राम्रा सामुदायिक स्कुल
काठमाडौंको कुनै सामुदायिक विद्यालयमा कति जिल्लाका विद्यार्थी पढ्लान्!
संघीय राजधानी भएकाले देशभरका मानिसको बसोवास हुने नै भयो। यहीअनुसार यहाँका विद्यालयमा धेरै जिल्लाका विद्यार्थी जम्मा हुने नै भए तर कति जिल्लाका!
कलंकीस्थित जनपथ माध्यमिक विद्यालयमा ६५ जिल्लाका विद्यार्थी छन्।
प्रधानाध्यापक जितबहादुर लामिछानेका अनुसार सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म हिमाली, पहाडी र तराई क्षेत्रका विद्यार्थीहरू छन्।
कलंकी चक्रपथबाहिर मूल सडकमा रहेको बाबा पेट्रोलपम्पबाट बाँयातर्फ बल्खु खोलाको बाटो हिँड्दै जाँदा छिनभरमै पुगिन्छ जनपथ माध्यमिक विद्यालय। निकै भव्य र आकर्षक भवनका चिटिक्क परेका कक्षाकोठा विद्यार्थीले खचाखच छन्। हरेक कक्षाकोठाको दाँयातर्फ 'बुक कर्नर' छ।
बुक कर्नरमा पाठ्यपुस्तक र अन्य केही पुस्तकहरू छन्। विद्यार्थीहरूले आवश्यकता र रूचिअनुसार बुक कर्नरबाटै पुस्तक निकालेर पढ्न पाउँछन्। विद्यालयमा पुस्तकालय छँदैछ। बुक कर्नर चाहिँ कक्षा कोठाको लघु पुस्तकालय हो।
कक्षा कोठामा शिक्षक अनुपस्थित रहेको अवस्थामा बुक कर्नर निकै उपयोगी भएको छ। विद्यार्थीका लागि मात्र होइन, बुक कर्नरले शिक्षकलाई तत्कालै सन्दर्भ सामग्री प्राप्त गर्न सजिलो भएको छ।
प्रधानाध्यापक लामिछानेका अनुसार बुक कर्नरमा सम्बन्धित कक्षाका पाठ्यपुस्तक र सहयोगी पुस्तकसँगै कथा, कविता, उपन्यास लगायतका साहित्यिक कृतिहरू छन्।
लामिछाने भन्छन्, 'बुक कर्नरले शिक्षक र विद्यार्थी दुवैलाई सहयोग पुर्याएको छ। यहाँ हामी समयअनुसार फरकफरक पुस्तक पनि राखिदिन्छौं।'
विद्यालय परिसरमा हरियाली वातावरण छ। गमलामा विभिन्न प्रजातिका बिरूवाहरू सजाइएका छन्। पठनपाठनका लागि विद्यालय परिसरको वातावरणले प्रभाव पर्ने भएकाले हरियाली कायम गरेको प्रधानाध्यापक लामिछानेको भनाइ छ।
बुक कर्नर, हरियाली वातावरण र आकर्षक भवन जनपथका माध्यमिक विद्यालयका विशेषता हुन्।
नयाँ भवनमा सरेपछि थोरै समयमै विद्यार्थी संख्या ह्वात्तै बढेको छ। लामिछानेका अनुसार विद्यालयको विद्यार्थी संख्या बढ्नमा भौतिक वातावरण सहयोगी भएको छ।
'केही वर्षअघिसम्म पाँच सयभन्दा कम विद्यार्थी थिए। अहिले एक हजार हाराहारी छन्,' उनले सेतोपाटीसँग भने, 'विद्यालय भवन नयाँ र ठूलो भएपछि विद्यार्थी संख्या बढेको हो।'
२०१२ सालमा स्थापना भएको यो विद्यालय खासमा 'लाम्पाटी स्कुल' भनेर चिनिन्थ्यो। कलंकीमाई मन्दिरनजिकै सोल्टीमोडतर्फ सडकको पश्चिमी किनारमा थियो विद्यालय भवन। त्यो ठाउँ लाम्पाटी भनिन्थ्यो।
कलंकी–सोल्टीमोड सडक विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकाले २०६० सालमा विद्यालय भवन भत्कायो र भाडा तिरेर व्यक्तिको निजी भवनमा विद्यालय सार्यो। त्यस बेला साढे तीन सय जति विद्यार्थी थिए। भाडाको भवन पर्याप्त भएन। डेरा सरेजस्तो सर्नु पर्यो।
मूल सडकसँग जोडिएको पुरानो भवनमा विद्यार्थी संख्या घट्न थालेको थियो। भवनबाहेक खाली ठाउँ थिएन। गाडीको चर्को आवाजले पठनपाठनमा असर गरेको थियो। कक्षाकोठा अभाव हुँदा बिहानी र दिवा सत्रमा विभाजन गरेको पढाउनु पर्थ्यो।
भवन निर्माणका लागि विद्यालय र काठमाडौंं महानगरपालिका बीच सम्झौता भएपछि २०६८ सालमा निर्माणको काम सुरू भयो। पाँच वर्षपछि २०७३ सालमा विद्यालय आफ्नै आधुनिक र आकर्षक भवनमा सर्यो। विद्यार्थीहरू खुसी भए। खेलकुदका लागि ठाउँ भयो। विद्यालय परिसरमा चारैतिर हरियाली छायो।
प्रधानाध्यापक लामिछानेले भने, 'बल्ल विद्यालय जस्तो भयो। यति भएपछि हामीले धेरै केही गर्नु परेन। विद्यार्थी र अभिभावको आकर्षण बढ्यो।'
विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ, विद्यार्थी संख्या ९३९ छ। कक्षाकोठा ३२ वटा छन् जसमध्ये २० वटा कोठामा पढाइ हुन्छ।
एउटा कक्षाकोठामा ५० जना विद्यार्थी अटाउने क्षमता छ। कक्षागत हिसाबले कम्तीमा ४० जनादेखि बढीमा सयजना विद्यार्थी छन्। नयाँ भवनमा सरेपछि विद्यार्थी संख्या बढ्न थालेको हो।
लामिछानेका अनुसार विगतमा घरेलु कामदारका रूपमा बसेका र निकै कमजोर आर्थिक अवस्थाका विद्यार्थी बढी थिए। विपन्न परिवारका विद्यार्थीलाई विद्यालयले आवासीय सुविधासमेत उपलब्ध गराएको छ। हाल यस्तो अवस्थाका विद्यार्थी थोरै छन्।
यति धेरै जिल्लाका विद्यार्थी जम्मा हुनुको कारण के होला! काठमाडौंका स्थायी बासिन्दाहरू छोराछोरी निजी विद्यालयमा पढाउन रूचाउँछन्। उपत्यका बाहिरबाट आएर साधारण मानिसहरू छोराछोरी सामुदायिक विद्यालयमा पुर्याउँछन्।
एउटा कक्षाकोठाको क्षमता ५० जनासम्म हो। त्योभन्दा बढी संख्या भएका कक्षालाई समूहमा विभाजन गराएर दुई वटा कक्षामा राखिएको छ। एउटा कक्षामा कम्तीमा ४० र बढीमा सय जना विद्यार्थी छन्। विद्यार्थी संख्या बढी भएका कक्षा विभाजन गरिएका छन्।
विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। प्रधानाध्यापक लामिछानेका अनुसार २०६८ सालमा अंग्रेजी माध्यम सुरू भएको हो। अभिभावक र विद्यार्थीको चाहनाअनुसार अंग्रेजी माध्यम सुरु गरेको उनको भनाइ छ।
'सुरूमा कक्षा एकदेखि तीनसम्म अंग्रेजीमा पठनपाठन थाल्यौं र क्रमशः बढाउँदै दस कक्षासम्म पुरर्यायौं,' लामिछानेले भने, 'अहिले अधिकांश विद्यार्थी अंग्रेजी माध्यममा पढ्छन्। विद्यार्थीहरू मेहनती छन्। हरेक वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्।'
शिक्षण सिकाइको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरू पनि हरतरहबाट लागिपरेको उनले बताए। उनका अनुसार शिक्षकहरू विद्यार्थीप्रति समर्पित र जिम्मेवार छन्। हाल विद्यालयमा १२ कक्षासम्म कुल ४५ जना शिक्षक छन्। यीमध्ये सरकारी दरबन्दीका ३१ जना छन्।
विद्यालयले पूर्वप्राथमिक तथा कक्षा ११ र १२ का विद्यार्थीबाट शुल्क उठाउँछ। अन्य विद्यार्थीबाट पनि 'स्वेच्छिक शैक्षिक शुल्क' उठाउने गरेको छ। यो रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च हुन्छ।
विद्यालयका सहायक प्रधानाध्यापक किरणशाली घिमिरेका अनुसार शिक्षणमा विद्यार्थी केन्द्रित छलफल र प्रश्नोत्तर विधिमा जोड दिइएको छ। आधुनिक प्रविधिको प्रयोगले पनि सिकाइ प्रभावकारी बनाएको छ। उनका अनुसार जनपथमा पढेका थुप्रै विद्यार्थी मुलुकका उच्चस्थानमा पुगेका छन्।
काठमाडौंका धेरै जसो सामुदायिक विद्यालय डिजिटल बोर्ड प्रविधितर्फ फड्को मार्दैछन्। जनपथका कक्षाकोठा पनि प्रविधिमैत्री बन्दैछन्। विद्यार्थीको क्षमता विकासका लागि पनि समयअनुसार चल्नु पर्ने प्रधानाध्यापक लामिछानेको भनाइ छ।
'पहिले भवन नै थिएन, जसोतसो चलेका थियौं। अहिले विद्यालयमा सबै सुविधा छ,' उनी भन्छन्, 'विद्यार्थीलाई डिजिटल प्रविधिबाट पढाउन खोजेका छौं।'
विद्यालयले संघ र प्रदेश सरकारबाट सूचना–सञ्चार र प्रविधि (आइटी) का लागि ५० लाख रूपैयाँ पाएको थियो। त्यो रकमले एउटा कम्प्युटर कक्षा तयारी, प्रयोगशाला, प्रोजेक्टर, स्मार्ट डिजिटल बोर्ड र सिसिटिभी जडान लगायतको काम हुँदै छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयले दुई पटकमा साढे छ लाख रूपैयाँ पाएको थियो। यो बजेट डिजिटल पुस्तकालय अर्थात इ–लाइबेरी प्रबन्ध हुँदैछ। यसमा सफ्टवेयर मार्फत केही पुस्तकालयसँग सहकार्य हुनेछ। विद्यार्थीले कम्प्युटरमा पुस्तक पढ्न पाउने छन्। इ–लाइब्रेरी आगामी असारमा सुरू हुनेछ।
विद्यालयमा बहुआयामिक सभाकक्ष अर्थात मल्टिपर्पज हल छ।
जनपथ काठमाडौं महानगरको नमूना विद्यालयमा छनौट भएको छ। महानगरको 'एक वडा एक नमूना' विद्यालय अन्तर्गत वडा नम्बर १४ मा जनपथ परेको हो। भौतिक र शैक्षिक अवस्था, विद्यालय परिसरको वातावरण, खानेपानी, शौचालय आदिको मूल्यांकनपछि महानगरले नमूना विद्यालयका छनौट गरेको प्रधानाध्यापक लामिछानेले बताए।
नमूना छनोट भएबापत पाएको दुई लाख रूपैयाँ हरियाली प्रवर्द्धनमा खर्च गरेको पनि उनले बताए।
विद्यालयले पढाइसँगै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिएको छ। संयोजकले अतिरिक्त क्रियाकलापको योजना र कार्यक्रम बनाउँछन्। हरेक शुक्रबार शैक्षिक र खेलकुदका अतिरिक्त क्रियाकलाप आयोजना हुन्छ।
जनपथले अतिरिक्त क्रियाकलापमा अन्तरविद्यालय प्रतियोगिता पनि गराउने गरेको छ। यसमा निजी विद्यालयहरू पनि सहभागी हुन्छन्।
प्रधानाध्यापक लामिछानेका अनुसार हाल साधरण शिक्षातर्फ मात्र रहेको जनपथले प्राविधिक शिक्षा पनि समावेश गर्ने सोच बनाएको छ।
झन्डै देशभरिका विद्यार्थी पढाउने जनपथ माध्यमिक विद्यालय साँच्चै नमूना बनेको छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
यी पनि पढ्नुहोस्ः