यस वर्ष अघिल्लो वर्षमा भन्दा केही समयअघि नै वर्षाको मौसम सुरू भएको छ।
वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ।
पानी परे पनि पहाडी भेगमा भने खेत रोपाइँ गर्ने समय अझै आइसकेको छैन भने तल्लो तटीय क्षेत्रमा रोपाइँ सुरू भएको देख्न सकिन्छ।
किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्।
राजधानी वरपर रहेका विभिन्न तटीय क्षेत्रमा पनि रोपाइँ भैरहेको देख्न सकिन्छ।
काठमाडौंको शंखरापुर क्षेत्रस्थित शाली नदीको तटीय क्षेत्रमा यतिबेला धमाधम रोपाइँ भैरहेको देख्न सकिन्छ।
किसानका अनुसार यसै पनि यस क्षेत्रमा रोपाइँ अरू क्षेत्रमा भन्दा छिट्टै हुन्छ। यसपालि वर्षा चाँडै हुँदा रोपाइँ पनि चाँडै नै गरिएको उनीहरू बताउँछन्।
वर्षाको साथले गर्दा सिँचाइलाई केही सहज भएको छ भने कतिले खोलाबाट मोटरको सहायताले पानी तानेर भने पनि रोपाइँ भने सकेको स्थानीय बताउँछन्।
रोपाइँ सकिसकेको शंखरापुर साँखुका तटीय क्षेत्रमा शुक्रबार रोपाइँको केही रमाइलो दृश्य देख्न सकिन्थ्यो।
बस्ती वृद्धि हुने क्रममा खेतीयोग्य जमिन मासिँदै गएकोमा अबको केही समयपछि रोपाइँ गर्ने ठाउँ नहुनेमा स्थानीय बुढापाका चिन्ता व्यक्त गर्छन्।
केही तस्बिरहरू :