एकदिन दुई युवती हतार हतार उनको छेउमा आए। ती उनकै शिष्या थिए।
'गुरू आज हामीले केही केटाहरूलाई पुलिसको जिम्मा लगाएर आयौँ,' शिष्यामध्ये एउटीले सुनाइन्।
'के भयो?' उनी आत्तिए।
'जबरजस्ती गर्न खोज्दै थिए। अनि हामीले किन छोड्थ्यौँ?' उनीहरूले भने। त्यसपछि घटना बेलिविस्तार लगाए। उनी मुसुमुसु हाँस्दै सुने अनि ढुक्क भएर भने - राम्रो गर्यौ।
उनी हुन् धनगढीका प्रकाश चन्द। उनले किशोरी र युवतीलाई आत्मरक्षा सम्वन्धी प्रशिक्षण दिन्छन्। ती दुई युवती यही प्रशिक्षण पाएका-लिएका मध्ये थिए।
किशोरी तथा महिलाले आफूमाथि कसैले केही गरे त हामी अब डराएर चुप लागेर बस्दैनौं, प्रतिकार गर्न सकेका छौं’ भन्ने सुनाए भने चन्द मख्ख पर्न थालेका छन्। आफ्ना शिश्यहरूले सुनाएको त्यो दिनको खबरले उनलाई खुसीमात्र बनाएको थिएन थप जिम्मेवारी पनि महसुस गराएको थियो।
खासमा चन्द राष्ट्रिय कराते खेलाडी हुन्। २०६० साल यता उनी रेफ्रीको भूमिकामा छन्।
राष्ट्रिय खेलकुद परिषदमा सहायक प्रशिक्षक रहेर करारमा काम गरिरहेका उनी अन्तर्राष्ट्रियस्तरको रेफ्री हुन्। उनले राष्ट्रिय, अन्तराष्ट्रिय तथा आमन्त्रित प्रतियोगितामा दुई दर्जन बढी स्वर्ण पदक जितेका छन्।
अहिले भने चन्द एक कुशल कराँते प्रशिक्षकका रुपमा परिचित छन्। उनले अहिलेसम्म ५० हजार बढीलाई कराँते प्रशिक्षण गराइसकेको बताउँछन्। आफूले प्रशिक्षण गराएका कयौं खेलाडीहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा चिनिएर मेडल पाउँदा आफू उसैगरि मख्ख पर्ने उनले बताए।
विगतमा कराँतेका लागि मात्रै प्रशिक्षण गराउने उनी पछिल्लो तीन वर्ष यता एउटा सामाजिक अभियानमा जुटेका छन्। उनको त्यो सामाजिक अभियान हो- ‘महिला तथा किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्नु।’
यस्तो अभियानमा उनी जुटेको छिमेकी जिल्ला कन्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले गर्दा हो।
साथीको घरबाट घर फर्किँदै गर्दा बलात्कारमा परेर हत्या गरिएकी पन्तको हत्यापछि दैनिक सडकमा उनको न्यायको लागि कयौं मान्छेहरू उत्रिएका थिए। यो दृश्यले उनको मन भारी भइरहन्थ्यो। प्रहरीले हत्यारा पत्ता लगाउन सकेन अहिले पनि सकेको छैन। त्यो घटनापछि यस्तो अरूलाई नहोस् भन्ने उनी चाहन्थे।
यस्ता घटनाबाट आत्मरक्षाको तालिमले केही त सहयोग पुर्याउँछ भन्ने उनलाई लाग्छ।
निकै समय पिरोलिएपछि उनले एक दिन निधो गरे- अब छोरीहरूलाई प्रशिक्षण दिने अभियान चलाउँछु। आफूले सिकेको ज्ञान समाजका छोरीहरूलाई सिकाउँछु।
‘निर्मला मात्र नभई धेरै बालिका, किशोरी र महिलाहरू पनि बलात्कृत भएका, हिंसामा परेका, हत्या भएका घटना सुनिन्थे, त्यसैले मलाई आत्मरक्षा तालिम दिनुपर्ने सोच मनमा जाग्यो,’ उनले भने।
उनका अनुसार कराँते सेल्फ डिफन्सको एक पाटो हो। खेलले आत्मविश्वास ल्याउँछ। त्यही आत्मविश्वास समाजका छोरीहरूमा आवश्यक छ।
उनले यो अभियानबारे अन्य महिला तथा बालबालिकाबारे सरोकार राख्ने निकायसँग पनि छलफल गरेका थिए। अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने बतायो। यस्तै, धनगढी उपमहानगरपालिका र अन्यसंघसंस्थाले पनि सहयोग गरेपछि धनगढीबाट उनले यो अभियान सुरू गरे।
त्यसपछि २०७८ सालमा धनगढीको रंगशालामा ७ दिने आत्मरक्षा तालिम प्रदान गर्ने कुरा भयो।
उक्त तालिममा प्रदेशका विभिन्न जिल्लाबाट किशोरी तथा महिलाहरू सहभागी बने।
'हामीले एक हजारलाई तालिम दिने सोचेका थियौँ, तालिममा एक सातामा २ हजार २ सयबढी सहभागी भए,’ उनले भने।
तालिममा शारीरिक र मनोवैज्ञानिक रूपमा आत्मरक्षा कसरी गर्ने भन्ने कुरा सिकाइएको थियो।
‘सुरूमा प्रशिक्षण दिँदा थाहा पाएँ छोरीहरूलाई त असल छुवाई र खराव छुवाई के हो भन्ने पनि थाहा रहेनछ। उनीहरूलाई खराब छुवाइ हुँदा महसुस हुने भए पनि यो खराब छुवाइ हो मैले प्रतिकार गर्नुपर्छ भन्ने थाहा थिएन,' उनले सेतोपाटीसँग भने, 'हिंसाबाट कसरी बच्ने, कसरी प्रतिकार गर्ने भन्ने कुराको ज्ञान हुने त कुरै भएन।'
असल र खराब छुवाई छुट्टाउन सिकाउनेदेखि प्रतिकारसम्म कसरी गर्ने भनेर सिकाए। अहिले आफ्नो प्रशिक्षण पाएकामध्ये धेरै महिला बलिया भएको उनको दाबी छ।
‘केही समयको प्रशिक्षणपछि समस्यामा परेकाले प्रतिकार गरेर ठूल्ठूला व्यक्तित्वहरू समेतलाई कानूनी दायरमा ल्याउन सफल भए, यो साहस छोरीहरूले मेरो प्रशिक्षणबाट मिलेको जस्तो लाग्छ,' उनले भने।
त्यसपछि चन्दले यो अभियानलाई प्रदेशभरमात्र नभई देशभरि सञ्चालन गर्ने तयारी गरे। तयारी सकेर उनी कर्णाली प्रदेश, बाग्मती प्रदेशका सयौं किशोरी तथा महिलालाई आत्मरक्षा ज्ञान बाँडे।
सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तह, सामुदायिक विद्यालयमा गएर सञ्चालन गरेको उनको अभियानबाट अहिलेसम्म २२ हजार महिलाले आत्मरक्षा तालिम प्राप्त गरिसकेका छन्।
उनले अहिले ‘प्रहार’ नामक संस्था नै चलाएका छन्। यो संस्थाले किशोरी मात्र होइन किशोर र यूवाहरूलाई पनि यौन दुर्व्यवहारविरूद्धका कक्षाहरू दिलाउँछन्।
‘हामी महिलालाई मात्र होइन किशोर तथा यूवाहरूलाई पनि राम्रो/नराम्रो छुवाई के हो, दुर्व्यवहार के हो बलात्कार के हो र यी सब कुरा किन अपराध हुन् र गर्न हुँदैन भनेर सचेत गराउने क्लासहरू दिन्छौं। महिला तथा विज्ञ टोली लगेर कानून पनि सिकाउँछौं,' उनले भने।
अभियानमा प्रशिक्षण पाएकामध्ये कतिपयले त अहिले अरूलाई पनि प्रशिक्षण दिने गरेका छन्।
उनको संस्थाले सरकारी स्कुलमा पढ्ने, अपांग, अति विपन्न, एचआइभी संक्रमित, हिंसामा परेकालाई पनि सचेत र आक्रमणबाट बचाउन आत्मरक्षा तालिम दिने गरेको छ।
‘हाम्रो अभियान जारी छ, यो अभियानले केहि हदसम्म भए पनि समाजमा हुने जघन्य अपराधबाट छोरीहरू बँच्न सकुन् भन्ने मेरो चाहाना छ,’ उनले भने।
स्थानीय तहहरूले आफ्ना विद्यालयमा किशोरीहरूलाई आत्मरक्षा तालिम दिने र किशोरलाई गलत गर्नु हुँदैन भन्ने सचेतना क्लास दिलाउने काम गर्नुपर्ने बताए। स्थानीय तहले यस्ता कार्यक्रम ल्याए समाजमा हुने अपराध कम मात्रामा हुने उनको विश्वास छ।
चन्द यही विश्वासका साथ अहिले पनि दैनिक आत्मरक्षा तालिम प्रदान गरिरहेका छन्।
धनगढीकी देवकी कुँवरलाई असल र खराब छुवाई के हो भन्ने समेत पत्तै थिएन। अब भने उनी कसैले आक्रमण गरिहाले फाइट गर्न सक्ने भएको बताउँछिन्।
‘मलाई गुडटच, ब्याडटचको बारेमा थाहा थिएन, तालिममा धेरै कुरा सिक्न पाएकी छु, कसैले मलाई आक्रमण गरिहाले त्यहीबेला फाइट गर्न सक्ने मनोवल पनि पाएकी छु,’ उनले भनिन्।
आफूमाथि भएको जुनसुकै किसिमको हिंसालाई तुरुन्तै प्रतिकार गर्न सके महिला र किशोरीदेखि अपराधीहरू डराउने उनको भनाई छ ।
‘आत्मरक्षा तालिम विद्यालयमा प्रदान गर्न सके अझ धेरै हामी जस्तै सचेत बन्ने सक्छन्,’ उनले भनिन्, 'हामी बलिया भयौं भने अपराधी डराउलान्।'