आज वैशाख शुल्क पूर्णिमा अर्थात् २५६६ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
शान्तिका दूत गौतम बुद्धको जयन्ती नेपाललगायत विश्वभरका बुद्ध धर्मावलम्बीहरूले बौद्ध स्तुपा, चैत्य, गुम्बाहरूमा पूजा पाठ गरी मनाइरहेका छन्।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्।
काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ।
बुद्ध धर्म र गौतमबुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन्।
नेपालमा बौद्धमार्गीहरूले मात्र नभएर हिन्दु धर्मावलम्बीहरूले पनि बुद्ध जयन्ती मनाउने गरेका छन्। गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।
संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ।
काठमाडौँको स्वयम्भूनाथ वरपर आज (सोमबार) देखिएको केही तस्बिरहरू-