किराँत समुदायको प्रमुख चाड साकेला उभौली धरानमा धुमधामका साथ मनाइएको छ। ढोल झ्याम्टासहित उपस्थित हजारौं किराँत सर्वसाधारणले साकेला सिली नाचेर साकेला उभौलीलाई बिदा गरेका छन्।
धरान-११ मा रहेको साकेला पार्कमा भेला भएका सर्वसाधारणले साकेला उभौलीको बिदाइमा साकेला सिली नाचेर खुसी साटेका छन्।
वैशाख पूर्णिमाबाट गर्मी सुरू भएपछि माछा, चराचुरुङ्गी उभो लाग्ने भएकाले प्रकृतिपुजक किराँत समुदायले साकेला उभौली मनाउन सुरू गर्छन्। त्यसपछि एक साता, दुई सातासम्म साकेला थानमा पूजा गर्ने, साकेला सिली नाच्ने, भाकल भए पूजा गर्ने र कूल धामीले पितृ पूजा गरेर साकेला उभौली बिदाई गर्ने चलन छ।
यसैगरी मंसिरे पूर्णिमामा साकेला उधौली पर्व पनि किराँत समुदायले उत्तिकै उल्लासपूर्वक मनाउने गरेका छन्।
धरानको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, सभामुख प्रदीप भण्डारी , सामाजिक विकास मन्त्री राजन राई , नवनिर्वाचित मेयर हर्क राई लगायतले सम्बोधन गर्दै साकेला उभौलीको शुभकामना दिएका थिए।
तस्बिरहरू: