फ्रान्सकी एक महिला संसारकै सबैभन्दा जेष्ठ नागरिक बनेकी छन्।
दक्षिणी फ्रान्सको नर्सिङ होममा बस्ने ११८ वर्षीया नन एन्ड्रेलाई गिनिज बुकले विश्वकै जेष्ठ नागरिकको उपाधि दिएको सिएनएनले जनाएको छ।
गत वैशाख ६ गते जापानकी ११९ वर्षीया काने तानाकाको मृत्युपश्चात् एन्ड्रे विश्वकै वृद्ध जिवित महिला बनेकी हुन्।
सन् १९०४ फेब्रुअरी ११ मा लुसिल रान्डनको रूपमा जन्मेकी एन्ड्रेले अधिकांश समय धार्मिक सेवामा समर्पित गरेकी छन्।
एन्ड्रे नन बन्नुअघि दोस्रो विश्वयुद्धको समयमा बच्चाहरूको हेरचाह गर्थिन्। त्यसपछि उनले २८ वर्ष अस्पतालमा अनाथ र वृद्धको हेरचाह गरिन्।
कोभिड-१९ बाट बाँच्ने एन्ड्रे विश्वकै सबैभन्दा वृद्ध पनि हुन्। उनी तीन हप्तापछि कोरोनामुक्त भएकी थिइन्। एन्ड्रे हरेक दिन एक गिलास वाइन र चकलेट खाने गर्छिन्।
संसारमा सबैभन्दा धेरै बाँच्ने व्यक्तिको रेकर्ड फ्रान्सेली जिन काल्मेन्टको नाममा छ। उनी १२२ वर्ष बाँचेर सन् १९९७ मा बितेकी थिइन्।