रुकुम पूर्व जिल्ला अदालतले अपहरणपछि हत्या आरोपमा वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायधीश सनतचन्द्र लवटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
नेकपा माओवादी केन्द्रबाट पुथाउत्तरंगा गाउँपालिका-११ का वडाध्यक्ष कुमार सिंह, पूर्ववडाध्यक्ष जयकुमार बुढा र माओवादीका स्थानीय नेता अर्जुनकुमार बुढालाई थुनामा राख्ने आदेश दिएको हो।
सोही घटनाका आरोपित थप तीन जना फरार आरोपितहरू कृष्णबहादुर बुढा, जनक कामी र विष्णु बुढालाई पक्राउ गरी अदालत उपस्थित गराउन आदेश भएको अदालतका नायब सुब्बा ललितकुमार ओलीले जानकारी दिए।
पुथाउत्तरगंगा-११ की ३९ वर्षीया जुनमाया बुढाको अपहरणपछि हत्या गरेको जाहेरी परेपछि उम्मेदवारसहित तीन जनालाई वैशाख ३० गते पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार निर्वाचनभन्दा पहिले पक्राउ परेका माओवादीका कुमार सिंह वडाध्यक्षमा निर्वाचित भएका थिए। सिंहले एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार लक्ष्मण बुढालाई ५८ मतान्तरले पराजित गरेका थिए। सिंहको ४ सय ६१ र बुढाले ४ सय ५८ मत प्राप्त गरेका थिए।
के भएको थियो ?
केन्द्रमा सत्ता साझेदार दलबीच चुनाबी गठबन्धन भए पनि पुथाउत्तरंगा गाउँपालिका वडा नं. ११ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो।
निर्वाचन प्रचार प्रसारका क्रममा वैशाख १९ गते बेलुकी पुथाउत्तरंगा गाउँपालिका वडा नं. ११ को तल्लो शेरा भन्ने ठाउँमा एमाले र कांग्रेसको गठबन्धनका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताको जम्काभेट भयो।
उनीहरूबीच विवाद भएपछि धक्कामुक्का चल्दाचल्दै आपसमा झडप भयो। प्रहरी समयमै पुग्दा झडपले ठूलो रूप लिन पाएन। तर त्यस घटनापछि जुनमाया बुढाका २४ वर्षीय भाइ धनकुमार बेपत्ता भए।
जुनमाया भाइको खोजी गर्दै एक्लै जंगलतर्फ लागिन्। त्यस रात उनी फर्किइनन्। भाइ भने घर फर्किसकेका थिए।
भोलिपल्ट पनि जुनमाया घर नफर्किएपछि आफन्तले उनको खोजी सुरू गरे। तर फेला परिनन्।
वैशाख २६ गते सोही जंगलमा एक महिलाको शव फेला पर्यो। मेलापातमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे। त्यो शव जुनमायाको थियो।
शव फेला परेपछि जुनमायाका बुवाले माओवादीबाट जितेका सिंह, पूर्ववडाध्यक्ष बुढा मगरसहित ६ जनाविरूद्ध जाहेरी दिएका थिए। अपहरणपछि हत्या गरेको भन्दै पीडित परिवारले जाहेरी दिएका थिए।
त्यसैको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।