संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको परामर्शदाता समूहले आइतबार बागलुङको बलेवा विमानस्थलको अवलोकन गरेको छ।
भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ।
विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताए।
‘विमानस्थलको स्थलगत अध्ययन, अवलोकन गर्यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयारी अवस्था छ। सरकारले कराडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्नहुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ,’ उनले भने।
उनले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनीलगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने उल्लेख गरे।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना बनाउनुपर्ने बताए।
बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हरहालतमा विमानस्थल चलाउनुपर्ने बताए।
‘नियमित सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति गर्न सकियो भने विमानस्थल चल्छ। सबै पूर्वाधार बनेको अवस्थामा अब कसरी हुन्छ विमानस्थल चलाउनेतिर सोचौँ, पहल थालौँ,’ उनले भने।
बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्ने बताए।
उनले यसअघि विसं २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गरेका थिए।
‘व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन। धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफै उकासिन्छ,’ उनले भने।
बागलुङ उद्योग वाणिज्य सङ्घका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मातर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव राखेका थिए।
‘कुश्माबाट यान्त्रिक पुलहुँदै यात्रुलाई विमानस्थल पुर्याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ’, उनले भने।
विमानस्थल जोड्ने पहुँचमार्गको स्तरोन्नति या कालोपत्र पर्खन थाल्ने हो भने फेरि केही वर्ष विमानस्थल बन्दै अवस्थामा राख्नुपर्ने उपमहासचिव सुवेदीले बताए।
बागलुङको मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ। वर्षातका बेला उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ। सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ।
बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले यसअघि धावनमार्ग कच्ची हुनु, चर्को भाडादर र पहुँच मार्गस्तरहीन हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको बताए। विमानस्थल सोही वडामा पर्दछ।
‘अहिले धावनमार्ग कालोपत्र भइसकेको छ, अब विमानस्थलसम्म आउजाउका लागि सहज यातायातको खाँचो छ, यात्रुको सुनिश्चितता दिएर विमान कम्पनीलाई आकर्षण गर्न सकियो भने विमानस्थल नियमित चल्छ’, उनले भने।
यसअघि नगरले आफ्नै पहलमा विमानस्थल सञ्चालनमा ल्याएपनि यात्रु सङ्ख्या घट्दै गएपछि विमानस्थल बन्द हुन पुगेको वडाध्यक्ष खत्रीको भनाइ छ।
बागलुङ नगरका उपप्रमुख राजु खड्काले विमानस्थल नियमित सञ्चालन गर्न नगरकोतर्फबाट सबैखाले प्रयास गर्ने प्रतिबद्धता जनाए।
‘हामी सबै पक्षसँग बसेर विमानस्थल सञ्चालनको छुट्टै योजना निर्माण गर्छौं। नगरको गौरव र प्रतिष्ठासँग पनि जोडिएको विषय भएकाले हामी यसमा संवेदनशील छौँ,’ उनले भने।
सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ। बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो।
नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे। १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो।
केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो। विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए।
विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन। विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो। सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए।
यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो। पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ। विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ। अब विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीय छन् तर विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुंगो छैन।
(रासस)