धनगढीकी ४१ वर्षीया वेद एकल महिलाहरूकी नेता हुन्। एकल महिलाहरूलाई आड भरोसा दिएर आत्मनिर्भर हुन सिकाउन पाउँदा आफूलाई निकै खुसी मिल्ने उनी बताउँछिन्।
यो खुसीका लागि उनी धेरै समय आफन्त, समाज र आफैंसँग लड्नुपरेको थियो।
वेद सामान्य परिवारमा जन्मेकी थिइन्, दुई बहिनी र दुई भाइकी जेठी दिदी। बुवा जागिरे थिए। त्यही जागिरले परिवार चलेको थियो।
वेद धनगढी माध्यमिक विद्यालयबाट दश कक्षा उत्तीर्ण गरेपछि कैलाली बहुमुखी क्याम्पसमा भर्ना भइन्। पढ्दापढ्दै २०५७ सालमा बिहे भयो। उनी बिहे हुनुअगावै उच्च शिक्षा पूरा गर्न चाहन्थिन् तर आमाबुवाको इच्छाअनुसार बिहे गर्न राजी भएकी थिइन्।
श्रीमानको मृत्यु हुँदा वेद तीन महिनाको गर्भ हुर्काउँदै थिइन्। पति वियोगको पीडा छँदै थियो, उनको संघर्षको दायरा झन् फैलियो। आफ्नै परिवारजन र आफू वरिपरिकै समाजसँग भिड्नु पर्ने भयो।
दिन बित्दै गयो। छोरी जन्मिन् तर उनको संघर्ष कम भएन।
वियोगले पछारेको आफ्नो त्यो समय सम्झँदै वेदले भनिन्, ‘मेरा धेरै अधिकार हनन् भए। म आफ्नो अधिकारका लागि लडेँ।’
एकल महिला भएपछि के/के खान हुने र नहुने, के/के लगाउन हुने र नहुने भन्नेमा पनि उनलाई आदेश र रोकतोक हुन थाल्यो। एकल महिलाले सबै कुरा सहनु पर्छ, भाग्य नै यस्तो भन्ने धारणा थोपरिन थाल्यो। श्रीमानको मृत्युको दोष वेदको भाग्यले पाउन थाल्यो।
कसै कसैले त दुलहीका निधार र हातखुट्टा हेरेरै भाग्य राम्रो छैन भन्ने कुरा उति बेलै थाहा पाएको पनि भने। अन्योल र निराशामा पाँच वर्ष बित्यो।
समयको अन्तरालसँगै पति वियोगको पीडा कम हुँदै गयो। सधैं वियोगको पीडाले जीवन चल्ने पनि होइन। वेद आफ्ना लागि उपयुक्त अवसरको खोजीमा थिइन्। यही क्रममा उनले २०६३ सालमा ‘एकल महिला’ को हितमा काम गर्ने संस्थाबारे थाहा पाइन्।
वेदले संस्थाका प्रतिनिधिहरूलाई भेटिन्, कुराकानी गरिन्। भेट बाक्लो हुँदै गयो। यसबाट उनको आत्मबल बढोत्तरी भयो। उनलाई आफूजस्ता एकल महिला त को होलान् र जस्तो लागेको थियो। समूहमा उनले आफ्ना दौंतरी पनि फेला परिन् र आफूभन्दा निकै दुखिया पनि।
‘मसित घर थियो, खानलाउन कमी थिएन। मभन्दा दुःखी र आर्थिक समस्यामा परेका, हिंसामा परेका एकल महिलाहरू भेटेँ, उनले भनिन्, ‘यसपछि म त धनी विधुवा हुँ जस्तो लाग्यो, आत्मबल बढ्यो।’
संस्थाको सम्पर्कमा पुगेर समूहमा घुलमिल भएपछि केही महिनामै ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह केन्द्र’ को कैलाली जिल्ला सचिवको रूपमा काम गर्ने अवसर पाइन्। उनी आफूजस्तै एकल महिलाको हकअधिकारका लागि काम गर्न थालिन्। उक्त संस्था २०५२ सालमा स्थापना भएको थियो।
उनले भनिन्, ‘मलाई देख्नेले कठै भन्थे। अब के गर्छेस् त, भाग्य यस्तै रहेछ भन्थे। एकल महिलाहरूले साथ र हौसला दिन थालेपछि म समूहमा रमाउन थालेँ।’
संस्थाको सचिवका रूपमा वेद एकल महिलाहरूलाई संगठित गर्ने, उनीहरूको मनोबल बढाउने, कानूनी परामर्श दिने, उनीहरूमाथि हुन सक्ने जोखिमबारे सचेत गराउने पक्षमा काम गर्न थालिन्। यस्ता महिलाहरूलाई आयआर्जनका काम संस्थाको उद्देश्य थियो।
संस्थाले एकल महिलाहरूको समूह बनाएर बचत तथा ऋणको काम सुरू गर्यो। संस्थाको सहयोगमा महिलाहरू आयमूलक काममा जोडिए। यीमध्ये कतिपय महिला उद्यमी बनेका छन्।
वेद अहिले सोही संस्थाको सुदूरपश्चिम प्रदेश अधिकृतका रूपमा कार्यरत छिन्। सीमान्तकृत, द्वन्द्वपीडित र एकल महिलाका सवालमा काम गर्ने ‘शान्ति परियोजना’ मा पनि उनी आबद्ध छिन्। समाजमा उपलब्धि देखिने गरी सिकाइ र उत्प्रेरणाका लागि कैलारी गाउँपालिकामा उक्त परियोजना चालु छ।
वेदले एकल महिलाका रूपमा दुई दशकभन्दा बढी बिताइसकिन्। निराशायुक्त एक्लो जीवनमा आफ्ना आमाबुवाको साथ पाइन्। आफूले कच्चा उमेरमै सहनु परेको आँधीबेहरीले उनलाई छोरीको शिक्षा र दक्षताका लागि चेतना दियो।
उनकी छोरीले २०७८ सालमा विज्ञान विषयमा बाह्र कक्षा उत्तीर्ण गरिन्। छोरीको चिकित्सा शिक्षा पढ्न एमबिबिएसको तयारीमा छिन्। कक्षामा सधैं प्रथम हुने छोरीले हरेक वर्ष निःशुल्क पढ्न पाइन्। चिकित्सा शिक्षामा पनि उनले छात्रवृत्ति पाउने गरी सफलता हासिल गर्ने वेदको अपेक्षा छ।
वेद संलग्न एकल महिलाको संस्थाले आफ्नै जमिन र भवन पाएको छ। त्यहाँ स्वरोजगारीका लागि एकल महिलाहरूलाई तालिम दिइन्छ। केहीलाई त संस्थाले नै रोजगारी दिएको छ।
वेदले एकल महिलालाई संगठित बनाउने र मनोबल बढाउनेतर्फ काम गरिन्।
समूहमा आबद्ध महिलाहरूले सिलाइ–बुनाइ, तरकारी खेती, फलफूल खेती, बाख्रापालन, दुनाटपरी बनाउने, पोते बनाउने, मःम चाउमिन बनाउनेजस्ता तालिम पाउँछन्। यस्ता तालिम लिएका धेरै महिलाहरू स्वरोजगार बनेका छन्।
वेदका अनुसार समूहमा आबद्ध भएर आर्जनका काम गरे पनि एकल महिलाहरूले कानूनअनुसारको अधिकार पाएका छैनन्। सम्पत्तिको अधिकार छैन। अंश पाउँदैनन्। अंश लिएर अर्को बिहे गर्ने भय परिवारजनमा छ। खान लाउन दिएकै छौं, अंश किन चाहियो भनेर पन्छाउने प्रवृत्ति छ।
वेदका अनुसार अंश दिए पनि काम नलाग्ने जमिन दिने, बराबरीको भाग नलगाउने, सन्तानमा छोरी भएकी एकल महिलालाई अंश नदिनेजस्ता समस्या छन्।
एकल महिलामाथि यौन शोषण हुने, घरेलु हिंसा हुने, अनेक लाञ्छना लगाएर चरित्र हत्या गर्ने जस्ता समस्या एकल महिलाहरूले भोग्नु परेको छ।
दिनदिनै जसो यस्तै कुनै समस्या लिएर कसै न कसैले वेदलाई भेटेकै हुन्छ।
एकल महिलाको सम्पत्तिको अधिकार उनका पक्षमा प्रष्ट हुनु पर्ने वेदको धारणा छ।
उनका अनुसार अंश पाउने कानूनी व्यवस्था भए पनि मुद्दा गर्न सजिलो छैन। मुद्दा दायर गरेर घरबाट निकालिने वा अन्याय सहेर बस्नेमध्ये एउटा विकल्प रोज्नु पर्ने बाध्यता छ।
वेद भन्छिन्, ‘एकल महिलामाथिको विभेद हटेको छैन। केही परिवर्तन भएको छ तर धेरै काम हुन बाँकी छ। स्थानीय र प्रदेश सरकारले पनि एकल महिलाका पक्षमा व्यवस्था गर्नुपर्छ।’
राज्यले सबै उमेरका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि केही राहत भएको छ।
जीविकोपार्जनमा आयआर्जनका लागि मद्दत गर्न सके जीवन सहज हुन सक्ने वेदको धारणा छ।
उनी भन्छिन्, ‘एकल महिलाका सवालमा आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक समस्या छन्। राजनीतिमा निर्णायक ठाउँमा महिला थोरै छन्। एकल महिलाका पक्षमा काम पनि थोरै हुन्छ।’
शिक्षित परिवारमा पनि एकल महिलाप्रति दृष्टिकोण अशिक्षित परिवारकै जस्तो रहेको वेदको बुझाइ छ।
भन्छिन्, ‘पढे/लेखेकी मैले अनेक समस्या अवस्था झेल्नुपर्यो। दूरदराजका पैसा नचिन्ने, अक्षर नचिन्ने दिदीबहिनीको अवस्था के होला!’
वेद आबद्ध संस्थामा हाल सुदूरपश्चिमका १२ हजार महिला संगठित छन्। कैलालीका मात्रै चार हजार जति छन्। यीमध्ये १८ देखि ४५ वर्ष उमेरका धेरै छन्।
एकल महिलाको संस्थामा आबद्ध भए पनि सुरूका दिनमा वेद निकै कठिनाइमा परिन्। परिवारको रोकतोक भयो। बिहान–बेलुकाको घरायसी काम सकेर दिउँसो थोरै समय निकालेर संस्थाको काम गर्थिन्। दिउँसोको उनको बाहिरी अलमलमा परिवारजनलाई शंका थियो।
वेदलाई अहिले यस्तो समस्या छैन। उनको लगनशीलता र एकल महिलाको हितको कामले ख्याति पाएको छ।
‘म स्थापित हुँदै गएपछि बुहारी ठिक ठाउँमा रहिछ भन्ने भएको छ। अहिले मलाई परिवारबाट कुनै समस्या छैन,’ उनी भन्छिन्, ‘मलाई देख्नेहरू कठै भन्थे, अहिले म अरूलाई मद्दत गर्ने भएकी छु।’
स्थानीय सार्वजनिक संस्थाहरूले वेदको लगनशीलताको सम्मान पनि गर्न थालेका छन्।
‘कैलाली जनपुस्तकालय’ ले सम्मान गरेको छ। संकल्प नामको संस्थाले पनि सम्मान गरेको छ। उनी एउटा अन्तर्राष्ट्रिय सम्मानका लागि पनि छनोट भएकी छन्।