काठमाडौं उपत्यकालगायत देशभरका ठूला सहरहरूमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गरिने भएको छ।
सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहोर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरूसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाक्रीले ठूला सहरहरूमा फोहोरमैला व्यवस्थापन समस्याका रूपमा रहेको बताइन्।
व्यक्तिले फोहोर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धित पैसाबाट नै गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताइन्।
फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भएको र दुई स्थानीय तहको निर्वाचन भए पनि अहिलेसम्म ठूला सहरमा समस्या ज्यूँका त्यूँ भएको उनको भनाइ थियो।
उनले भनिन्, ‘अहिले हामीले समन्वय गरेर फोहोर व्यवस्थापनमा लागेका छौँ।’
मन्त्रिपरिषद्ले स्थानीय तहमा फोहोरमैला व्यवस्थापनमा प्राविधिक सहायता उपलब्ध गराउन मन्त्रीको अध्यक्षतामा फोहोरमैला व्यवस्थापनका लागि प्राविधिक केन्द्र बनाएको छ।
कुन फोहोरलाई कसरी विसर्जन गर्ने भनी सहायता गर्ने उद्देश्य रहेको सो केन्द्रको सङ्गठन र व्यवस्थापन (ओएन्डएम) बन्ने क्रममा रहेको उनले जानकारी दिइन्।
मन्त्रालयले बञ्चरेडाँडामा निर्माण गरेको फोहोर व्यवस्थापन केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरिने र स्थानीयवासीका समस्या समाधन गर्दै अघि बढ्न आफूले समन्वय गरिरहेको मन्त्री झाक्रीले बताइन्।
नुवाकोटको सिसडोलमा दुई वर्षका लागि बनाइएको ठाउँमा १७ वर्षसम्म फोहोर फाल्दा समस्या आएको जनाइएको छ।
यस्तै स्थानीयवासीको स्वास्थ्य लगायतका समस्या समाधानमा लागिएको जनाइएको छ। नास्टको अध्ययनका आधारमा गन्ध हटाउन महानगरपालिकाले काम गर्ने छ।
उनले भनिन्, ‘अहिले १० शय्याको अस्पताल बनाउन ठाउँ खोजिएको छ, एक महिनामा कहाँ बनाउने भनी अध्ययन सकिनेछ।’
बञ्चरेडाँडामा निर्माण सुरू गरिएको भए पनि विभिन्न कारणले सुस्त रहेको ‘ल्यान्डफिल साइट’ को निर्माण समस्या समाधान गरेर अघि बढाइएको छ । असारसम्ममा सोसम्बन्धी निर्माण सम्पन्न गर्न लागिएको उनले जानकारी दिइन्।
विगतमा सरकारले स्थानीयवासीसँग सम्झौता धेरै गरे पनि कार्यान्वयन नहुँदा पटक पटक फोहोर व्यवस्थापनमा कठिनाइ भएको छ।
अहिले फोहोरमैला व्यवस्थापनकै लागि सडक स्तरोन्नति गर्ने र फोहोर बोक्ने डेडिकेडेट सडक बनाउने जनाइएको छ। बञ्चरेडाँडामा सिसडोलको कथा दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाक्रीको प्रतिवद्धता छ। रासस