अन्तरजातीय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ।
मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलमा उक्त घटनालाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ भन्दै दलित संघर्ष नेपाल, बृहत नागरिक आन्दोलन र प्रतिरोध जनआन्दोलनको सहआयोजनामा, जात व्यवस्था उन्मूलन मोर्चाले मनाएको हो।
बृहत नागरिक आन्दोलन र प्रतिरोध जनआन्दोलनको सहआयोजनामा भएको कार्यक्रममा कविता वाचनसहित नवराज विककी आमाले मन्तव्य राखेकी थिइन्।
साथै कार्यक्रममा घटनालाई सम्झिँदै सडक नाटक समेत गरिएको थियो। नाटक प्रदर्शन भइरहेको बेला पीडित आमाहरू भावुक बनेका थिए। उनीहरूको आँखामा आँसु थामिएको थिएन।
त्यस्तै, जात व्यवस्था उन्मूलन मोर्चाले गरेको कार्यक्रममा पनि कविता वाचनसहित सारंगी बजाएर उक्त घटनाबारे सांकेतिक रूपमा बताइएको थियो।
उनीहरूले मलाई विभेद स्वीकार छैन, बिहेअघि जात सोध्नेहरू, रगतको पोका किन्नुअघि पनि सोध्नु कुन जातको हो भनेर, मौन रहनु जातीयवादलाई समर्थन गर्नु हो, अपराधीलाई कारबाही गर, खै न्याय? भेरीले बगायो!, प्रेम गर्दा मारिनुपर्ने कहिलेसम्म? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
कार्यक्रम युवाहरूसँगै विभिन्न अधिकारकर्मीहरूको उपस्थित थियो।
आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएका नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो।
दुई वर्षअघि अन्तरजातीय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको थियो।
तस्बिरहरू: