कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दंग छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दंग परेका हुन्। सुरूका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन्। पूर्ववत् आफ्ना काममा उनी जुट्दै आएका छन्।
पुनः परीक्षणका लागि चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए। गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए। उनको कलेजो डा सञ्जयकुमार यादवको समूहले प्रत्यारोपण गरेको थियो।
‘कलेजोको सिरोसिस भएपछि पहिलेकै अवस्थामा फर्किन्छु भन्ने लागेकै थिएन’, शाहीले भने, ‘अहिले नयाँ जीवन पाएको अनुभव गरेको छु।’ उनले स्वास्थ्य मात्रै राम्रो पाएका छैनन्, पूर्ववत् अवस्थामा नियमित काम गर्नसक्ने भएका छन्। शाहीले भने, ‘मेरो पुनर्जन्म भएको छ। यो खालको जीवन पाउँला भन्ने सोचेको पनि थिइनँ।’
कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गरेका शाहीले अहिले फूर्तिलो मात्रै छैनन्, उनले गर्दै आएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आएका छन्। जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महुसस गर्न छोडिसकेका छन्।
‘अहिले मेरो स्वास्थ्य सोचेभन्दा धेरै राम्रो छ’, पहिलेको जस्तै सक्रिय काम गर्ने बताउँदै उनले अगाडि थपे, ‘म अहिले दिउँसो विद्यालयमा पढाउँछु, बिहान बेलुका घरमा व्यापार छ, श्रीमतीलाई व्यापारमा सघाउँछु। स्वास्थ्यका हिसाबले कुनै गारोसाह्रो परेको छैन।’
कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ ‘फेन्ट’ (चक्कर) हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उनले सुनाए। पेट फुलेर आफैंलाई लाज लाग्ने खालको भएको उनको भनाइ छ।
उनको विसं २०७८ फागुनदेखि नै कलेजोमा समस्या देखिएको थियो। त्यसपछि भारतको लखनउ गएर तीन पटकसम्म परीक्षण गराएका शाहीले जाजरकोटबाट १५–१५ दिनमा लखनउ जानुपर्ने बाध्यता थियो। त्यहाँको चिकित्सकले ८० प्रतिशत कलेजो खराब भइसकेको र औषधि खायो भने निको हुन्छ भन्ने गरेको उनले स्मरण गरे।
गत वर्ष लकडाउन भएपछि भारत जान नसकेपछि उनी नेपालगञ्जको मेडिकल कलेजमा परीक्षण गराए। त्यहाँको चिकित्सकले कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्यो भने बाँच्न सकिने नत्र बाँच्ने सम्भावना कम भएको बताएपछि उनी काठमाडौंहुँदै चितवन आइपुगेका थिए।
काठमाडौंको टिचिङ अस्पतालमा केही समयसम्म परीक्षण गराएर छिटो प्रत्यारोपणका लागि उनी चितवन मेडिकल कलेजमा आइपुगेका थिए। ‘प्रत्यारोपण गर्नुपूर्व कतै श्रीमान् श्रीमती दुवै जना अप्ठ्यारोमा पर्छाै कि? वा एक जनालाई कुनै अप्ठ्यारो हुन्छ वा जटिलता आउँछ कि? भन्ने डर लागिरहेको थियो’, उनले भने, ‘अरूको भन्दा पनि मेरो केस जटिल थियो। चिकित्सकले ९० प्रतिशत सफल हुन्छ, १० प्रतिशत फेल पनि हुनसक्छ भन्नुभएको थियो।’
आफूले जसरी भए पनि प्रत्यारोपण गरिदिनुहोस् भनेर चिकित्सकलाई अनुरोध गरेको उनले बताए। ‘अहिले हामी दुवै जना खुसी जीवन बिताइरहेका छौं’, उनले भने।
उनको प्रत्यारोपणपछि गाउँपालिकाले पाँच लाख उपचार खर्च दिने नियम नै बनाएको छ। सोहीअनुसार आफूले पनि पाँच लाख सहयोग पाएको उनले जानकारी दिए। साथीभाई, इष्टमित्रको सहयोगबाट खर्च जुटाएर कलेजो प्रत्यारोपण गराएको उनले बताए।
आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उनको योजना छ। कलेजो बिग्रिएकालाई समयमै प्रत्यारोपण गर्न उनको सुझाव छ। ‘समयमै प्रत्यारोपण गरियो भने खर्च पनि कम हुन्छ। जीवन पनि सफल हुन्छ, बाच्न सकिन्छ। प्रत्यारोपण गर्न डर मान्यो भने खर्च उत्ति नै हुन्छ, परीक्षण गर्न गइरहनुपर्छ। औषधि खाइरहनु पर्छ’, उनले भने।
डा यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउँछन्। ‘कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस हुनुपर्ने अवस्था छ, रगतमा प्लेटलेसको सङ्ख्या कम छ र ७० देखि ८० प्रतिशत कलेजो ड्यामेज (खराब) भइसकेको छ भने त्यस्ता व्यक्तिको ६ महिनादेखि २ वर्षको आयु हुन्छ’, त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरियो भने भरतविक्रम शाहीजस्तै सामान्य जीवनमा फर्किन सक्ने उनले बताए। ‘स्वास्थ्य मात्रै सामान्य होइन, कि आफ्नो काम र पेसामा नियमित जान सकिन्छ’, उनले भने।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हालसम्म ६ जनाको कलेजो प्रत्यारोपण गरिएको बताए। प्रत्यारोपणका लागि विदेश जानु नपर्ने भन्दै उनले विश्वका अन्य मुलुकमा भएका आधुनिक प्रविधि र उपकरणसहितको दक्ष चिकित्सक आफ्नो कलेजमा भएको दाबी गरे। रासस
यो पनि हेर्नुहोस्