आइतबार कैलालीको कैलारी गाउँपालिका–७, विपतपुरका हिँगुराम चौधरीका छोरा सञ्जय म्यादी प्रहरीको तालिम सकेर खाना खान घर फर्केका थिए। उनी पुग्दा घर दनदनी बल्दै थियो। सँगैका अरू घर पनि त्यसरी नै जल्दै थिए। मानिसहरूको हुलमा उनले बुवाआमालाई देखेनन्। उनी साह्रै डराए।
आत्तिँदै छोराले हिँगुरामलाई फोन गरे। गाउँमा आगो लागेको कुरा सुनाए। उनीहरू त ताटा बटुल्न जंगल गएका रहेछन्। शरीरमा आँधीहुरी चलेजस्तो भयो। हस्याङ फस्याङ गर्दै पुगे।
गाउँका घरमा आगो दन्केको थियो। हुरी पनि चलेको थियो। एक घरबाट अर्को घरमा आगो सल्किँदै गाउँ नै जल्दै थियो। गाउँलेहरू आगो निभाउने प्रयासमा थिए तर सम्भव थिएन। उनीहरू रूवाबासी गर्दै आफ्ना घर जलेको टुलटुल हेर्न बाध्य थिए।
हिँगुरामका अनुसार हारगुहार गरेर आगो निभाउने कुनै पनि प्रयास सफल भएन। कसैले प्रशासनमा त कसैले गाउँपालिका कार्यालयमा खबर गरे।
खबरपछि टीकापुर र गौरीगंगा नगरपालिका तथा धनगढी उपमहानगरपालिकाका दमकल पुगे। गाउँमा दमकल पुग्न लगभग साढे दुई घण्टा लाग्यो। दमकलले पानी खन्याउन थालेपछि पनि आगो नियन्त्रण हुन कम्तीमा आठ घण्टा लाग्यो।
आइतबार दिउँसो सोही वडाको अर्को गाउँ रामपुरका बासिन्दाले खेतमा गहुँको नलमा आगो लगाएका थिए। त्यही आगो हावाले उडाएर गाउँमा सल्केको हो कि भन्ने अनुमान स्थानीय प्रशासनको छ।
यो आगोले विपतपुरका बासिन्दाका घरमात्रै जलाएन, उनीहरूका सपना पनि खरानी पारिदियो।
सरकारले कमैया मुक्तिको घोषणा गरेपछि जमिनदारको घरमा बसेकाहरूलाई बासको समस्या भयो। यिनै मध्येका केही मुक्त कमैया विपतपुरवासी हुन्।
हिँगुरामा भन्छन्, ‘जहाँ बस्न प्रयास गरे पनि मानिसहरूले धपाउँथे। जहाँबाट आएका हौ, त्यही जाऊ भन्दै लखेट्थे।’
धेरै ठाउँबाट ठक्कर खाँदै २०६३ साल भदौमा उनीहरू कैलारी गाउँपालिका–७, विपतपुर पुगे।
हिँगुरामका अनुसार त्यति बेला त्यहाँ जंगल थियो। जंगल फाडेर ६३ घरपरिवारको बस्ती बसेको थियो। त्यहाँ उनीहरूले अनेकौं विपत् सामना गर्नुपर्यो। यही कारण गाउँको नाम पनि ‘विपतपुर’ रह्यो।
विपतपुरमा बस्ती बसेको दुई वर्षपछि सरकारले कमैयालाई दिने भनेको सेवा सुविधा उनीहरूले पनि पाए। जम्मा ५२ परिवारले त्यो ठाउँमा पाँच कठ्ठाका दरले जग्गा पाएका थिए।
‘भूमिसुधार (कार्यालय) बाट मान्छेहरू आए। कित्ताकाट भयो, बस्ती बसेको दुई वर्षपछि पुर्जा पायौं, नक्सा अहिलेसम्म पाएका छैनौं। मालपोत कार्यालयमा पनि नक्सा छैन, कर्मचारीहरू खोज्दैछौं भन्छन्,’ हिँगुरामले भने, ‘नक्सा निकाल्न धेरै पैसा खर्च गर्यौं, एक घरको १५ सय उठाएर खर्च गर्यौं तर नक्सा पाएको छैन।’
अहिले गाउँमा ७१ घरधुरी छन्, १३ घरपरिवार ऐलानीमा छन्।
विपतपुरका बासिन्दाले खेतीपाती, भारतमा रोजगारी, मजदुरी जस्ता काम गरेर परिवार पाल्छन्।
‘पोहोरसाल कात्तिकमा बाढीले धान लग्यो। यो साल गहुँ काटेर घरमा राखेका थियौं, आगो लाग्यो। अब भोकमरी पर्ने भयो,’ हिँगुराम भन्छन्, ‘सरकारले राहत दिन्छ कि भन्ने आशा छ।’
हिँगुराम गाउँका ‘भलमन्सा’ हुन्। थारू समुदायमा गाउँका मान्छेलाई आपतविपतको समयमा सहयोग जुटाउन र गाउँको भलाइको काम गर्न छानिएको अगुवा व्यक्ति भलमन्सा हो। भलमन्सा समुदायले चयन गर्छ।
आँखाबाट आँसु बगाउँदै उनले भने, ‘म गाउँको भलमन्सा हुँ, यो घटना (आगलागी) ले म आफैं रोइरहेको छु, अरूलाई कसरी सम्झाऊँ, मन थाम्न सकेको छैन। घरमा लागेको आगोले भित्री मन बेस्सरी पोलेको छ।’
उनको घरमा त राति अबेरसम्म पनि आगो निभेको थिएन। दमकलले एकातिर पानी खन्याए पनि अर्को छेउबाट दन्किन्थ्यो। घरभित्रका सबै सामान गरगहना, कागजपत्र, कपडा, अन्नपात सबै जल्यो।
हिँगुरामका जेठा छोराले केही दिनअघि खेत जोत्ने पावर टिलर किन्न भारतबाट भारतीय रुपैयाँ ७५ हजार पठाएका थिए।
घरमा जोरजाम गरेको ५० हजार रुपैयाँ थियो। पावर टिलर किन्ने सपना घरसँगै खरानी भयो।
हिँगुरामले पालेको एउटा माउ बंगुर जलेर मर्यो, भर्खरै जन्मेका एघार वटा पाठा थिए। उनलाई ती पाठा हुर्काउन समस्या परेको छ। माटो, टायल टिनका छाना भएका ७१ मध्ये आधा जति घर जलेका छन्। घरभित्रका सामान मात्र नभई बाहिरका गोरु, बंगुर, अन्य जनावर र पावर टिलरजस्ता सामान पनि जलेको उनले बताए।
घटना आइतबार साँझको हो। घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहित रेडक्रसको टोली राहतका केही सामान बोकेर घटनास्थलमा पुगेको थियो।
उक्त टोलीले त्रिपाल, चाउचाउ, बिस्कुट र अन्य खानेकुरा वितरण गरेको थियो। घटनापछि अग्नि पीडित गाउँलेहरू खेत, स्कुल, बाटो नजिक त्रिपाल लगाएर बसेका छन्। उनीहरू राहतमा अन्नले संयुक्त रूपमा खाना खाँदैछन्।
दुःख गरेर बनाएका घर जलेर खरानी भए। पीडितहरू तुरून्तै अर्को घर बनाउन सकिने होइन, अब कहाँ बस्ने भन्ने चिन्तामा देखिन्छन्।
विपतपुरवासी विपत परेकै बेला चुनाव आएकाले आफूहरूको समस्यामा राज्यको नजर नपर्ने हो कि भन्ने चिन्तामा पनि छन्।
हिँगुराम भन्छन्, ‘अहिले गाउँमा कसको घर कहाँ नेर थियो भनेर चिन्नै गाह्रो छ। सरकारले जंगलबाट काठ, छानो र सालभरि खाने अन्न सरकारले दियो भने घर आफैं काम गरेर बनाउने थियौं।’
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगलागीबाट भएको क्षतिको विवरण लिने काम भइरहेको छ।