दाङको तुलसीपुरमा पहिलो पटक साइकल यात्रुका लागि साइकल लेन निर्माण गरिएको छ ।
काठमाडौं, ललितपुर, पोखरा पछि दाङको तुलसीपुरमा छुट्टै साइकल लेन निर्माण गरिएको हो।
युएनडिपीको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले पोखराबाट आएर तुलसीपुरमा छुट्टै साइकल लेन बनाइदिएको हो।
राप्ती राजमार्गबाहेक तुलसीपुरको मुख्य बजारका विभिन्न सडकमा साइकल लेन निर्माण गरिएको छ। राजमार्गमा साइकलको छुट्टै लाइन निर्माण गर्दा सडक डिभिजनबाट अनुमति आवश्यक पर्छ ।
तुलसीपुरको घोराही चोकदेखि त्रिशिद्देश्वरी मन्दिर हुँदै मदन आश्रित चोकसम्म, गुप्त मेडिकलदेखि १९ नम्बर बाहिनी चोकसम्म, तुलसीपुरका ‘ख’ र ‘ग’ लाइन जोड्ने भित्री सडकलाई साइकल अंकित चिन्ह राखेर छुट्याइएको छ।
त्यसरी छुट्याइएको लाइन साइकल यात्रुका लागि मात्रै हुनेछन्। साइकल कुदिरहँदा अन्य सवारी साधान उक्त क्षेत्रमा गुड्न वा पार्किङ गर्न पाइने छैन।
दाङ साइकल सिटीका उपाध्यक्ष तथा तुलसीपुर साइकल सिटीका अध्यक्ष खुमबहादुर न्यौंपानेले लामो समयदेखिको आफू जस्ता साइकलप्रेमीको प्रयासले सानो आकारमा भए पनि सार्थकता पाएको भन्दै खुसी साटे।
तुलसीपुरका यसअघिका मेयर घनश्याम पाण्डेकै समयमा तुलसीपुर बजार क्षेत्रमा पाँच किलोमिटर सडक साइकलका लागि छुट्टाइएर साइकल लेन निर्माण गर्ने सहमति भएको थियो । उपमहानगरपालिकाले थप तीन किलोमिटर सडकमा डेडिकेटेट लाइन निर्माण गर्ने निर्णय गरेको छ।
तर, उपमहानगरपालिकाले आफूसँग डेडिकेटेट लाइन निर्माण गर्न आवश्यक बजेट नभएको भन्दै आफ्नो भागमा परेको तीन किलोमिटर सडकमा साइकल लेन निर्माण गरेको छैन ।
‘उपमहानगरपालिकाले हामीलाई केही निराश बनाएको छ,’ अध्यक्ष न्यौंपानेले भने, ‘स्थानीय सरकारनै नगरबासीलाई साइकल चलाउन उत्साहित गर्न लागेको देखिएन।’
तुलसीपुरका मेयर टीकाराम खड्काले केही दिन पहिले मात्रै बिजौरी उद्योग बाणिज्य संघको कार्यक्रमलाई सम्बोधन अघिल्लो सरकारले झन्डै ३० करोड ऋणको भार थोपरेको हुँदा विकास प्रभावित हुनसक्ने चिन्ता ब्यक्त गरेका थिए।
‘अघिल्लो सरकारले लगाएको ३० करोड ऋण नै छ, ३५ करोड राजश्व उठ्ला,’ मेयर खड्काले भनेका थिए, ‘अब आफैं भन्नुहोस् बचेको पाँच करोडले के-कस्ता काम गर्न सम्भव होला?’
पछिल्लो समय साइकल वातावरणमैत्री हुनुका साथै शारीरिक अभ्यासका लागि चलाउने जमात दाङमा बढ्दै गएको छ। तुलसीपुर र घोराही उपमहानगरपालिकामा मात्रै करिब एक सय बढीले नियमित साइकल चलाउने गरेको जिल्ला उपाध्यक्ष न्यौंपानेले दाबी गरे।
‘साइकल चलाउँदा फाइदै फाइदा छन्,’ अर्का साइकिलिष्ट पर्बत बस्नेतले भने, ‘साइकल चलाउने ब्यक्तिको स्वास्थ्य राम्रो हुने मात्रै होइन, यसले डिजेल र पेट्रोलको खपत नगर्ने हुँदा कार्वन उत्सर्जन जस्ता कुनै पनि वातावरणीय असर गर्दैन।’
बजार क्षेत्रमा करिब दुई किलोमिटर सडकमा साइकल चालकको सुविधालाई मध्यनजर गर्दै डेडिकेटेट लाइन निर्माण गरिएपछि यहाँका साइकलिष्टहरू उत्साहित छन्।
आफूजस्ता साइकल चालकको आग्रह सुनेर ढिलै भए पनि तुलसीपुरमा डेडिकेटेट लाइन निर्माण गरिनुलाई सकारात्मक कदम मान्न सकिने साइकलिष्ट तथा निजामति कर्मचारी रश्मी अधिकारीले बताए।
‘यसअघि साइकल चालकका लागि तुलसीपुरका सडकमा कुनै यस्तो नोटिस थिएन,’ उनले भने, ‘यसले ठूला सवारी साधन जत्तिकै साइकलिष्ट तथा सर्वसाधारण साइकल चालकको पनि सडकमा समान अधिकार हुन्छ भन्ने मान्यता स्थापित गरिदिएको छ।’
सडकमा हरियो पोतेको वा साइकलको चिन्ह देख्न थालेपछि त्यसले सर्वसाधारणमा पनि साइकल प्रतिको मोह र आवश्यकता बढ्न सक्ने उनले बताए ।
‘हामी दैनिक लागि साइकल चलाउने साथीहरू खुसी छौं नैं,’ उनले भने, ‘गाउँ घरबाट आउने सर्वसाधारण नागरिकले पनि डेडिकेटेट लाइनमा मात्रै साइकल कुदाउन थालेका छन्।’
डेडिकेटेट लाइन भएपछि ठूला सवारी साधनबाट पेलिने, हेपिने वा दुर्घटनामा पर्न सक्ने जोखिम कम हुने अधिकारीले जिकिर गरे।