गत शुक्रबार जावलाखेल सदर चिडियाखानामा नयाँ जनावर देखिए। पाँच वर्षअघि नै यहाँ आएका भए पनि तिनलाई सर्वसाधारणका लागि त्यो दिनदेखि मात्र औपचारिक प्रदर्शनीमा राखिएको हो।
ती जनावर हुन् चिम्पान्जी, चम्पा र चिम्पु नामका। फराकिलो फलामे घरमा हाहु गर्दै कराइरहेका यी भालेपोथी चिम्पान्जीलाई हामीले पनि त्यही दिन देख्यौं। चम्पा र चिम्पु राखिएको ठाउँलाई चिडियाखानाले घर भन्ने गरेको छ।
रंगीबिरंगी बेलुनले सजिएको घरभित्र बेलाबेला चम्पा चिम्पुलाई अगाँलो हाल्दै हातले सुम्सुम्याउँथी। परैबाट मान्छेहरू भिडिओ, तस्बिर खिच्न व्यस्त भए।
एक व्यक्ति भने चिम्पान्जीका टाउको मुसार्दै थिए। उनी रहेछन् रामकाजी पहरी। विगत पाँच वर्षदेखि रामकाजी उनीहरूको स्याहारमा खटिएका छन्। उनैले यिनलाई हुर्काएका हुन्। शुक्रबार अरू मान्छेले परबाट हेरिरहे पनि रामकाजी चम्पा-चिम्पुसँगै घरभित्रै थिए।
चिडियाखानाले चिम्पान्जीका निम्ति खरबुजाको केक बनाएको थियो। रामकाजीले त्यसमै भएको अंगुर झिकेर खुवाइदिए। बाहिरी मान्छेको भीडसँग डराएजस्ता देखिएका उनीहरू अलि सहज भए। उमेरले जेठी चम्पा एकछिनमै शान्त भई। चिम्पु भने डराइरहेजस्तो देखिन्थ्यो।
रामकाजीले उनीहरूलाई सजिलो बनाउन खोजे।
'यी मान्छेजस्ता नै हुन्छन्। सबै थाहा पाउँछन्,' पछि सेतोपाटीसँग कुराकानी गर्दै रामकाजीले भने।
रामकाजीको आड पाएपछि बिस्तारै चिम्पान्जीहरू घर छुन थाले। मान्छेको भीड नियाले। निकै बेरसम्म एकअर्काको हात समातेर, अँगालो हालेर बसे। यताउता हाँपदाँप गरे। कहिले खानेकुरा भएका ठाँउतिर, कहिले घरको ढोकानजिक।
आम मान्छेसँग यी चिम्पान्जीको पहिलो भेटघाटको अनुभव कस्तो रह्यो कुन्नि? मन नपरे पनि अब यो उनीहरूको दैनिकी हो।
यी चिम्पान्जी नेपालका होइनन्। उनीहरूको जन्म काठमाडौंबाट ८ हजार २ सय २६ किलोमिटर परको अफ्रिकी देश नाइजेरियामा भएको हो।
रामकाजीलाई राम्रो सम्झना छ, यहाँ आउँदा यी साह्रै साना थिए। चम्पा छ महिनाकी, चिम्पु ३ महिनाको। हातका औंलामा राम्रोसँग रौं पलाएका थिएनन्। तालु रित्तो थियो। राता औंला चुसिरहने यिनीहरू ठ्याक्कै मान्छेको बच्चाजस्ता देखिन्थे।
चिडियाघरमा ल्याएपछि उनीहरूको हेरचाहमा रामकाजी खटे। कलिला हात, नयाँ शिशुको जस्तो कोमल छाला देख्दा रामकाजीलाई दया लागेको थियो।
'यी बचरालाई आमाबाट छुटाएर कसले, किन यसरी ल्याएको होला भन्ने लाग्थ्यो,' ती दिन सम्झिँदै उनी भन्छन्।
रामकाजीका अनुसार सुरूसुरूमा उनीहरू साह्रै दुखी देखिन्थे। आफैं खान सक्थेनन्। दूधदानीबाट दूध खुवाउनुपर्थ्यो। सानो बच्चालाई जस्तै स्याहारसुसार गर्नुपर्थ्यो। गर्मी ठाउँका यी चिम्पान्जीलाई चिसो हुनेबित्तिकै निमोनिया देखिन्थ्यो। रामकाजीलाई कसरी हुर्काउने भन्ने ध्यान मात्र थियो। बिरामी हुँदा उनी आधा रातसम्म आफ्नै काखमा च्यापेर सुताउँथे। एक बेला त बचाउन नसकिने हो कि जस्तो पनि भयो। बिस्तारै उनीहरूको बढेको तौलले बचाउने सक्ने हौसला दिलायो।
चिम्पान्जी हुर्काउने तरिका बुझ्दै गएका रामकाजीलाई सुरूमा यिनीहरूका बारेमा केही थाहा थिएन। बिस्तारै यी मान्छेजस्तै हुन् भन्ने लाग्न थाल्यो। उनी आफ्नो काखमा यिनीहरूलाई राख्थे। बेलाबेला उनीहरू उनको काखमै दिसा गरिदिन्थे। रामकाजी झिँजो नमानी सफा गर्थे। फेरि काखमै राख्थे।
चिम्पु र चम्पा जिद्दी पनि थिए। उनीहरूले चाहेको खेलाउने कुरा नपाए, खानेकुरा नपाए रिसाउँथे। घुर्की लाउँथे। तीन वर्षसम्म रामकाजीले फकाउँदै, फुल्याउँदै उनीहरूलाई आफ्नै हातले खानेकुरा खुवाए। पछि भने आफैं खान थाले।
उनका अनुसार यी चिम्पान्जी आठ घन्टा सुत्छन्। सुत्ने बेलामा मान्छेले झैं कपडा ओढ्छन्। सुत्दा पनि औंला चुस्दै एकअर्काको हात छोड्दैनन्।
मान्छेको बच्चालाई आमाबाबुको आवश्यकता जति हुन्छ जनावरलाई पनि उति हुने रामकाजी बताउँछन्। आफूले जति स्याहार गरे पनि आमाबाबु जसरी स्याहार्न नसक्ने महसुस उनले गरेका छन्।
'आमासँग भएका भए अझ राम्रो हुन्थ्यो। आमाको दूध खान पाएको भए अझै ठूला हुन्थे होला। मान्छेले हेरेको र आमाले पालेकोमा धेरै फरक हुन्छ,' उनी भन्छन्। यी एकै आमाका बच्चा भने होइनन् भन्ने उनको अनुमान छ।
यी चिम्पान्जी पनि रामकाजीबाहेक नयाँ मान्छे देख्दा डराउँथे। कराउँथे। आक्रमण भने गर्थेनन्। तर कोरोना महामारीमा रामकाजी बिरामी भएर डेढ महिना बिदा बस्नुपर्यो। यो अवधिमा उनीहरूले आफूलाई भुले होलान् भन्ने उनलाई लागेको थियो।
'मलाई उनीहरूले बिर्सेजस्तो लागेको थियो। सञ्चो भएर फर्किँदा त घरमा छोराछोरी आमाबाबु आएर रमाएजस्तै झ्याम्मिए। मेरा हात छुने, अँगालो हाल्न खोजेजस्तै गरे। त्यो बेला मेरा आँखा भरिए। त्यसपछि त यिनीहरूलाई छाडेर जानै मन लागेन। मैले मेरा छोराछोरीलाई पनि यति स्याहारसुसार गरिनँ। एकदम धेरै माया लाग्छ यिनीहरूको।'
यी चिम्पान्जीले पनि आफ्नो भर गरेकोजस्तो रामकाजीलाई लाग्छ। 'हाम्रो कोही छ है' भन्ने आड महसुस गरेका छन् जस्तो लाग्छ।
यी चिम्पान्जी आमाबाट कसरी छुटे त?
पाँच वर्षअघि नाइजेरियाबाट क्रेटभित्र कुचुक्क परेर केही सुँगा, बाँदर, तितरसहित चम्पा र चिम्पु पनि नेपाल भित्रिएका थिए। चोरीशिकारी गरी अवैध रूपमा उनीहरूलाई भित्र्याइएको थियो। २०७४ असोज ३१ गते बाँसबारी सल्लाघारीबाट सिआइबीले उनीहरूको उद्धार गरेको थियो।
अवैध रूपमा जनावर ओसारपासर गर्ने ६ जनामाथि संरक्षित वन्यजन्तु पशुपंक्षीको अवैध ओसारपोसार निकासी पैठारी सम्बन्धी मुद्दा चल्यो। जिल्ला अदालतले तत्कालका लागि ती जनावरको संरक्षणका निम्ति चिडियाखानामा राख्न भन्यो। मुद्दा सर्वाेच्च अदालतसम्म पुग्यो। सर्वोच्चले दोषीलाई सजायको फैसला गर्यो तर अवैध रूपमा ल्याइएका जनावर कहाँ राख्ने भनेर फैसला गरेको छैन।
त्यसैले यतिका वर्षसम्म यी चिम्पान्जीलाई चिडियाखानाले औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। यिनको अवस्थाबारे बुझ्न खोज्दा विस्तृत जानकारी पनि दिइएन। उनीहरूको स्वास्थ्य राम्रो भएको मात्रै बताउँदै आएको थियो।
गत शुक्रबार भने औपचारिक रूपमै चिडियाखानाले यिनीहरूलाई बाहिर ल्याएको हो।
त्यो दिन कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले धेरै देशबाट चिम्पान्जी हाम्रो हो, हामीलाई फिर्ता गर भन्ने माग आएको तर कूटनैतिक हिसाबले यो विषय टुंगाएको बताए। चिडियाखानाले भने यसबारे विस्तृत जानकारी दिएको छैन।
चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेका अनुसार कोरोनाका कारण चिडियाखानालाई आर्थिक संकट परेको छ। त्यसैले चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरू गरेको छ। यही अभियान अन्तर्गत चिम्पु र चम्पाको अभिभावकत्व प्रभुसमशेर जबरा तथा राजी राणाले लिएका छन्। उनीहरूले यिनीहरूको हेरचाहका लागि वार्षिक दस लाख रूपैयाँ उपलब्ध गराउने भएका हुन्।
चिम्पु र चम्पा साढे दुई वर्षका हुँदादेखि डा. पर्वतजंग थापाले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। उनका अनुसार अहिले यी चिम्पान्जी स्वस्थ छन्। सुरूका वर्षमा जस्तो बिरामी हुँदैनन्। तर अनुकूल वातावरण व्यवस्थापन गर्न नसके विभिन्न समस्या देखा पर्न सक्छ। त्यसैले उनीहरू बस्ने ठाउँमा तापक्रम मिलाएर एसी जडान गरिएको उनले बताए।
शुक्रबार चिम्पान्जी नजिकै बसेका थापाले भने, 'मलाई पनि यिनीहरूले चिनिसके। कहिलेकाहीँ काम गरिरहेका बेला मेरो कम्प्युटरमाथि आएर बस्थे। साना बच्चाजस्तै थिए। माया लाग्छ।'
बेलाबेला स्वास्थ्य जाँच्ने डाक्टरलाई त उनीहरूको यति माया छ, झन् काखैमा राखेर हुर्काएका रामकाजीको मन उनीहरू भनेपछि हुरूक्क हुन्छ। उनले अब यी चिम्पान्जीसँग पहिलेजस्तो समय बिताउन पाउँदैनन्। प्रदर्शनीका लागि छोड्नुपर्दा उनलाई बच्चालाई पार्कमा छोडिदिएजस्तै लागेको छ।
रामकाजी भन्छन्, 'मेरो अध्ययनमा चिम्पान्जीहरू पाँच वर्षसम्म आमासँग टाँसिने र पछि बिस्तारै अलग्गै हिँड्ने जनावर हुन्। त्यसैले अब यिनीहरू मसँग पनि टाँसिएर बस्दैनन् होला।'
सबै तस्बिरः नवीनबाबु गुरुङ, भिडिओः सुसन चौधरी