निम्न वर्गीय परिवारका दर्शन शाही कक्षा १२ को परीक्षा दिएर नतिजा पर्खेर बसेका थिए।
भर्खरै सकिएको परीक्षाको नतिजा आउन केही समय लागिहाल्थ्यो। नागरिकता लिने उमेर पुगिसकेकाले नतिजा आउनुअघि यो बीचमा नागरिकताको प्रमाणपत्र लिने उनको योजना बन्यो।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ का दर्शन आफ्नो नागरिकता बनाउन गाउँपालिकाबाट आवश्यक पर्ने सिफारिस लिन बिहीबार सुर्खेतबाट गाउँतिर लागे। उनकी आमा कालिका शाही पनि उनको साथमा गएकी थिइन्।
बिहीबार बेलुका सुर्खेतबाट जुनीचाँदे गाउँपालिका गएको कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीपमा उनीहरूसहित ११ जना सवार थिए।
अगाडि सडक जोखिमपूर्ण भएपछि बिहीबार राति छेडागाड नगरपालिकामा पर्ने रादेउमा जीपमा सवार सबै बास बसे।
शुक्रबार बिहान जीप आफ्नो गन्तव्यतर्फ लाग्यो। बिहान ८ बजेतिर खबर आयो, सुर्खेतबाट आएको जीप दुर्घटनामा पर्यो।
दर्शनकै गाउँनजिक भएको जीप दुर्घटनामा सवार उनको घटनास्थलमै मृत्यु भयो। साथमा गएकी आमा कालिकाको पनि नजिकको अस्पताल लैजाने क्रममा मृत्यु भयो। उनीहरूसहित जीपमा सवार तीन जनाको मृत्यु भएको छ। घटनाले दर्शन र कालिकाको गाउँ नै भावविह्वल छ।
दुर्घटनामा ८ जना घाइतेमध्ये ५ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको थियो।
सवारी दुर्घटनामा मृत्यु भएपछि १७ वर्षीय दर्शनले आफ्नो नागरिकताको प्रमाणपत्र लिन पाएनन्।
‘अब परीक्षा सकिएर बसेको, यही मौकामा नागरिकता पनि बनाइहाल्छु भनेर बाबुले सिफारिस लिन आएका थिए,’ दर्शनका काका नाता पर्ने नवराज शाहीले भने, ‘बीचमा यस्तो घटना भयो, उसका सबै सपना अधुरा रहे।’
दर्शन सुर्खेतमा रहेको उषा बालबाटिका स्कुलमा विज्ञान विषय पढ्थे। पढाइमा क्षमतावान उनी भविष्यमा डाक्टर बन्ने सोचमा थिए।
‘परिवारको पृष्ठभूमि नर्मल हो, उसको पढाइको क्षमता हेर्ने हो भने भविष्यमा गज्जब हुनेवाला थियो,’ नवराजले भने, ‘पछि उसको डाक्टर नै बन्छु भन्ने योजना थियो। उसलाई क्षमता देखेर पढाउनकै लागि स्पोन्सरहरू पनि आउनुहुन्थ्यो।’
दर्शन अहिले पनि छात्रवृत्तिमा पढिरहेका थिए।
दर्शनपछि उनका भाइ छन्। भाइ पनि सुर्खेतमा पढ्थे। दुई जना छोराहरूलाई पढाउन भनेर दर्शनका बुवा नरबहादुर भारतमा काम गर्छन्। घटनापछि नरबहादुर जाजरकोट फर्किन थालेका छन्।
‘बिहान दाइसँग कुरा भएको थियो, भाइ म त नेपाल आएर अब कामै भएन भनेर रूँदै हुनुहुन्थ्यो,’ उनले भने, ‘मैले सम्झाएँ, जे हुनु भइसक्यो। अब आउनुस् भनेको छु। सायद भोलिसम्म पुग्नुहुन्छ होला।’
दर्शनकी आमा कालिका पनि प्रायः श्रीमानसँग भारतमै बस्थिन्। उनी पनि छोराहरूको भविष्यका लागि भारतमै मजदुरी गर्थिन्।
दर्शनका भाइ सुर्खेतबाट एसइई दिएर बाबासँगै भारतमा गएका छन्। उनी पनि अब बाबासँगै नेपाल फर्किंदैछन्।
उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–५ की पुतला गिरीको पनि मृत्यु भएको छ।
दैलेखको गुराँस गाउँपालिका–७ का जीप चालक टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का वर्षीय लालबहादुर बुढा, सरिता शाही, समीक्षा शाही, विपना शाही गम्भीर घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
गाडीको ब्रेक फेल भएर सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए।