सहरको कथा– विराटनगर
विराटनगर कथा शृंखलाको दोस्रो अंक त्यहीँबाट सुरू गरौं, जहाँ मैले अघिल्लो अंक अन्त्य गरेको थिएँ — राजा विराट ऐतिहासिक पात्र हुन् कि होइनन्?
यो प्रश्नको जवाफ भेडियारीको जमिनमुनि दफन छ।
विराटनगरको ट्राफिक चोकबाट १० किलोमिटर दक्षिणमा पर्ने भेडियारी बस्तीमा एउटा फराक चउर र चउरको बीचमा एउटा अग्लो ढिस्को छ भन्ने मैले अघिल्लो अंकमै उल्लेख गरिसकेँ। स्थानीयहरू यो ढिस्कोमुनि महाभारतकालीन विराट राजाको दरबार छ र चउरमुनि तत्कालीन राज्यका अवशेषहरू छन् भनी विश्वास गर्छन्। तिनै विराट राजाका नाउँमा विराटनगर सहर नामाकरण भएको कथा पनि सुनाउँछन्।
भेडियारीमा भनिने–सुनिने यी कथाको ऐतिहासिकता अध्ययन गर्न पुरातत्वविद तारानन्द मिश्रले आजभन्दा ५० वर्षअघि नै यहाँका विभिन्न ठाउँ उत्खनन गरेका थिए। अर्का पुरातत्वविद भाष्कर ज्ञवाली र उनको टिम अहिले पनि उत्खनन गर्दै छन्।
दुवै उत्खननमा फेला परेका माटो, ढुंगा र काठका सामग्री तथा प्राचीन सिक्का र मूर्तिहरूबाट एउटा कुरा प्रमाणित भएको छ – भेडियारी क्षेत्रमा आजभन्दा दुई हजारदेखि बाइस सय वर्षअगाडि नै मानव बसोबास थियो। बसोबासको ढाँचा हेर्दा त्यो सानोतिनो गाउँ होइन, त्यति बेलाको व्यवस्थित सहरकै रूपमा विकसित थियो।
यी दुवै अनुसन्धानबाट यहाँ कुनै बेला विराट राजाको शासन थियो र उनी महाभारतकालीन राजा हुन् भन्ने चाहिँ पुष्टि हुँदैन।
पहिलो कुरा त, महाभारत आफैंमा इतिहास हो कि कल्पित ग्रन्थ भन्ने यकिन छैन। त्यसैले विराट राजा पनि ऐतिहासिक पात्र हुन् भनेर प्रमाणित गर्ने आधार पाइँदैन।
अर्को कुरा, महाभारत इतिहास नै भए पनि त्यो कम्तीमा तीन हजारदेखि पाँच हजार वर्षभन्दा पुरानो घटना हो। त्यसैले विराटनगरका विराट राजालाई महाभारतकालीन मान्न सकिँदैन। किनभने अहिलेसम्मको अनुसन्धानबाट भेडियारीको इतिहास त्यति पुरानो समयसम्म तन्किएको छैन।
त्यसो भए विराटनगरको स्मृतिमा बाँचेका यी विराट राजा को हुन् त?
किम्बदन्ती त्यसै बन्दैन। इतिहासको कुनै घटनाक्रममा फूलबट्टा भर्दै जाँदा त्यसले किम्बदन्तीको रूप लिन्छ। विराट राजाको किम्बदन्तीका पछाडि पनि दुईवटा अवस्था हुनसक्ने हामी आकलन गर्न सक्छौं।
पहिलो, आजभन्दा बाइस सय वर्षअगाडि यस क्षेत्रमा जुन राजाले शासन गर्थे, तिनको नाम पनि विराट नै हुनसक्छ। महाभारतकालीन विराट राजासँग उनको गोरू बेचेको साइनोधरि नहोला तर समयक्रममा स्मृति धमिलिँदै जाँदा कुनै कालखण्डका मानिसले यहाँ शासन गर्ने विराट राजा महाभारतकालीन नै हुन् भनेर भनेका हुन सक्छन्। यही भनाइ त्यसपछिका पुस्तामा सर्दै आएको हुनसक्छ।
दोस्रो, आजभन्दा बाइस सय वर्षअगाडि यहाँ कुनै अर्कै नामका राजाको शासन थियो होला। उनी शूरवीर हुँदा हुन्। पराक्रमी हुँदा हुन्। जनतामाझ निकै लोकप्रिय हुँदा हुन्। तिनै राजाको व्यक्तित्वलाई दैवीकरण गर्ने क्रममा महाभारतका विराट राजासँग दाँजेर अलौकिक पात्र बनाइएको हो कि! के बेर!
ती राजा को थिए भनेर थाहा पाउन चाहिँ इतिहासको पत्र उधिन्नै पर्नेछ। भेडियारीको जमिनमुनि दफन अवशेषहरू खोतल्नै पर्नेछ।
यसरी इतिहासकार र पुरातत्वविदहरूले विराट राजा थिए कि थिएनन् वा भेडियारीको ढिस्कोमुनि उनको दरबार दफन छ कि छैन भनेर वैज्ञानिक रूपले प्रमाणित नगरे पनि विराटनगरवासीलाई त्योसँग कुनै सरोकार छैन। उनीहरू पुरातात्विक रूपले प्रमाणित यहाँको प्राचीन बसोबासबारे उतिसाह्रो रूचि देखाउँदैनन् तर राजा विराट र उनको दरबारप्रति स्थानीयको अगाध मोह र अगाध विश्वास छ। यो मोह र विश्वासको कारण मान्छेको स्वाभाविक बानी हुनसक्छ जसले ऊ आफ्नो जन्मस्थल वा आफू बस्ने सहरप्रति गर्व गर्न अनेक बहाना खोजिरहन्छ।
स्थानीयको यही विश्वासले नै होला, प्रदेश सरकारदेखि विराटनगर महानगरपालिकाको विकास योजनामा समेत ‘विराट राजाको दरबार जोगाउने’ योजनाले महत्व पाउँछ। दरबार संरक्षणको कुरा हरेक पाँच वर्षमा चुनावी मुद्दा बन्छ। तर यति नै महत्व दुई हजार वर्ष पुरानो प्राचीन बसोबास, त्यतिखेरका सम्पदा स्थलहरू र तिनको संरक्षणले पाइरहेको छैन।
इतिहासकारहरूले प्रमाणित गरेको तथ्यभन्दा पर जनसाधारणको मौखिक कथामा पनि इतिहासको युग बाँचिरहन्छ। जसरी विराटनगरमा राजा विराट र उनको युग आजसम्म ज्यूँदै छ, त्यो युग अझै लामो समय जनमनमा ज्यूँदै रहिरहनेछ।
यो स्टोरीमा हामी विराट राजासँग जोडिएका तिनै कथा–किम्बदन्तीबारे चर्चा गर्दैछौं।
महाभारतकालमा युद्ध लड्नु र जुवा खेल्नुलाई क्षत्रीय धर्म मानिन्थ्यो। कसैले युद्धको हाँक दियो वा जुवाको खालमा बस्न लल्कार्यो भने त्यसलाई अस्वीकार गरेर हिँड्ने छुट क्षत्रीयहरूलाई हुँदैनथ्यो। त्यस्तो हाँक पन्छाउनेलाई कमजोर मानिन्थ्यो, कायर मानिन्थ्यो।
महाभारत कथाअनुसार पाण्डव पक्षका सबभन्दा जेठा दाजु युधिष्ठिर आफैंमा जुवाप्रेमी थिए। उनको जुवामोह महाभारतमा बारम्बार प्रकट भएको छ। हस्तिनापुर राजसभामा युवराज दुर्योधनसहित कौरव पक्षसँग जुवा खेल्दा युधिष्ठिरले आफ्नो सर्वस्व हार्नुपर्यो। कौरवहरू सधैं पाण्डवहरूलाई राजपाठबाट बेदखल गर्न मौका ताकिरहन्थे। यही क्रममा उनीहरूले जुवा हारेका पाण्डवहरूलाई बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासमा पठाए।
गुप्तवास बसेका बेला पाण्डवहरूको पहिचान भयो वा उनीहरू लुकेको ठाउँ पत्ता लाग्यो भने त्यही क्षणबाट पुनः बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवास बस्नुपर्ने सर्त थियो।
वचनका पक्का युधिष्ठिरले आफ्ना चार भाइ भीम, अर्जुन, नकुल, सहदेव र पत्नी द्रौपदीसहित बाह्र वर्षको वनवास त पूरा गरे तर एक वर्षको गुप्तवास कहाँ बस्ने होला भन्ने अन्यौल थियो। उनीहरू यस्तो ठाउँमा गएर बस्न चाहन्थे जहाँ कौरवहरूको छायाँ पनि नपुगोस्।
वर्षदिनसम्म कौरवहरूबाट जोगिएर बस्ने ठाउँको खोजीमा उनीहरू विराट राजाको ‘मत्स्य देश’ पुगे। वरिपरि घना जंगलले ढाकिएको र हस्तिनापुरबाट निकै टाढाको यो राज्यमा कौरव र उनीहरूका गुप्तचरको नजर पर्दैन भन्ने निर्क्यौल गर्दै पाण्डवहरूले भेष बदलेर त्यहीँ आफ्नो गुप्तवास सुरू गरे।
यस क्रममा युधिष्ठिरले ‘कंक’ नाम धारण गरेका थिए। कंकका रूपमा उनी राजा विराटसँग जुवा खेल्ने र राज्य सञ्चालनमा सरसल्लाह दिने काम गर्थे। गदाधारी भीमको छद्मनाम बल्लभ थियो। उनी विराट राजाको सेनालाई कुस्ती सिकाउँथे र भोजन बनाउने काममा पनि खटिन्थे। गाण्डिवधारी अर्जुन वृहन्नलाका रूपमा राजा विराटकी छोरी उत्तरालाई नृत्यकला सिकाउँथे।
त्यस्तै, नकुल ग्रन्थिकका रूपमा दरबारका घोडाहरूको रेखदेख गर्थे भने अरिष्टनेमीको रूप धारण गरेका सहदेव दरबारका गाईगोठको जिम्मेवारी सम्हाल्थे।
पाण्डवपत्नी द्रौपदी सैरन्द्री बनेकी थिइन्। उनी महारानी सुदेक्षणाको शृंगारपटार पनि गर्थिन्।
यसरी पाण्डवहरूले आफ्नो एकवर्षे गुप्तवास काट्न रोजेको विराट राज्य नै अहिलेको विराटनगर हो र भेडियारी त्यसको राजधानी हो भन्ने यहाँका स्थानीयको जनविश्वास छ।
यो विश्वास यति गहिरो छ, उनीहरू इतिहासको प्रमाणित तथ्यलाई बरू त्यति महत्व दिँदैनन्, जति आफ्नो विश्वासलाई दिन्छन्। त्यसैले महाभारत कथालाई आफूसँग जोड्न भेडियारीमा अनेकौं किम्बदन्ती प्रचलित छन्। ती किम्बदन्तीले विराट राजाको विराट स्वरूप निर्माण गरेको छ।
विराट राजाको दरबार संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले सुनाएको कथाअनुसार त्यो बेला मत्स्य देश उत्तरमा धरानको विजयपुरदेखि दक्षिणमा गंगा नदीको तटसम्म फैलिएको थियो। पाण्डवहरू भेष बदलेर विराट राजाको दरबारमा बस्दा उनीहरूले प्रयोग गरेका विभिन्न पोखरी, इनार र पूजास्थलका अवशेष अहिले पनि भेडियारी क्षेत्रमा बाँकी रहेको यादव बताउँछन्।
पुरातत्व विभागले उत्खनन गरिरहेको ढिस्कोलाई राजा विराटको दरबार क्षेत्र भनिएजस्तै उत्खननस्थलबाट करिब चार सय मिटर उत्तरपश्चिममा रहेको ग्राम देउताको थानलाई विराट राजा र पाण्डवहरूको पूजास्थल मानिन्छ। त्यहाँबाट पनि अझै उत्तरतिर नृत्यशाला रहेको विश्वास गरिन्छ। अर्जुनले राजकुमारी उत्तरालाई नृत्यकला सिकाउने ठाउँ यही हो भन्ने किम्बदन्ती छ।
कमलकिशोर यादवले मलाई भेडियारी क्षेत्रको विस्तृत नक्सा बनाइदिएका थिए जसमा उनले ‘महाभारतकालीन’ पोखरी, इनार र मन्दिर कुन कुन ठाउँमा छन् भनेर चिनो लगाइदिए। म त्यही नक्साका आधारमा पोखरी, इनार र मन्दिर खोज्न निस्केँ। यसको निम्ति मलाई भेडियारी क्षेत्र बुझेका स्थानीय व्यक्तिको खाँचो थियो जसले मलाई ती स्थलहरू कहाँ कहाँ छन् देखाइदिन सक्थे। मैले केही परिचित व्यक्तिहरूसँग सहयोग मागेँ। एक स्थानीय किशोर मेरो लोकल गाइड बन्न तयार भए। उनको एउटा सर्त थियो, ‘तपाईंले मेरो नाम चाहिँ लेख्न पाउनुहुन्न। मेरो फोटो पनि कतै राख्न पाउनुहुन्न।’
‘किन?’ मैले सोधेँ।
‘भो, लाज लाग्छ,’ उनले छोटो उत्तर दिए।
म सर्त मान्न राजी भएँ।
त्यसपछि सुरू भयो हाम्रो भेडियारी सम्पदा यात्रा। तपाईंहरू पनि यो यात्रामा म सँगसँगै आउनुहोस् है!
भेडियारी क्षेत्रमा करिब एक दर्जन साना–ठूला जलाशय छन्। तीमध्ये धेरै त अहिले संरक्षण अभावमा झाडीले झ्याम्म छोपिएका छन्। कतिपय पोखरीमा एक थोपा पानी छैन भने कतिपय पोखरी छिपछिपे दलदलमा परिणत भएका छन्। आफूलाई विराट राजाको सहर भनेर गर्व गर्ने विराटनगर महानगर र प्रदेश सरकारले दुई हजार वर्ष पुरानो कथा–किम्बदन्ती जोडिएका यी सम्पदा स्थलहरू संरक्षण गर्न एक सुका लगानी गरेको छैन। यहाँ बाहिरी सतहमा नदेखिएको विराट राजाको दरबार संरक्षण गर्ने कुरा चुनावी मुद्दा बन्छ तर भौतिक रूपले नै उपस्थित पोखरीहरूको संरक्षणमा स्थानीय र प्रदेश सरकारको ध्यान जाँदैन।
पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारले यी सम्पदा संरक्षण गर्न केही गरेन, अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरूको आँखा खुल्छ कि!
विराटनगरको ऐतिहासिक अभिलेख राख्ने क्रममा यी साना–ठूला जलाशयहरू यस कारण पनि महत्वपूर्ण छन्, किनभने यी जलाशयका आ–आफ्नै कथा यहाँका जनताको स्मरणमा बाँचेका छन्। यी सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो। आउने पुस्ताले सुन्ने र सुनाउने कथाहरू मासिनु हो।
भेडियारीको यो सम्पदा यात्रामा म ती कथा तपाईंहरूलाई बीच्चबीच्चमा सुनाउँदै गरूँला है। बोर हुन दिन्नँ, मेरो ग्यारेन्टी!
यात्राको सुरूआतमै एउटा रमाइलो घटना भयो।
मेरो हातमा कमलकिशोर यादवले कोरिदिएको नक्सा थियो। उनले उत्खननस्थल नजिकै ‘धरवा पोखरी’ छ भनी चिनो लगाइदिएका थिए। तर कति टाढा पर्छ लेखेका थिएनन्।
मैले बाइक स्टार्ट गरेँ। बाटो देखाउन आएका स्थानीय गाइडले भन्दै थिए, ‘बाइकमा जानुपर्दैन, तीँ नजिकै हो।’
मैले जान्ने पल्टेर ‘जाऊँ जाउँ बाइकमै जाऊँ’ भन्दै उनलाई पछाडि राखेर एक्सिलेटर बटारेँ।
बटारेको एक्सिलेटर छाडेकै थिइनँ, पछाडि बसेका मेरा लोकल गाइडले ‘रोक्नुस् रोक्नुस्’ भनिहाले।
‘के भो?’ मैले ब्रेक मार्दा मार्दै सोधेँ।
उनले देब्रेतिर हातले इसारा गर्दै भने, ‘उ यही हो धरवा पोखरी।’
उत्खननस्थलबाट जम्मा ४० मिटर दक्षिणमा पर्दो रहेछ यो पोखरी। यसो लम्कियो भने दस पाइला पनि नलाग्ने। दस पाइलाका लागि बलजफ्ती बाइक कुदाएकोमा आफैंलाई लाज लाग्यो।
म बाइकबाट ओर्लेर उनले भनेको ठाउँतिर अघि बढेँ। दायाँबायाँ हेरेँ तर पोखरीजस्तो संरचना कहीँ कतै देखिनँ। एउटा फराकिलो खाल्डोमा हरियो झाडी झ्यांगिएको थियो। त्यो झाडीको बीचबीचमा छिपछिपे पानी हुँदो हो तर बाहिरबाट हेर्दा त्यहाँ पानी छ कि छैन यसै भन्न सकिन्थेन।
मैले अचम्म मान्दै सोधेँ, ‘साँच्चै यही हो?’
उनले भने, ‘खेल्दै हुर्केको ठाउँ हो, झुक्किनु के छ र!’
साढे १८ कठ्ठा क्षेत्रफलमा फैलिएको धरवा पोखरीलाई विराट राजाको धरोहर मानिन्छ। यसलाई स्थानीयहरू धरोहर पोखरी पनि भन्छन्। विराट राजाको धरोहर यस्तरी मासेको देखेर मलाई उदेक लाग्यो।
यो पोखरीसँग जोडिएको किम्बदन्ती मलाई कमलकिशोर यादवले सुनाएका थिए। विराट राज्यका बासिन्दालाई जब घरमा पाहुनाहरू आउँदा अतिरिक्त भाँडाबर्तन चाहिन्थ्यो, उनीहरू यही पोखरीनजिक आउँथे र आफूलाई चाहिएका भाँडाबर्तन दरबारसँग माग गर्थे। पाहुना विदा भएपछि भाँडाबर्तन दरबारलाई फिर्ता गर्नुपर्ने नियम थियो।
राजदरबारमा प्रयोग हुने भाँडाबर्तन बहुमूल्य हुन्थे। त्यस्ता बहुमूल्य सामान आफ्नो आवश्यकताअनुसार लैजाँदै, चलाउँदै गर्न थालेपछि मान्छेहरू क्रमशः लोभिँदै गए। अरू बेला काम सकिनेबित्तिकै ती सामान फिर्ता दिने सर्वसाधारणले बिस्तारै फिर्ता गर्न छाड्दै गए। ज–जसले लगे, उनीहरूले दरबारका भाँडाबर्तन आफूसँगै राख्न थाले।
यसरी दरबारका भाँडाबर्तन जनताका घरघरमा थुप्रिन थालेपछि राजपरिवारलाई नै आफ्नो भान्सा चलाउन समस्या हुँदै गयो। अन्ततः दरबारको धरोहर रित्तियो।
यो घटनापछि जनताले दरबारबाट भाँडाबर्तन पाउन छाडेको कथा कमलकिशोर मात्र होइन, भेडियारीका अन्य स्थानीय पनि स्वादले सुनाउँछन्।
‘अब त कसैले भाँडाबर्तन पैँचो लिनुपर्दैन क्यारे!’ मैले मेरा लोकल गाइडलाई भनेँ, ‘पोखरी किन सग्लो राख्नुपर्यो, होइन?’
उनी फिस्स हाँसे।
सायद उनको हाँसो पाँच वर्षदेखि पोखरी संरक्षण गर्न माखो नमारेका स्थानीय जनप्रतिनिधिहरूतर्फ लक्षित थियो!
मैले फेरि आफ्नो नक्सा पल्टाएँ। धरवा पोखरीबाट दक्षिण-पश्चिमतर्फ अगाडि बढेर दाहिने मोडिएपछि एउटा प्राचीन इनार आउँछ भनेर कमलकिशोरले चिनो लगाइदिएका रहेछन्। त्यसलाई ‘घेघा इनार’ भनिन्छ।
हामी घेघा इनारतिर बढ्यौं।
यसपालि चाहिँ मोटरसाइकलमै जाऊँ भनेर मेरा गाइडले सुझाए।
‘अलि परै छ दाइ, टाइम लाग्छ,’ उनले भने, ‘फेरि मोटरसाइकल लिन किन फर्केर आइरहनू।’
नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा पर्ने यो इनारलाई लिएर पनि एउटा किम्बदन्ती प्रचलित छ।
विराट राजाको पालामा गलगाँड आउनु राज्यको निम्ति ठूलो स्वास्थ्य समस्या बनेको थियो। गलगाँड निको पार्ने उपचार विधि उनीहरूले थाहा पाइसकेका थिएनन्।
एकचोटि कुनै अर्को राज्यबाट घेघा नामका एक सिद्धऋषि विराट राज्य आइपुगेछन्। ऋषिको स्वागत–सत्कारमा राजा विराटले कुनै कसर छाडेनन्। उनी जति दिन बस्न चाहे, त्यति दिनसम्मै उच्च मानमनितोका साथ दरबारभित्रै विशेष अतिथिकक्षमा राख्ने व्यवस्था मिलाइयो।
अतिथिसत्कारबाट प्रसन्न ऋषिले विदावारी हुने बेला राजा विराटसँग भने, ‘म तिम्रो सत्कारबाट प्रसन्न भएँ राजन, यसको बदलामा तिमी मबाट के चाहन्छौ?’
सिद्धऋषिले यस्तो भन्नेबित्तिकै राजा विराटले हात जोडेर भने, ‘ईश्वरको कृपाले शक्ति र समृद्धिमा हामी कोहीभन्दा कम छैनौं। तर हाम्रो एउटै समस्या छ– हामीकहाँ बर्सेनि थुप्रै जनता गलगाँडको समस्याले पीडित हुन्छन्। यसले सिंगो राज्यको स्वास्थ्यमा बाधा पुगेको छ। हजुर हामीबाट प्रसन्न हुनुहुन्छ भने यो रोग निदानको उपाय बताइदिनुपर्यो।’
राजाको यस्तो बिन्ती सुनेपछि घेघा ऋषिले लगभग पाँच मिनेट आँखा चिम्ले। त्यसपछि हावामा हात लहराउँदै भने, ‘तिम्रो राज्यमा एउटा अत्यन्तै महत्वपूर्ण इनार छ। त्यो इनारमा जुन पानी रसाउँछ, त्यो सोझै गंगा नदीबाट पृथ्वीको गर्भगृह हुँदै बग्दै आएको पवित्र पानी हो। जो व्यक्ति त्यो इनारको पानीले नुहाउला, उसको शरीरबाट गलगाँड निको हुनेछ। उसलाई अरू कुनै रोगव्याधिले पनि सताउने छैन।’
ऋषिले यति भनेपछि विराट राज्यमा ज–जसलाई गलगाँड थियो, उनीहरू त्यही इनारमा नुहाउन गए। नभन्दै सबैको गलगाँड निको भयो। उनीहरूको शरीरमा भएका अरू घाउखटिरा पनि बिलाए। उनीहरू पहिलेभन्दा स्वस्थ र फुर्तिला भए।
त्यसउप्रान्त उनै घेघा ऋषिको सम्झनामा यो इनारको नामै घेघा इनार रहन गयो। वरपर अरू राज्यबाट पनि मानिसहरू यहाँ नुहाउन आउन थाले। अहिले पनि यो इनारको पानीले नुहाए रोगव्याधि लाग्दैन भन्ने जनविश्वास छ। यही विश्वासका कारण यहाँ पूजापाठ गर्ने चलन पनि छ।
अचेल आयोडिनयुक्त नुन खाने चलनले गलगाँड रोग झन्डैझन्डै लोप भइसक्यो। सायद त्यसैले, इनार संरक्षण गर्न कसैको ध्यान पुगेको छैन। इनार झट्ट हेर्दा झाडीले भरिएको खाल्डोजस्तो देखिन्छ। मान्छेहरू त्यही खाल्डोमा आफ्नो पुर्खाले साँचेको स्मृति सम्झेर पूजा गर्छन् र सन्तोक मान्छन्।
के यो इनार संरक्षण गर्न विराटनगरमा फेरि गलगाँडको महामारी नै आउनुपर्ने हो र!
सम्पदा विनाशको नमीठो अनुभव लिँदै मैले बाइक स्टार्ट गरेँ। हामी फेरि अघि आएकै बाटो फर्कियौं र धरवा पोखरी नाघेर पूर्वतिर बढ्यौं।
भेडियारी उत्खननस्थलबाट करिब एक किलोमिटर पूर्व एउटा अर्को पोखरी छ जसलाई ‘किचकवध पोखरी’ भनिन्छ। गुप्तवास बस्ने क्रममा भीमले किचकको वध गरेर उनको शव यही पोखरीमा अन्त्येष्टि गरेको भनाइ छ। किचकको शव अन्त्येष्टि गरेकैले यो पोखरीको नाउँ किचकवध रहन गएको स्थानीय विश्वास गर्छन्।
तीन बिघा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो पोखरी कुनै जमानामा लबालब पानी भरिँदा साह्रै सुन्दर देखिन्थ्यो। अहिले त यसको सुन्दरता पनि स्थानीयको स्मरणमा मात्र बाँकी छ। घाँसैघासले टम्म ढाकिएको किचकवध पोखरीमा हिजोआज नाम मात्रको छिपछिपे पानी देखिन्छ।
‘के भीमले यही पोखरीमा किचकवध गरे होलान्?’
मैले नाक खुम्च्याएको देखेर मेरा गाइडले हाँसो थाम्न सकेनन्, भने, ‘अहिले भइदिएका भए किचकको शव अन्त्येष्टि गर्न पनि मिल्दैन रहेछ, हगि दाइ?’
खुसीको कुरा चाहिँ, यसअघि हेरेको धरवा पोखरी र घेघा इनारभन्दा किचकवध पोखरी मैले ठिकठाकै पाएँ। कम्तिमा यहाँ छिपछिपे भए पनि ठाउँ–ठाउँमा पानी देखिन्छ। पानीको सतहमा घामको किरण टिलिक्क टल्कन्छ। स्थानीय सरकारले अलिकति ध्यान दिने हो भने यसलाई पुरानै स्वरूपमा ब्युँताउन कुनै गाह्रो पर्ने छैन।
पोखरीसँग जोडिएको महाभारतको कथा ज्यूँदो राख्न पनि संरक्षण जरूरी भएको स्थानीय बताउँछन्।
महाभारत कथाअनुसार किचक विराट राजाका सालो थिए। एकचोटि उनी आफ्नी दिदी महारानी सुदेक्षणालाई भेट्न आएका बेला उनको नजर महारानीको शृंगारपटार गर्ने सैरन्द्रीमाथि पर्छ जो वास्तवमा पाण्डवपत्नी द्रौपदी थिइन्। सैरन्द्रीको सौन्दर्यबाट मोहित भएर किचक उनलाई दिनरात पछ्याउन थाल्छन्। उनले सैरन्द्रीसँग बिहेको प्रस्ताव राख्छन्। सैरन्द्री प्रस्ताव इन्कार गर्छिन्।
कामवासनाले वशीभूत किचक जसरी भए पनि सैरन्द्रीको शरीर भोग्न लालायित रहन्छन्। सैरन्द्रीले गरेको इन्कारलाई किचक आफ्नो अपमान ठान्छन् र लगातार उनलाई पछ्याउने र दुःख दिने क्रम जारी राख्छन्।
किचकको यस्तो व्यवहारबाट दिक्क बनेकी द्रौपदीले सारा घटना भीमलाई सुनाउँछिन्।
भीम रिसले चूर हुन्छन्।
किचकलाई सजाय दिन सैरन्द्री बनेकी द्रौपदी र भीमले एउटा योजना बनाउँछन्। योजनाअनुसार एक रात द्रौपदीले किचकलाई आफूकहाँ बोलाउँछिन्। किचक मनभरि लड्डु फुटाउँदै द्रौपदीको कक्षमा आउँछन्। जसै उनी कक्षमा प्रवेश गर्छन्, उनको सामना भीमसँग हुन्छ जो पहिल्यैदेखि किचकलाई कुरेर बसेका हुन्छन्।
त्यसपछि भीम र किचकबीच घमासान लडाइँ हुन्छ। लडाइँमा भीम किचकको वध गर्छन् र पोखरीमा लगेर उनको शव अन्त्येष्टि गर्छन्।
यस्तै कथा बोकेको अर्को पोखरी झापामा पनि छ जो त्यहाँको एक मुख्य पर्यटन तथा धार्मिक स्थल हो।
किचकवधसँग जोडिएको अर्को एउटा कथा भेडियारीका बासिन्दा सुनाउँछन्। कथाअनुसार यहाँ कुनै समय बाबा हरिशरण सिंह नामका व्यक्ति थिए। उनले भेडियारी क्षेत्रमा मान्छेको निकै ठूलो दाँत फेला पारेर लगेका थिए। उनले त्यो दाँत कहाँ लगेर राखे भन्ने कसैलाई अत्तोपत्तो छैन। त्यो दाँत किचकको हुनसक्ने यहाँका स्थानीयको अनुमान छ।
भेडियारी क्षेत्रमा रहेको अर्को पोखरी ‘भन्सिया पोखरी’ हो। उत्खननस्थलबाट सात सय मिटर पूर्वमा रहेको यो पोखरी १९ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ।
यो पोखरी विराट राजाका पालामा भातभान्सा निम्ति प्रयोग हुने जनविश्वास छ। पाण्डवहरूले समेत गुप्तवास बस्दा आफ्नो भातभान्साको काम यही ठाउँमा गरेको भनाइ छ। त्यही भएर यसलाई ‘भन्सिया पोखरी’ भनिएको स्थानीय बताउँछन्।
भन्सिया पोखरीसँगै अर्को पोखरी छ जसको नाउँ ‘थरधुवा पोखरी’ हो। राजा विराटको भान्सामा प्रयोग हुने भाँडाबर्तन यही पोखरीको पानीले माझ्ने गरिन्थ्यो भन्ने किम्बदन्ती छ। पाण्डवहरूले पनि आफ्नो भातभान्सा सकेपछि यही पोखरीमा भाँडा माझ्ने गरेको कथा अहिले पनि स्थानीय सुनाउँछन्।
पोखरीको सूची यतिमै सकिँदैन।
दरबार दफन छ भनी विश्वास गरिने थुम्कोबाट करिब एक किलोमिटर पूर्वमा रहेको अर्को पोखरीलाई ‘गुहिया पोखरी’ भनिन्छ। मैले नाम सुन्नेबित्तिकै मुसुमुसु हाँस्दै मेरा लोकल गाइडलाई सोधेको थिएँ, ‘यो पोखरीको पानी चाहिँ शौच कर्मका लागि प्रयोग गरिन्थ्यो कि क्या हो?’
उनले मेरो अनुमानमा सही थापे।
मैले त्यसपछि आफूलाई भेडियारी क्षेत्रका पोखरीहरू देखाउँदै हिँडेका ती स्थानीय गाइडलाई भनेँ, ‘पोखरी सकियो कि अझै छ?’
‘अर्को पनि एउटा छ तर त्यो नेपालमा पर्दैन,’ उनले भने, ‘पहिले नेपालमै थियो रे, अहिले चाहिँ भारततिर पर्छ।’
भारतीय सीमामा पर्ने त्यो पोखरीलाई ‘चौरी पोखरी’ भनिन्छ। किम्बदन्तीअनुसार त्यहाँको पानी विराट राज्यको सहर निर्माणका लागि इँटा उत्पादन गर्न प्रयोग गरिन्थ्यो। त्यहाँ ‘राजाजी ग्राम’ भनिने तीर्थस्थल पनि छ जहाँ ५६ करोड देवीदेउताको आराधना गर्न सकिने विश्वास गरिन्छ। सबै देवीदेउताको पूजा गर्ने ठाउँ भएकाले राजाजी ग्राम भनिएको स्थानीय बताउँछन्।
यसबाहेक भोला पोखरी, डोबिया पोखरी लगायत सानातिना धेरै पोखरी भेडियारी क्षेत्रमा छन् जसलाई यहाँका सर्वसाधारणले कुनै न कुनै रूपमा विराट राजासँग जोडेकै हुन्छन्।
कमलकिशोरले मलाई एउटा अर्को कथा पनि सुनाएका थिए। एक वर्षको गुप्तवासका लागि विराट राज्यमा प्रवेश गर्नुअघि पाण्डवहरूले नगरको सीमामा रहेको त्रिभुवनेश्वरी देवीको पूजाअर्चना गरेका थिए। अहिले भेडियारीको सीमामा जुन बाघेश्वरीदेवीको मन्दिर छ, त्यो नै पाण्डवहरूले पूजा गरेको त्रिभुवनेश्वरी देवीको थान हो भन्ने भनाइ छ।
‘यहाँ टाढाटाढाबाट मान्छेहरू पूजा गर्न आउँछन् र सबैले यसलाई पाण्डवहरूले पूजा गरेको त्रिभुवनेश्वरी देवीकै मन्दिर भन्छन्,’ कमलकिशोरले भने।
यी जलाशय र मन्दिरबाहेक विराटनगरसँग जोडिएको सीमावर्ति भारतीय बजार जोगबनीको नाता पनि महाभारत कथासँग छ।
भेडियारीबाट पश्चिमोत्तर दिशामा रहेको जोगबनी त्यस बेला घना जंगल थियो जसलाई योगवन भनिन्थ्यो। पाण्डवका साहिँला भाइ अर्जुन धनुर्विद्या र युद्धकौशलमा पारंगत थिए। उनै अर्जुनले दिव्यास्त्र प्राप्त गर्न योगवनमा योगसाधना गरे। कठोर योगसाधनापछि उनले दिव्यास्त्र प्राप्त गरे जुन महाभारत लडाइँमा कौरवविरूद्ध प्रहार गरेको भनाइ छ।
यसरी अर्जुनले योगसाधना गरेर दिव्यास्त्र पाएकोे ठाउँ भएकाले यसलाई पहिले ‘योगवन’ भनियो। समयक्रममा ‘योगवनी’ हुँदै अहिलेको ‘जोगबनी’ मा परिणत भएको कमलकिशोर बताउँछन्।
जोगबनी सँगसँगै अर्को सीमावर्ति भारतीय बजार बथनाहलाई पनि राजा विराटसँग जोडिन्छ।
‘यो ठाउँ विराट राज्यका कृषकहरूले आफ्ना गाईवस्तु चराउने क्षेत्र थियो,’ कमलकिशोरले भने, ‘सधैं गाईवस्तुको बथान देखिने भएकाले यसलाई बथनाह भनिएको हो।’
यी त भए भेडियारीमा प्रचलित कथा–किम्बदन्ती जसले यो ठाउँलाई महाभारतको विराट राज्यका रूपमा चित्रण गर्छ। तर मैले सुरूमै भनिसकेँ, भेडियारीमा जीवन्त यी कथा–किम्बदन्ती र विराट राजासँगको नातालाई इतिहासकार र पुरातत्वविदहरूले अहिलेसम्म प्रमाणित गरेका छैनन्।
भेडियारीमा जारी पुरातात्विक अन्वेषणले आगामी दिनमा वास्तविक कथा उजागर गर्दै जाला। महाभारतका विराट राजा नभए पनि आजभन्दा दुई हजार वर्षअघि यो ठाउँमा शासन गर्ने कुनै अर्को राजा (जसको नाउँ विराट पनि हुनसक्छ) सँग यी ठाउँहरूको सम्बन्ध जोडिन्छ भनेर प्रमाणित गर्ने हो भने त्यो भेडियारी र सिंगो विराटनगरकै लागि महत्वपूर्ण ऐतिहासिक खोज साबित हुनेछ।
तर त्योभन्दा अगाडि विराट राजाको नाम गुँथेर कथा–किम्बदन्ती हालिएका यहाँका पोखरी, इनार र मन्दिरहरूको संरक्षण स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ। ऐतिहासिक खोजको महत्व त्यति बेला मात्र हुन्छ, जब त्यो खोजलाई जीवन्त राख्ने सम्पदा स्थलहरू बाँकी रहन्छन्।
सम्पदा स्थल भनेका इतिहासका जीवन्त भौतिक स्वरूप हुन्। जीवन्त स्वरूपलाई संरक्षण नगरी इतिहासमा गर्व गर्नुको तुक छैन। यस मानेमा अबको स्थानीय तह निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिहरूले विराटनगरलाई दुई हजार वर्ष अगाडिको इतिहाससँग सम्बन्ध जोड्ने यी सम्पदा स्थलहरूको संरक्षणमा काम गर्नुपर्छ। प्रत्येक पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउने र त्यो पोखरीसँग जोडिएको कथा लिपिबद्ध गरेर साइनबोर्ड टांग्ने हो भने यहाँका दर्जन पोखरीहरू पर्यटन क्षेत्र बन्न सक्छन् जसको लाभ स्थानीयले पाउने छन्। पोखरी संरक्षणमा भक्तपुर र ललितपुरको अनुभव विराटनगरको निम्ति पनि अनुकरणीय हुनसक्छ।
अब कथा–किम्बदन्तीको कुरा छाडौं। कम्तीमा दुई हजार वर्ष पुरानो यहाँको प्राचीन नगरको स्वरूप झल्काउने केही प्रमाणित इतिहास पनि हामीसँग छन्।
विराटनगर कथा शृंखलाको अर्को अंकमा हामी तिनै प्रमाणित इतिहासबारे चर्चा गर्नेछौं।
(विराटनगर कथा शृंखलाको तेस्रो अंक आगामी साता प्रकाशन हुनेछ।)
यो पनि हेर्नुहोस्: