सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतो र राजकुमार महतोको ज्यान गएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहका अनुसार गम्भीर घाइते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घटनास्थलमै मृत्यु भएको हो।
चन्द्रागिरी नगरपालिका-२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, पर्सा घर भई लुबु चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका-८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका-९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका-५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन्।
उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए।
अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले सुरूआती अनुसन्धान गरिरहेको र सुरूआती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताए।
‘ललितपुरको पाटन औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट विष्फोट भएको हो। १०ः०५ देखि १०ः १० बजेको बीचमा रहेको छ। अक्सिजन रिफिलको काममा विष्फोट भएको देखिन्छ’, उनले भने, ‘सिलिण्डर भर्ने क्रममा रहेका ब्रिज महतोको विष्फोटबाट छतविक्षत भएर मृत्यु भएको छ। अर्का एक जनाको भने उपचारको क्रममा मृत्यु भएको हो।’
विष्फोटका कारण घटना घटे पनि आगलागी नभएकाले थप क्षति हुन पाएन।
‘क्षति अहिले नै यकिन गर्न सकिँदैन। के कति भयो अनुसन्धानपछि थाहा हुन्छ’, उनले भने, ‘छिमेकको घरहरूमा पनि सिसा फुटेको छ।’
त्यस्तै, दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताए।
मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी विष्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए।
उनले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरूलाई बोलाएर नै अनुसन्धान गर्ने बताए।
‘यो जुन घटना भयो यो दुखद, दुर्भाग्यपूर्ण छ। सबैलाई दुःख लागेको छ। यो टेक्नीकल्ली अवस्थाका कारण भएको भन्ने कुरा छ। अक्सिजन रिफिलिङ गर्दा विष्फोट हुनु भनेको झनै खोजको विषय हो’,मन्त्री बडूले भने, ‘यसलाई हामी अनुसन्धान गर्नेछौं। घाइतेहरूको उपचारमा हामी लाग्छौं। सरकारले निःशुल्क उपचार गराउनेछ। सरकारले गर्नुपर्ने सहयोग गर्नेछ। मृतकले पाउने क्षतिपूर्ति दिनेछौं।’
हेर्नुहोस् तस्बिरहरू