आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिने फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको छ।
जिल्ला अदालत सुनसरीबाट उनलाई सफाइ दिइएको फैसला बदर गर्दै उच्च अदालतले प्रमाण हेरे पुनः फैसला गर्न आदेश दिएको छ ।
मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गर्दै पुनः प्रमाण जाँच गर्न आदेश गरेको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए।
२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सफाइ दिएको थियो। सहमतिमा भएको यौन सम्पर्कलाई बलात्कार भन्न नमिल्ने भन्ने फैसला गरेपछि पीडित महिला उच्च अदालत गएकी थिइन्।
उनका अनुसार उच्च अदालतले पीडित र पीडकबीचको भ्वाइस कल परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित तथा पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको हो।
२०७६ कात्तिक ४ गते राति आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले मङ्सिर ११ मा उजुरी गरेकी थिइन्।
२०७६ पुस १४ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो।
९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। जिल्लाको फैसलापछि भने उनी कारागारबाट आश्रम फर्किएका थिए।