जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि तत्कालीन राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ।
त्यसैको पछाडि राजा सिद्धिनरसिंह मल्लको समयको पौभाः चित्र राखिएको छ। हरेक वर्ष ज्या पुन्हीका दिन सिंहासन र पौभाः चित्रसँगै कृष्ण मन्दिर अगाडि परम्परागत भजन सुन्न पाइन्छ।
करिब चार सय वर्ष पुरानो उक्त भजन राजा सिद्धिनरसिंहले लेखेका हुन्। गीतको पछाडि सिद्धिनरसिंहको नाम आउने हुनाले उनले लेखेको भनेर चिन्न सजिलो भएको भजन खलःमा आबद्ध मानिसहरू बताउँछन्। उनका प्रायः भजनमा कृष्ण महिमा, प्रकृति उपासना र नारीको वर्णन छ।
पौभा: चित्रमा कृष्णकै चित्र बढी कुँदिएका छन्। त्यसबेलाको पहिरन र समाजको झल्को पनि आउँछ। ती चित्र मिथिला सभ्यताबाट प्रेरित छ।