काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा मेयर बालेन शाहले छवटा प्रस्ताव पढेर सुनाएका थिए। ती प्रस्तावमा फोहोरमैला व्यवस्थापन, महानगरको सेवा लिन कल सेन्टर सञ्चालन, भौतिक पूर्वाधार एम्बुलेन्स लगायत सुरू गर्ने एजेन्डा थिए।
एजेन्डाको चौथो बुँदा सार्वजनिक शौचालयको व्यवस्थाबारे थियो। काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय भएको छ। यसका लागि चिकेन स्टेसन, बर्गर स्टेसन लगायत केही होटल तथा रेस्टुरेन्टसँग छलफल गरिसकेको मेयर बालेनले बैठकमै बताए।
'यसले रेस्टुरेन्टको व्यवसाय बढ्न सक्छ। शौचालय प्रयोग गर्न जानेले एक कप चिया खान सक्छन् तर खानैपर्छ भन्ने छैन,' मेयरको शपथ लिएकै दिनको बैठकमा उनले भने, 'यो उनीहरूको तर्फबाट सर्वसाधारणलाई दिइने सेवा हो।'
बालेनले यसो भनेको दुई दिनभित्रै काठमाडौंको ठमेलस्थित एक रेस्टुरेन्टले आफूकहाँ भएको शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको सूचना दियो।
यो सकारात्मक सुरूआत हो। मेयर बालेनका अनुसार महानगरले सार्वजनिक शौचालय सञ्चालन हुने होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पमा साइनबोर्ड राख्नुका साथै टाढैबाट देखिने रातो बत्ती जडान गरिनेछ। त्यस्ता शौचालयलाई महानगरले प्रमाणित गरेर गुगल-म्यापमा सूचना दिनेछ। नि:शुल्क सेवा दिएबापत होटल-रेस्टुरेन्टलाई के सुविधा दिने भन्ने निर्णय भने महानगरले गरिसकेको छैन।
बालेनले बैठकमा आफ्ना एजेन्डा प्रस्ताव गरेपछि उपमेयर सुनिता डंगोलले रेस्टुरेन्ट-होटलमा निःशुल्क शौचालय सेवा दिने आइडिया महानगरले पहिले नै ल्याएको बताइन्। यो सेवा सुरू गर्न खोजे पनि कार्यान्वयन भएको थिएन।
करिब तीन वर्षअघि महानगरले 'स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज' नामको प्रतियोगिता गराएको थियो। त्यसमा काठमाडौंका समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे नयाँ आइडिया ल्याउनुपर्थ्यो। उक्त प्रतियोगितामा प्रथम भएको आइडिया नै यही थियो।
'यो आइडियाको प्रस्ताव अहिले पनि छ। त्यसलाई हेर्यौं र आइडिया सुधार गर्दै लग्यौं भने काम गर्न झनै छिटो हुन्छ,' उपमेयर सुनिताले बैठकमा भनिन्।
उक्त आइडियाका सर्जकहरूसँग सेतोपाटीले तीन वर्षअघि कुराकानी गरेर स्टोरी गरेको थियो।
भक्तपुरका विनय महत र उनका साथीहरू मिलेर 'एनी टाइम ट्वाइलेट' नामक मोबाइल एप बनाएका थिए। त्यही एपले प्रतियोगिता जितेको थियो। एन्ड्रोइड फोनमा चलाउन सकिने उक्त एपमा आपत परेका बेला कहाँको शौचालय जान सकिन्छ भनेर हेर्न सकिन्छ। एपमा सूचीकृत ठाउँमा सहजै शौचालय प्रयोग गर्न सकिने व्यवस्था हुन्छ। तर यो सेवा आधिकारिक रूपमा सञ्चालन र कार्यान्वयन हुन नपाई बन्द भयो।
एप निर्मातामध्ये एक विनय महतसँग हामीले बिहीबार फेरि कुरा गर्यौं। यो आइडिया कार्यान्वयन हुन नसक्नुका तीनवटा कारण रहेको उनी बताउँछन्।
पहिलो, कोरोना महामारी।
'हामीले सन् २०२० मा हुन लागेको पर्यटन वर्षमा यो आइडिया सञ्चालनमा ल्याउने सोचेका थियौं। तर कोरोनाका कारण कार्यान्वयन हुन पाएन। काम नभएपछि हाम्रो समूह अलग्गियो,' विनयले सेतोपाटीसँग भने। उनी आफैं पनि अध्ययनका लागि अस्ट्रेलियाको मेलबर्न पुगिसकेका छन्।
दोस्रो कारण– सेवा दिएबापत रेस्टुरेन्ट-होटलहरू लाभान्वित हुन नसक्नु।
एनी टाइम ट्वाइलेटले राष्ट्रिय परियोजना आयोगसँग मिलेर आफ्नो काम गरेको थियो। महिना दिनमा होटल-रेस्टुरेन्टलाई शौचालय सफा गर्न चाहिने ब्रस, हर्पिकजस्ता सामग्री प्रदान गर्ने कुरा थियो। तर त्यो कामले निरन्तरता पाएन।
'त्यति बेला हाम्रो दिगो रूपमा काम गर्ने आधार बनिसकेको थिएन। त्यसैले ती सबै सेवा आफैं दिऊँ न त भन्ने क्षमता पनि भएन,' विनयले भने।
अर्को कारण यो सेवा दिन रेस्टुरेन्ट-होटललाई प्रेरणा नमिल्नु।
कुनै पनि रेस्टुरेन्ट, होटल सञ्चालकले आफूकहाँ भएको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिन्छु भन्ने सोचेको हुँदैन। शौचालय उनीहरूको ग्राहकका लागि हो। अरू मान्छे आफैं पनि यस्ता ठाउँका शौचालय प्रयोग गर्न पाइन्छ भन्ने सोच्दैनन्। हिचकिचाउँछन् पनि। यो स्वाभाविक हो। त्यसैले यस्ता शौचालयलाई सेवामूलक बनाउन मुश्किल हुन्छ।
'हामीले यो काम सेवामूलक होला, मान्छेहरू होटल-रेस्टुरेन्टको शौचालय प्रयोग गर्न जालान् भन्ने सोचेका थियौं, त्यसो भएन,' उनले भने।
विनय र उनका साथीहरूले कलेज पढ्दाताका यो आइडिया फुराएका थिए। उनीहरू सेन्ट जेभियर्समा 'बिएसडब्लु' (ब्याचलर्स इन सोसियल वर्क) पढ्दै थिए। पढाइअन्तर्गत विभिन्न प्रतिस्पर्धामा सहभागी भइरहन्थे। एकपटक आइसेक नेपाल नामको संस्थाले 'एक्सन फर एसटिजी (सस्टेनएबल डेभलपमेन्ट गोल)' प्रतिस्पर्धा गर्यो।
उनीहरूले स्वच्छ वातावरण विधा छाने र एउटा अवधारणा बनाएर बुझाउने तयारीमा थिए। अन्तिम समयमा उनीहरूको योजना फेरियो। चिया खाँदै आइडियाबारे कुरा गर्दा काठमाडौंमा शौचालय समस्याको कुरा निस्कियो।
विनयले आफूलाई जन्डिस हुँदा धेरै पानी खानुपरेको र बारम्बार शौचालय जानुपर्दाको आपत सम्झे। उनीहरूले शौचालयसम्बन्धी काम गर्ने योजना बनाए।
छलफलपछि उनीहरूले निचोड निकाले- एउटा एप बनाउने। सुरूमा रेस्टुरेन्टहरूसँग सम्झौता गर्ने र आफ्नो एप प्रयोगकर्तालाई रेस्टुरेन्टसँग निःशुल्क सहकार्य गराइदिने। यसको बदलामा रेस्टुरेन्टको ब्रान्डिङ हुने उनीहरूले सोचे।
यसनिम्ति महानगरपालिकासँग प्रस्ताव राख्ने र शौचालय समस्यामा सहयोग गरेबापत रेस्टुरेन्टहरूले केही छुट पाउने व्यवस्थाका लागि पहल गर्ने योजना बन्यो।
उनीहरूले यही योजना एक्सन फर एसटिजीको प्रतिस्पर्धामा उतारे र विजेता बन्दै ५० हजार रूपैयाँ जिते। त्यही पैसाले एप बनाएर गुगल प्लेस्टोरमा राखे। केही होटल-रेस्टुरेन्टसँग कुरा गरेर मनाए।
यसरी बिस्तारै आफ्नो काममा लागिरहेका उनीहरूलाई एउटा राम्रो अवसर जुर्यो। काठमाडौं महानगरले 'स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८' आयोजना गर्यो। विभिन्न विधाका समूह विजेता बन्दै सात लाख रूपैयाँ जिते।
त्यसपछि अझ तीव्र रूपमा काम गर्ने र एप सुधार्दै लैजाने योजना थियो उनीहरूको। काठमाडौं उपत्यकामा एनी टाइम ट्वाइलेटमार्फत होटल-रेस्टुरेन्ट र अन्य ठाउँ गरी करिब १५० शौचालय प्रयोग गर्न पाउने गरी सहकार्यसमेत गरेका थिए।
तर विनयले भनेझैं कोरोना महामारी, कार्यान्वयनमा सहकार्यको अभाव र होटल तथा रेस्टुरेन्टलाई यो सेवा दिएबापत् प्रेरणा मिल्ने कुनै कामकारबाही नहुनाले योजना सफल भएन।
अहिले महानगरले यही योजना फेरि सुरू गर्ने भनेको छ। यसमा पहिले आफूहरू असफल भए पनि असम्भव नभएको विनय बताउँछन्।
'होटल-रेस्टुरेन्टसँग सहकार्य गरेर, उनीहरूलाई प्रेरणा दिएर गर्न सकिन्छ। सेवा दिनेलाई फोहोर, सुरक्षा लगायत विविध समस्या भने हुन्छ,' यी सबै कुरा समेटेर अगाडि बढ्नुपर्ने भन्दै उनले आफ्नो अनुभवको आधारमा सुझाव दिए, 'सबै होटल-रेस्टुरेन्टको मुख्य उद्देश्य राम्रो खाना दिनु हो, शौचालय बाँड्नु होइन। त्यसैले उनीहरूलाई कसरी लाभान्वित गर्ने भनेर सोच्नुपर्छ। नभए यो सेवा केही समयका लागि मात्र हुनेछ।'
यो सेवा सञ्चालननिम्ति आफूहरूले बनाएजस्तो एप वा डिजिटल प्लेटफर्मको महत्वपूर्ण भूमिका हुने उनी बताउँछन्।