अन्तरजातीय प्रेम सम्बन्धको कारण मारिएका जाजरकोटका नवराज विकको आज दोस्रो वार्षिकी हो। घरमा परिवार र नातागोता मात्र छैनन्, अधिकारकर्मी समेत पुगेका छन्।
नवराजका बुवा मुनलाल विकले हिजैदेखि तयारी गरेको वार्षिकी सकाएर आफ्नो दैनिक कार्यतालिका पछ्याइसके। तर उनले बिहान चियाबाहेक केही पनि खाएका छैनन्।
‘छोरो मारिएको दुई वर्ष भइसक्यो, यो बाबुको मन अझ शान्त हुन सकेको छैन,’ मुनलालले सेतोपाटीसँगको टेलिफोन सम्पर्कमा भने, ‘यो मनले अझै राम्रोसँग खाना खान मान्दैन, आजै पनि मैले बिहान चिया मात्र खाएर बसेको छु।’
दुई वर्षअघि २०७७ जेठ १० गते जाजरकोटको खलंगाका नवराज रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा बस्ने आफ्नी प्रेमिकालाई लिन भनेर गएका थिए। तर उनी त्यसपछि फर्किएनन्। भोलिपल्ट उज्यालो नहुँदै उनको शव भेरी नदीमा भेटियो।
त्यसबेला १८ वर्षका नवराज रूकुम जाँदैछन् भन्ने कुरा उनका बुवा–आमा र छिमेकीलाई थाहै थिएन।
‘छोरोको र मेरो खाना खाने समय पनि फरक हुन्थ्यो, बरु सँगै भएका बेला राम्रो काम गर्नुपर्छ भनेर मलाई नै सम्झाउँथ्यो,’ बुवा मुनलालले भने, ‘म दिनभर मजदुरी गरी खाने मान्छेलाई उ त्यता त्यही योजनामा जाँदैछ भन्ने कुरा थाहा भएन, आमालाई पनि थाहा रहेनछ। थौरै अघि मात्र यो कुरा थाहा पाएको भए मैले नै रोक्थेँ नि।’
नवराजले कक्षा १२ उत्तीर्ण गरेका थिए। उनले नेपाल प्रहरीतर्फ जवान पदको लिखित चरणसम्म पास गरेका थिए। उनी एक भलिबल खेलाडी पनि थिए।
नवराजकी प्रेमिका उपल्लो जातकी थिइन्। तल्लो जातिसँग प्रेम सम्बन्ध छ भन्ने थाहा पाएर परिवारले अन्यत्रै विवाह गरिदिँदैछन् भन्दै उनले प्रेमी नवराजलाई भगाएर लिन २०७७ जेठ १० गते फोनबाट बोलाएकी थिइन्।
नवराज आफू मात्र गएनन्, केही आफ्ना साथीहरूलाई पनि सँगै लिएर गए। त्यहाँ गएका नवराजसँगै उनका साथीहरूमध्ये ५ जना पनि फेरि फर्किएनन्।
रूकुम पश्चिमका प्रेमिका पक्षले उनीहरूमथि आक्रमणपछि लखेट्दा ६ जनाको मृत्यु भएको थियो। घटनाको प्रकृति भने योजनावद्ध रूपमा उनीहरूलाई मारेको देखिएको छ।
घटनामा जाजरकोटकै १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक, १७ वर्षीय गोविन्द शाही र चौरजहारी नगरपालिकाका २० वर्षीय टीकाराम नेपाली मारिएका हुन्। टीकाराम पनि नवराजकै साथी थिए।
नवराजको शव भोलिपल्टै भेटिए पनि अरू पाँच जनाको शव भने फरक-फरक दिनमा भेटिएको थियो। जेठ २० गते गोविन्दको अन्तिम शव भेटिएको थियो।
नवराजको माथिल्लो जातको युवतीसँगको प्रेमसम्बन्धकै कारण ६ जनाले ज्यान गुमाएको घटनाको विषयमा अन्तिम सुनुवाइ अझसम्म पनि हुन सकेको छैन।
‘राज्यले कानमा तेल हालेर बसेको जस्तो लाग्छ, ११ जना छुटिसके २३ जना भित्रै छन् भन्ने सुनेको छु। अहिलेसम्म किन फैसला भएको छैन, अचम्म लागेको छ,’ नवराजका बुवा मुनलालले भने, ‘६ जना मारिएको यो घटनामा यति ढिलो नभए राम्रो हुन्थ्यो, पीडकलाई कानुनबमोजिम कडा कारबाही भइदिएको भए अरू त त्यस्तै हो, हामीलाई सन्तुष्टि मिल्थ्यो।’
मुनलाल र नवराजसँगै मारिएकाहरूका अभिभावक जिल्लादेखि सर्वोच्च अदालतसम्म धाइसकेका छन्।
कहिले न्यायका लागि गरिएका प्रदर्शनमा सहभागी हुन त कहिले अदालतले बोलाएको बेला उपस्थित हुन उनीहरू बारम्बार काठमाडौंमा समेत पुगेका छन्। अहिले यो मुद्दा रूकुम पश्चिम जिल्ला अदालतमा छ।
जिल्ला अदालत रूकुम पश्चिमका श्रेस्तेदार उपसचिव कृतबहादुर बोहोराका अनुसार यो मुद्दामा जेठ १८ गते पेशी तोकिएको छ।
‘१/२ जना बाहेकको बकपत्र पनि भइसकेको छ, बाँकीको पनि आदेश भइसकेको छ,’ बोहोराले भने, ‘पेशी चढिसकेपछि बहस हुन्छ कि के हुन्छ पछिको कुरा अहिले भन्न सकिएन।’
पीडितबाट घटनाबारे मुद्दा परिसकेपछि घटनामा संलग्न ३४ जनामाथि मुद्दा चलाइएको छ। तीमध्ये ११ जना तारेखमा छुटिसकेका छन्।
नवराजकी प्रेमिकाकी आमालाई १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जिल्ला अदालतले गरेको थियो। घटनामा संलग्न इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ला र दीपेन्द्र चन्द साधारण तारेखमा छुटेका छन्।
नवराजकी प्रेमिका र उनका भाइ नबालिग भएकाले छुटेका छन्। जिल्ला अदालतले उनीहरूलाई बाल सुधार गृहमा पठाए पनि उच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो।
सौरभ पुन, भीमबहादुर बुढा, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र डिल्ली घर्ती पनि सर्वोच्चको आदेशअनुसार साधारण तारेखमा छुटेका छन्। फरार भएर पछि हाजिर हुन आएका यी पाँच जनालाई सुरूमा थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने भन्ने बारेमा राय बाझिएको थियो।
अहिले थुनामा रहेकाहरूमा चौरजहारी नगरपालिका-८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल पनि छन्।
यस्तै नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल थुनामा छन्।
नवराजकी प्रेमिकाका बुबा र दाजु पनि थुनामा छन्।
घटनाको बारेमा प्रतिवेदन बनाउन प्रतिनिधि सभाले संसदीय विशेष समिति बनाएको थियो। हालका शिक्षामन्त्री देवेन्द्र पौडेलको नेतृत्वमा २०७७ जेठ २६ गते गठित ९ सदस्यीय संसदीय विशेष समितिले असार ३० गते सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन सार्वजनिक भने गरिएको छैन।