यौन हिंसाविरूद्ध सेतोपाटी संवाद
यौन हिंसाविरूद्ध सेतोपाटी संवादको यो दोस्रो श्रृंखलामा हामीले काठमाडौंको बालाजुस्थित तरूण माध्यमिक विद्यालयका दस जना विद्यार्थीसँग कुराकानी गरेका छौं।
यौन दुर्व्यवहारबारे उनीहरूलाई के थाहा छ? समाजमा भइरहेका बलात्कार र यौन हिंसाका घटना सुनेपछि उनीहरूको मनमा कस्ता भावना आउँछन्? यसबारे कोसँग कुराकानी हुन्छ?
यस्ता प्रश्नमाथि हामीले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरूसँग छलफल गरेका छौं।
छलफल क्रममा तीन जना विद्यार्थीले यसअघि आफूले पढेका विद्यालयमा साथीभाइले भोगेका दुर्व्यवहारका घटना सम्झेका थिए।
कक्षा १० की अनुष्का न्यौपानेले आफू सानो हुँदा भोगेको अनुभव सुनाइन्।
त्यो बेला उनी पढ्ने विद्यालयका केटा विद्यार्थीले एलकेजी पढ्ने केटीहरूको फ्रक तान्ने, हात समात्ने र जथाभाबी छुने गर्थे। साना बालिकाहरूलाई हैरान पार्थे। अनुष्काले शिक्षकहरूसँग गुनासो पनि गरे तर कसैले पत्याएनन्।
'शिक्षकहरूले कहाँ यति सानो बच्चाले पनि त्यस्तो गर्छ, यस्तो कुरा नगर भन्नुभयो,' उनले भनिन्, 'त्यस्तो व्यवहार देखाएका बच्चाहरूलाई त यो राम्रो काम होइन भनेर ज्ञान पो दिनुपर्छ। अहिले पनि मलाई त्यो घटना सम्झँदा डर लाग्छ।'
अनुष्काले अगाडि भनिन्, 'मलाई घरमै पनि सुरक्षित छु कि छैन जस्तो हुन्छ। बाहिर हिँड्दा मान्छेहरूले सिटी बजाउँछन्। ट्रकमा भएकाले बोलाउँछन्। दिउँसै त बाटो हिँडदा यस्तो डर हुन्छ, राति त हुने नै भयो।'
कक्षा १० मै पढ्ने विजय लामिछानेले पनि यसअघिको स्कुलमा भएको घटना सम्झिए।
त्यो बेला उनी ७ कक्षा पढ्थे। कम्प्युटर प्रयोगशालामा जाँदा सरले आफ्नी केटी साथीलाई विभिन्न बहानामा छाती, हात लगायत अंगमा छुने गरेको उनले बताए।
'साथीले त्यो कुरा सुनाएपछि हामी सबै स्कुलका शिक्षिकाहरूलाई भेट्न गयौं। उहाँहरूलाई सरको व्यवहारबारे बताउँदा पत्याउनुभएन। उल्टै हामीलाई चुप लगाउनुभयो,' विजयले भने, 'तिमीहरूजस्तो त उहाँको छोरी छ। त्यस्तो उहाँले कहाँ गर्न सक्नुहुन्छ! सामान्य टच गर्न पनि नहुने त होइन होला।'
'भोलिपल्ट हामीले कक्षामा होहल्ला गरेर त्यो सरलाई आउनै दिएनौं,' उनले भने।
त्यसपछि प्रधानाध्यापक आएर विद्यार्थीहरूलाई सम्झाए, 'यो कुरा यहीँ राखौं। बरू तिमीहरूले भनेझैं त्यो शिक्षकलाई निकालिदिन्छौं। तर यो कुरा आफ्ना अभिभावकलाई पनि नभन्नू, स्कुलको बेइज्जत हुन्छ।'
विजयले त्यसै वर्षबाट उक्त स्कुल छाडे।
पछि उनले थाहा पाए, ती स्कुललाई स्कुलले निष्कासन गरेको होइन रहेछ। केही दिन विदामा राखेको रहेछ।
'अब त्यस्तो मान्छेबाट विद्यार्थी सुरक्षित होलान् त?' उनले भने, 'त्यस्तो मान्छेलाई त सजाय पो हुनुपर्ने हो! मेरी बहिनी त्यहीँ पढ्दैछे। उसलाई सरले त्यस्तै गर्ला कि भनेर मलाई सधैं डर लाग्छ।'
कक्षा ९ की रश्मी केसीले आफूले यसअघि पढेको स्कुलमा सिनियर दिदीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सुनाइन्।
'म तीन-चार कक्षा पढ्दाको कुरा हो। एक जना राम्रै टिचर हुनुहुन्थ्यो। हामी बच्चाबच्चीहरू उहाँको हात समातेर हिँड्थ्यौं। तर पाँच कक्षाको दिदीलाई त उहाँले प्राइभेट पार्टहरूमा छुने अनि त्यस्तै खाले कुरा गर्न खोज्नु हुँदो रहेछ। त्यो दिदीले सबै विद्यार्थीलाई भन्नुभयो अनि विद्यार्थीले सरहरूलाई भने। यस्तो टिचरलाई निकाल्नुपर्छ भन्ने कुरा हुँदा प्रिन्सिपलले कुरा दबाउन खोज्नुभयो,' रश्मीले भनिन्, 'त्यो शिक्षकलाई क्लासमा पढाउन नदिए पनि अफिसको काम गर्न दिऊँ भन्नुभयो।'
त्यसपछि भने आफूलाई पुरूष शिक्षकहरूको नजिक जानै डर लाग्न थालेको उनले बताइन्।
'त्यत्रो सबै मिलेर भन्दा त सजाय भएन,' उनले भनिन्, 'आफूमाथि पनि केही हुने होइन भन्ने डर लागेर आयो।'
छलफल क्रममा केही विद्यार्थीको यस्तो अनुभव सुनेपछि त्यहाँ उपस्थित सबैले आफूलाई पनि डर लाग्ने गरेको बताए। छात्रहरूले भने आफ्ना दिदीबहिनीमाथि यस्ता घटना हुन्छन् कि भनेर डर लागिरहने अनुभव सुनाए।
कतिपय छात्राले यस्ता घटनाबाट बच्न आमाबुवाले आफूहरूलाई राति नहिँड्न सिकाउने गरेको बताए। कसैले शरीरमा छोए, हैरान गरे वा अन्य किसिमको यौन दुर्व्यवहार गरे आफूलाई आएर भन्नू भनेर अभिभावकले सिकाउने गरेको उनीहरू बताउँछन्।
यौन दुर्व्यवहार र बलात्कारका घटना हुँदा प्रहरीलाई भन्नुपर्छ भन्ने थाहा छ कि छैन भन्ने हाम्रो प्रश्नमा कतिपयले थाहा छ भन्ने उत्तर दिए। कतिपयले भने प्रहरीले केही नगर्ने उदाहरण सुनाए।
कक्षा ९ का ईश्वर तामाङले आफ्नी आमाले टोलमा दुर्व्यवहारका घटना हुँदा वा अरू घटना हुँदा प्रहरीलाई बोलाउने गरेको तर प्रहरी दुई-तीन घन्टापछि मात्र आएको देखेका छन्। त्यसैले प्रहरीप्रति त्यति विश्वास नभएको उनी बताउँछन्।
अरू विद्यार्थीले पनि यस्ता घटनामा दोषीले सजाय पाएको उदाहरण कम सुनेको बताए।
सबैजसो बालबालिकाले विभिन्न पत्रपत्रिका, अनलाइन, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा यौन दुर्व्यवहार र बलात्कारका घटनाबारे खबर पढ्ने गरेको सुनाए।
भिडिओ: सुसन चौधरी/सेतोपाटी
उनीहरूसँगको पूरा कुराकानी भिडिओमा हेर्नुहोस्:
यो पनि हेर्नुहोस्: