नेपालगञ्जमा सहमतिबाट मात्रै राजा वीरेन्द्रको शालिक स्थापना गर्न दलहरू सहमत भएका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेको आव्हानमा शुक्रबार दिउँसो भएको सर्वदलीय बैठकले सबैको सहमतिमा मात्र सालिक राख्ने निर्णय भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरूको उपस्थितिमा भएको बैठकले सामाजिक सद्भावमा खलल नआउने गरि नेपालगञ्ज उपमहानगरमा बसि निर्णय गरेर मात्रै पूर्व राजाको शालिक स्थापना गर्ने निर्णय गरेको हो।
नगरपालिकामा बसेर निर्णय गर्ने र कसैले पनि आफू खुसी यस्ता कामहरू नगर्ने कुरामा दलहरूबीच सहमति भएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।
दरबार हत्याकाण्ड भएको २१ वर्षपछि जेठ १९ गतेको अवसर पारेर राप्रपाका कार्यकर्ताले शुक्रबार बिहान साढे ८ बजेतिर नेपालगञ्जको वीरेन्द्र चोकमा राजा वीरेन्द्रको सालिक स्थापना गरेका थिए।
राप्रपाले कसैलाई नसोधी, सरसल्लाहसमेत नगरी वा नगरबाट निर्णय नै नगराई एकाएक राजा वीरेन्द्रको सालिक स्थापना गरेको भन्दै त्यसको विरोध भएको थियो। त्यसपछि प्रहरी प्रशासनले सालिक केही बेरमै हटाएको थियो।
प्रहरीले सालिक हटाएपछि आक्रोशित राप्रपाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए। उनीहरूले नजिकै रहेको सहिद सेतु विकको सालिकमासमेत तोडफोड गरेका थिए।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हान्नुका साथै चार राउन्ड हवाइ फायरसमेत गरेको थियो।
राप्रपाका कार्यकर्ताको ढुंगा प्रहारबाट नौ जना प्रहरी सामान्य घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै उग्रता पर्दशन गर्ने र सालिक तोडफोडमा संलग्न रहेको भन्दै चार जनालाई प्रहरीले नियन्त्रणमा लिइएको डिएसपी न्यौंपानेले सेतोपाटीलाई बताए।