चुरे पहाडको फेदबाट सुरू हुन्छ कैलालीको समथर भू-भाग। कृषिमा निर्भर जनसंख्या ठूलो भए पनि सुकुम्बासी, भूमिहीन र ऐलानी जग्गामा बस्नेहरू यहाँ धेरै छन्। अन्न फलाउन जमिन नभएपछि खेती गर्ने समयमा कमाइको उपाय खोज्दै भारत पस्छन्।
लम्कीचुहा नगरपालिका–६, बाघमाराका पूर्णप्रसाद खनालको आउँदो हप्ता भारत जाने साइत छ। उनले गाडीभाडाका लागि दुई वटा बाख्रा बेचे। यसपटक उनीसँगै श्रीमती शारदा पनि भारतीय सहर बैङ्लुरू जाँदैछिन्।
त्यहाँ उनीहरू अपार्टमेन्टमा झाडुपोछा अर्थात सरसफाइको गर्छन्।
पन्ध्र वर्षको छोरो घरमा एक्लै छोडेर रहरले नभई बाध्यताले जान लागेको पूर्णप्रसादको भनाइ छ।
पूर्णप्रसादको घरछेउमा चुरेबाट झरेको खहरे बग्छ। विगतमा धेरैपटक बर्खायाममा उर्लेर आएको खहरेले दुःख दिएकाले पूर्णप्रसादलाई बर्खायाममा छोरो एक्लै छोडेर भारत पस्ने मन छैन तर बाध्यता छ।
उनी भन्छन्, ‘जंगलबाट बगेर आउने पानीले घर नै बगाउला कि भन्ने चिन्ता छ। एक–दुई वर्ष भारत बसेर आएपछि अन्तै घरबास सार्ने सोच छ।’
उनी दैलेखबाट बसाइँ सरेर सात–आठ वर्षअघि बाह्रबिघा, सिरानी टोल आएका हुन्। उनले देउराली सामुदायिक वनको नजिकै किनारनेर छ कठ्ठा ऐलानी जमिन किनेका थिए।
उनीसँगै दाजुभाइका चार घर थिए। जंगल र बस्तीको बीचमा गोरेटो बाटो थियो। त्यही बाटो भएर चरैला नदीको त्रिवेणीमा रहेको घाटमा दाहसंस्कारका लागि मान्छेहरू आवतजावत गर्थे।
पछिल्लो पाँच वर्षयता भने त्यो बाटो पहिलेको जस्तो रहेन। चुरेको फेदको जंगलमा वर्षा हुनासाथ आउने भेलबाढी बस्तीमा पस्न थालेपछि बाटो बगि सकेको छ। बाटो भएको ठाउँमा बर्खे भेल बग्छ।
त्यही खहरे मासमै आउने बाढीले उनका भाइ चक्र खनालको घर बगाउन लागेपछि अर्कै ठाउँमा सरे।
‘बर्खामा राति पुरै बस्ती जागा रहन्छ, कोही पनि सुत्दैनौँ। एक–दुई घण्टामै ठाउँठाउँमा कटान हुन्छ,’ पूर्णप्रसाद भन्छन्, ‘धेरै घरका पुरुषहरू भारतमा हुन्छन्, गाउँमा यहाँ बस्ने साना केटाकेटी र बुढाबुढीहरू समस्यामा पर्छन्।’
बाढीले धेरै दुःख दिन थालेपछि गाउँलेहरू मिलेर नगरपालिकामा हारगुहार गर्न गए। सहयोगको आश्वासन पनि पाए तर योजना पाएनन्। उनीहरू धाउन छाडेनन्। गत वर्षमात्रै पनि स्थानीयबासीहरू नगरपालिका कार्यालय पुगे र काम हुने आश्वासन लिएर फर्के।
‘मैले धेरै पटक पालिकामा तटबन्धका लागि कुरा गरेको छु, रानीजमरा आयोजनालाई पनि निवेदन हालेका छौँ,’ पूर्णप्रसादले भने, ‘म त भारत जाँदैछु। भारत गएपछि यता बर्खामा घर बग्ने हो कि भन्ने चिन्ता हुन्छ।’
पूर्णप्रसादलाई नेपालमा कमाउने अवसर छैन, काम पाइँदैन भन्ने लागेको छ। थाप्लामा ऋण छ, नतिरी हुँदैन। उनी भन्छन्, ‘ऋण लागेको छ, घर बसे ऋण थपिँदै जान्छ। भारतमा अलिअलि कमाइ हुन्छ तर उता गएपछि यता घरको चिन्ता हुन्छ।’
जयसरा खत्री पनि यस्तै पीडित बासिन्दा हुन्। आफ्नो बस्तीको कटान नियन्त्रणका लागि बोलिदिने मान्छे कोही नभएको उनको दुखेसो छ।
उनका अनुसार यसपटक नगरपालिकाका प्राविधिकहरू आएर उक्त स्थलगत अध्ययन गरेर गएका छन्। नगरपालिकालाई विपद व्यस्थापनमा मद्दत गर्दै आएको अमेरिकी सहयोग नियोगको नेपाल परियोजनासँगको सहकार्यमा खोल्सा नियन्त्रणको काम सुरु भएको छ।
खहरे नियन्त्रणका लागि बायो इन्जिनियरिङ र तारजाली तटबन्धको काम भएको छ। अहिले बस्तीको उत्तरतिर तीन सय मिटर तटबन्ध गरिएको छ।
खोल्सामा ठाउँठाउँमा चेकड्याम बनाइएका छन्। किनारमा घाँस र विरुवा रोपिएको छ। यसले कटान र वस्ती बग्ने जोखिम रोकथाम हुने आशा स्थानीयबासीको छ।
जयसरा भन्छिन्, ‘यतिले मात्रै हुँदैन। यस्तै तटबन्ध नदीसम्मै भए चिहानसम्म जानेलाई बाटो पनि बन्थ्यो, नगरपालिकाले थप बजेट हालेर दिगो हुने गरि काम गरिदिनुपर्छ।’
दिनेश विकको परिवार त्यही ठाउँमा बसेको तीवस वर्षभन्दा बढी भयो। कोभिड–१९ को समयमा भारतबाट फर्केपछि उनी अहिले घरमै छन्।
‘नजिकैको जंगलबाट बरु जनावरको डर छैन तर बर्खामा एक्कासी आउने भेलबाढीले बस्ती बगाउने थियो,’ उनले भने, ‘यस पटक घरअगाडि बाटो र तटबन्ध बनानेको छ। पोहरपरारको जस्तो डुबान नहोला भन्ने उनलाई आशा लागेको छ।’
दिनेशका अनुसार पानी पर्न थालेको एक घण्टामै बाढी आउँछ र पानी रोकिएको एकघण्टामै सुक्छ पनि। त्यही खरहरे बाढीले ठूलो जोखिम गराउँछ। उनका विचारमा यो जंगल र पहाडका फेदबाट आउने पानी खोलासम्म निकासी हुन सके समस्या धेरै समाधान हुन्थ्यो।
बस्तीमा जम्मा ७३ घरधुरी छन्। पछिल्लो दुई वर्षमा मात्रै छ वटा घर बाढीले विस्थापित भए।
बस्तीको उत्तरर्फ चुरे पहाड छ। त्यसको फेदमा रहेको वनमा वर्षामा पहाडको पानी खहर बनेर आइपुग्छ। यसरी आएको पानी नदीसम्म पुग्ने निकास नपाएर बस्तीमा पस्छ।
यस्तो भेलले पछिल्लो केही वर्षमा बस्तीमा खोल्साहरू बनाएको छ। खहरे र खोल्साहरूले तीव्र कटान गरिरेहेको लम्कीचुहा नगरपालिकाका इन्जिनियर भरतराज जोशीले बताए।
उनका अनुसार खोल्सामा बग्ने वर्षाको भेलले बस्ती असुरक्षित बनाएको छ। भेलले भूक्षय बढाएपछि खोला नदि र वनको किनारमा रहेको यो बस्ती जोखिममा छ।
भूक्षय रोक्न उपयुक्त व्यवस्थापनका लागि गएको गत वर्षदेखि जैविक तटबन्ध र खोल्सा नियन्त्रणको काम सुरु गरेको जोशीले बताए।
उनका अनुसार यस वर्ष पहिले जसरी बाढी बस्तीमा नपस्ला भन्ने अपेक्षा छ। विरुवा भर्खर रोपिएका छन्। रूख र घाँस हुर्केपछि त्यसले माटो बग्न रोक्छ। चेक ड्यामले कटान रोक्छ। माटो थिग्रिन्छ, पानीमात्रै बग्छ।
बस्तीका बासिन्दाहरू पनि यस्तै अपेक्षामा छन्।