यौन हिंसाविरूद्ध सेतोपाटी संवाद
हामीकहाँ बर्सेनि दुई हजारभन्दा बढी बलात्कारका घटना प्रहरीमा दर्ता हुन थालेका छन्। गत वर्ष मात्र २ हजार ५ सय ३२ वटा बलात्कारका जाहेरी दर्ता भएका थिए। धेरैजसो घटनामा बालबालिका पीडित छन्।
बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार तथा यौन हिंसाका घटनामा ६३ प्रतिशत पीडित बालिकाहरू हुने गरेको प्रहरी तथ्यांकमा छ।
पछिल्लो समय बलात्कारका घटना प्रहरीकहाँ रिपोर्ट गर्ने अभ्यास बढिरहेको छ। तर समाजमा पुरूषप्रधान मानसिकता र पीडकहरूको शक्तिशाली उपस्थितिका कारण अझै पनि पीडितहरूलाई बोल्न सजिलो छैन।
यसको एउटा उदाहरण हो, ग्लोबल मोडेल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई पटकपटक बलात्कार गरेको भनी एक युवतीले आठ वर्षपछि दिएको बयान।
ती युवतीले आठ वर्षसम्म मनमा लुकाएर राखेको घाउ २१ वटा भिडिओ क्लिपमार्फत् सामाजिक सञ्जालमा सार्वजनिक गरिन् र समाजको एउटा चेहरा उदांग पारिन्।
भिडिओ सार्वजनिक भएपछि पीडक भनिएका पाण्डे पक्राउ मात्र परेका छैनन्, यसले बलात्कार लगायत यौन दुर्व्यवहारविरूद्ध समाजलाई झक्झकाएको छ।
बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा उजुरी गर्न कानुनी हदम्याद लागू हुनुहुँदैन भन्ने बहस पनि सुरू भएको छ। संसदभित्र र बाहिरबाट उठेको दबाबपछि सरकार अहिले कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था खुकुलो बनाउने तयारीमा छ।
यसै सन्दर्भमा हामीले किशोर-किशोरी तथा बालबालिकाहरूसँग यौन दुर्व्यवहार, बलात्कार लगायत विषयमा छलफल शृंखला सुरू गरेका छौं।
समाजमा भइरहने यस्ता घटनालाई उनीहरूले कसरी हेरेका छन्? यी घटनाले उनीहरूको मनस्थितिमा के असर पारेको छ? यस्ता घटनाबारे किशोर-किशोरी तथा उनीहरूका अभिभावक घरमा कुरा गर्छन् कि गर्दैनन्? यिनै सवालहरूमा विमर्श गर्नु हाम्रो उद्देश्य हो।
यो भिडिओ शृंखलामा हामी किशोर-किशोरी तथा बालबालिकासँग मात्र कुरा गर्ने छैनौं, उनीहरूका अभिभावकसँग पनि छलफल गर्ने छौं। सँगसँगै, मनोपरामर्शविद्, वकिल, प्रहरी तथा शिक्षक-शिक्षिकाहरूसँग पनि कुरा गर्ने छौं।
आज शृंखलाको पहिलो अंकमा हामीले कोटेश्वरस्थित कान्जीरोवा स्कुलमा कक्षा ९ र १० पढ्ने १० जना विद्यार्थीसँग संवाद गरेका छौं।
भिडिओ: सुसन चौधरी/सेतोपाटी