउँथिन्। गौरवले चौध वर्षको उमेरमा आफू समलैंगिक पुरुष हुँ भन्ने थाहा पाए।
'चौध वर्षको उमेरमा मलाई शारीरिक रूपमा आकर्षण हुन थाल्यो,' उनले भने, 'स्कुलमा पढ्दा एक जना केटा साथी मन पराएको थिएँ तर कुरा मनमै दबाएर राखेँ।'
उनलाई चाहिँ केटीजस्तै सिँगार गर्न मन लागे पनि शारीरिक बनावट भने केटा नै मन पर्छ। केटातिरै आकर्षित हुन्छन्। सानै उमेरमा आमाबाबुको निधन भएपछि गौरव ठूली दिदीको सहारामा हुर्किए।
उमेर बढ्दै जाँदा गौरवमा परिवारको जिम्मेवारी बोध पनि बढ्दै गयो। सानो भाइको हेरचाह गर्नु र ठूली दिदीको बिहे गर्नु आफ्नो जिम्मेवारी सम्झन्थे। पारिवारिक जिम्मेवारीका कारण उनी बाह्र कक्षाको परीक्षा सकेर जागिर गर्न चाहन्थे। जागिरको खोजीमा उनी हरेक पत्रिकाको विज्ञापन पल्टाउँथे। आफ्नो पहिचान पनि खुलाउन चाहन्थे।
एक दिन उनले एउटा पत्रिकामा काठमाडौंमा मासिक १५ हजार रूपैयाँ पाउने गरी रोजगारी अवसरको विज्ञापन देखे। उनको घर हेटौंडा थियो। काठमाडौंसम्म आउन खर्च पनि थिएन। दिदीले जुटाइदिइन्।
काठमाडौंमा आफन्तको घर भएकाले उनलाई केही दिन सजिलै भयो तर विज्ञापनले झुक्यायो मात्रै।
'म काठमाडौं आएँ तर विज्ञापनमा भनिएजस्तो जागिर पाएइन,' उनले भने, 'केही महिना जागिरकै खोजीमा भौंतारिएँ। आफ्नो पहिचान खुलाउन पनि सकिनँ।'
उनले एउटा कपडा पसलमा काम सुरू गरे। सधैं आफन्तको घरमा बस्ने कुरा भएन। भाडाको कोठामा सरे। आफ्नो कोठामा पहिलाजस्तै महिला सिँगार गर्न थाले।
गौरव दिनभरि काम गरेर बेलुका कोठामा फर्किन्थे। एक दिन कोठा फर्किने क्रममा बाटोमा आफूजस्तै केही व्यक्तिसँग भेट भयो। उनीहरूसँग संगत बढ्यो। गौरव खुसी भए।
उनीहरूले गौरवलाई नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को सम्पर्कमा पुर्याए। नीलहिरा समाज यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितका लागि काम गर्ने संस्था हो भन्ने उनले थाहा पाए।
नीलहीरा समाजले उनलाई काम खोजिदियो। कपडा पसलको काम छाडेर उनी संस्थामै आबद्ध भए। संस्थाको सम्पर्कमा पुगेर पनि गौरवले आफ्नो लैंगिक तथा यौनिक पहिचान सार्वजनिक गर्न सकेनन्।
उनका सीमित साथी र संस्थामा आबद्ध व्यक्तिलाई मात्र उनको पहिचान थाहा थियो।
'आफू यो समुदायको हुँ भन्ने थाहा भएर पनि खुल्न सकिनँ। सार्वजनिक रूपमा खुल्दा जागिरबाट बञ्चित हुन सक्थेँ,' उनले भने, 'जागिर नभए परिवारलाई सहयोग गर्न सक्ने थिइनँ।'
अझै पनि परिवार र स्थानीय समाजमा गौरवले आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाएका छैनन्। परिवारमा के भन्लान्, आफन्त र छरछिमेकीले के ठान्लान् भन्ने डर छ।
पहिचान सार्वजनिक नभएकै कारण गौरव राति एक्लै वा सीमित साथीका माझ मात्रै सिँगार गर्छन्। उनी भन्छन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ।'
उनी अझै पनि राति महिला सिँगार गर्छन्।
संस्थाले चितवनमा उनलाई कामका लागि पठायो। हाल उनी चितवनमै संस्थाको शाखा 'मानव सचेत समाज' मा जोडिएका छन्। चितवनमा पनि उनी खुल्न सकेका छैनन्। संस्थाका सदस्यहरूलाई मात्रै थाहा छ। घरबाट गौरवलाई दिदीको फोन आउँछ। दिदी बिहेको कुरा गर्छिन्। गौरव २५ वर्षका भए। उनलाई परिवारबाट बिहे गर्न दबाब छ।
भन्छन्, 'मलाई बिहे गर्ने मन छैन। बिहेको कुरा सुरू भएपछि म अन्तै मोडिदिन्छु।'
गौरवले आफ्नो लैंगिक तथा यौनिक पहिचान सार्वजनिक नगरे पनि उनलाई सधैं देख्ने, चिनारू र छरछिमेकीले शंकाको नजरले हेर्छन्।
उनी भन्छन्, 'मेरा साथीहरू पनि मजस्तै छन्। उनीहरूसँगको संगतका कारणले पनि अरूले शंका गरेका हुन सक्छन्।'
गौरव चितवनमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकऔअधिकारका लागि सचेतना कार्यक्रममा सहभागी छन्। उनी आफ्नो वास्तविक पहिचानमा सार्वजनिक हुन चाहन्छन्। त्यो दिन चाँडै आउने विश्वास उनलाई छ।
यी पनि पढ्नुहोस्ः 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्