किराँत समुदायले धुमधामका साथ साकेला उभौली पर्व मनाएको छ।
हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर शनिबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो।
साकेला उभौली किराँत, राई, लिम्बू, याक्खा र सुनुवारको प्रमुख चाड हो। किराँत समुदायमा बाली लगाइने समय अर्थात् गर्मी मौसम सुरू भएपछि अन्नबाली सप्रियोस् भनेर उभौली पर्व मनाउने चलन छ।
उभौली पर्वका अवसरमा किराँत समुदायका मानिसहरूले एकै स्थानमा जम्मा भई नाचगान गररेर एक आपसमा शुभकामना आदानप्रदान गरेका छन्।
भोजपुर, खोटाङ, धनकुटा लगायतका जिल्लामा मनाइने उभौली पर्व काठमाडौं पनि मनाइएको छ।
आज काठमाडौंको टुँडिखेलमा किराँत समुदायले साकेला नाच्दै उभौली मनाएको छ।
विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आई बसेका किराँत समुदायका मानिसले जातीय भेषभूषामा सजिएर काठमाडौंको टुँडिखेलमा जम्मा भई नाचगान गरेर उभौली मनाएका हुन्।
घेरा बनाएर गरिएको नाचगानमा बुढापाका भन्दा युवायुवती बढी सहभागी भएका छन्।
यो पर्व वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने गरिन्छ।
हेर्नुस्, केही तस्वीरहरू :