उपराष्ट्रपति नन्दकिशोर पुनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बिना भेदभाव स्वीकार गर्नुपर्ने बताएका छन्।
मंगलबार होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बिना भेदभाव स्वीकार गर्नुपर्ने कुरामा राज्यको पनि प्रतिबद्धता रहेको छ।’
यो समुदायलाई सम्मान र इज्जत दिनुपर्ने उनले बताए। साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आएको समस्याबारे सरकारवालाको ध्यानाकर्षण गर्नको लागि उक्त दिवसले सहयोग गरेको समेत बताए।
कार्यक्रममा लामो समयदेखी सँगै बस्दै आएको समलिंगी जोडीलाई सम्मान गरिएको थियो। लुम्बिनी प्रदेशका शिला गुरुङ र सिता राणालाई सम्मान गरिएको हो।
यस्तै झापाका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सुमन तामाङलाई स्वीकार गरेको कारण तामाङको आमाबाबुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले यौनिक तथा लैंगिक समुदायको लागि बनेको अधिकारलाई पनि उपभोग गर्न नपाएको समेत गुनासो गरेकी थिइन्।
कार्यक्रममा ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भन्ने किताबको पनि विमोचन गरिएको थियो। कार्यक्रममा महिला अधिकारकर्मी लगायत विभिन्न संस्थाका व्यक्तिहरुको उपस्थित थियो।
उक्त दिवस हरेक वर्ष मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउने गर्छ। सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक नभएर प्राकृतिक प्रक्रिया भनेर घोषणा गरेको थियो। सोही दिनदेखी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्दै उक्त दिवस मनाउँदै आएको छ।
तस्विर : नवीनबाबु गुरुङ/सेतोपटी