कानुन मन्त्रालयले बलात्कारका घटनामा उजुरी दिने हदम्याद खुकुलो बनाउने तयारी गरेको छ।
कानुनमन्त्री गोविन्द शर्माले कानुन आयोगलाई हदम्याद खुकुलो बनाउनेबारे प्रतिवेदन दिन भन्दै सोमबार चिठी लेखेका छन्। शर्माले मंगलबार सेतोपाटीसँग कुरा गर्दै हदम्याद खुकुलो बनाउने गरी कानुन संशोधन गर्ने तयारी थालिएको बताए।
'हामीले हिजो मात्रै आयोगलाई चिठी लेखेर बलात्कारका घटनामा उजुरी र मुद्दा दिने कानुनी हदम्यादबारे कसरी कानुन संशोधन गर्न सकिन्छ भन्नेबारे अध्ययन गरेर प्रतिवेदन तयार पार्न लिखित रूपमै पत्राचार गरेका छौं,' कानुनमन्त्री शर्माले सेतोपाटीसँग भने, 'हामीले बलात्कारसम्बन्धी कानुनमा हुने हदम्यादबारे अन्तर्राष्ट्रिय अभ्यास, हाम्रै अदालतका नजिर र विभिन्न संघसंस्थाले गरिरहेका कामकारबाही तथा मागबारे अध्ययन गरेर र कसरी कानुन संशोधन गर्ने भन्नेबारे प्रतिवेदन बनाउन भनेका छौं।'
विभिन्न मुद्दामा फैसला दिने क्रममा सर्वोच्च अदालतले बलात्कारजस्तो जघन्य अपराधमा जाहेरी दिने हदम्याद बढाउने गरी कानुन बनाउन आदेश दिएको थियो। पछिल्ला कानुनहरूमा हदम्यादको दायरा बढाएर जम्मा एक वर्ष राखिएको छ। सुरूमा ३५ दिन रहेको हदम्याद पछि बढाएर ६ महिना पुर्याइएको थियो। २०७४ सालमा जारी नयाँ मुलुकी संहिताले फेरि बढाएर एक वर्ष पुर्याएको हो।
आठ वर्षअघि मोडेल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक प्रतियोगीलाई बलात्कार गरेको घटना पीडितले सार्वजनिक गरेपछि बलात्कारमा हुने हदम्याद हटाउन माग भइरहेको छ।
गएको बुधबार उक्त घटनाबारे टिकटक भिडिओमार्फत पीडितले घटनाबारे बताएपछि हदम्याद हटाउन भन्दै युवाहरूले सडकमा प्रदर्शन गरेका थिए। शुक्रबार नेपाली कांग्रेसका सांसद गगन थापाले पनि प्रतिनिधिसभामा बोल्दै बलात्कारसम्बन्धी कानुनमा रहेको हदम्यादबारे पुनर्विचार गर्न माग गरेका थिए। उनले उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए।
त्यसपछि सभामुख अग्नि सापकोटाले पनि थापाको मागबारे ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन गरेका थिए। सरकारले पनि यो घटनाको दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको भन्दै विज्ञप्ति निकालेको थियो।
त्यसपछि आइतबार प्रहरीले पाण्डेलाई स्वयम्भूबाट पक्राउ गर्यो। बलात्कार मुद्दामा हदम्याद नाघेको भन्दै उनलाई मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ। उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अरू दुई किशोरीले पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
सम्बन्धित समाचार:
बलात्कारका घटनामा भारतसहित सार्कका ४ मुलुकमा छैन हदम्याद, हाम्रोमा मात्र किन?
कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक
१६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी
आठ वर्षअघिको बलात्कार घटनामा युवतीले यो कानुन टेकेर दिन सक्छिन् अहिले जाहेरी
मनोज पाण्डेविरूद्ध दुई वटा जाहेरी दर्ता, अर्की पीडित पनि प्रहरीको सम्पर्कमा