दैलेखको नौमुले बजारका व्यवसायी विक्रम हमाल बारम्बार बिजुली अवरूद्ध हुने समस्याले हैरान छन्।
नौमुलेमा उनका धेरै वटा पसल छन् जहाँ छुट्टाछुट्टै वस्तु र सेवा उपलब्ध हुन्छ।
विक्रमको इलेक्ट्रोनिक सामानको पसल र फोटो स्टुडियोमा अन्य पसलमा भन्दा बढी विद्युत खपत हुन्छ। बारम्बार विद्युत अवरूद्ध हुँदा यी पसलमा काम नै रोकिन्छ।
‘दिनहुँ बिजुली अवरूद्ध भइदिँदा कामै रोकिन्छ,’ विक्रम भन्छन्, ‘हामी विद्युत गृह भएको ठाउँका मानिस हौँ, तै पनि जिल्लामा अन्यत्रभन्दा यहाँ बिजुलीको समस्या धेरै छ।’
बेला-बेलामा बिजुली जाने, कहिले दिनभरि बिजुली नआउने र एक दिनभन्दा बढी नआउने समस्याले नौमुलेका अर्का व्यवसायी रमेश गहतराज पनि दिकदार छन्।
उनले वैकल्पिक ऊर्जाको व्यवस्था पनि गरेका छन्।
बिजुलीभन्दा वैकल्पिक ऊर्जा बढी प्रयोग हुने गरेको उनको भनाइ छ।
रमेश भन्छन्, ‘दैलेखमा अन्तभन्दा नौमुलेमा विद्युतको समस्या बढी छ। हावाहुरी चल्यो, पानी पर्यो भने दुई–तीन दिनसम्म पनि बिजुली आउँदैन।’
दैलेखको नौमुले त्यस्तो ठाउँ हो, जहाँ कर्णाली प्रदेशभरमा सबैभन्दा पहिले राष्ट्रिय प्रसारणमा योगदान गरेका विद्युत आयोजना छन्।
नौमुलेमा सञ्चालनमा रहेका दुई वटा आयोजनाबाट ८ दशमलव ५५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जान्छ।
कर्णालीबाट राष्ट्रिय प्रसारण लाइनमा योगदान गर्ने आयोजना यी दुइटा मात्र हुन्।
‘यहाँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको विद्युत आयोजना भएर के गर्नु, हामीलाई बिजुलीको समस्या विगतदेखि उस्तै छ,’ विक्रम भन्छन्, ‘यहाँको विद्युत देशभर खपत हुन्छ, हामी भने बारम्बार लोडसेडिङ भोगिरहेका छौँ। कहिलेकाहीँ त दुई–तीन दिनसम्म बिजुली नआउनेगरी बन्द भइदिन्छ।’
उनका अनुसार कहिलेकाहीँ त विद्युतकै समस्याले नौमुले र आसपासका बिरामीले समयमै स्वास्थ्य सेवासमेत पाउँदैनन्।
विक्रम भन्छन्, ‘यहाँ त कयौं समय भिडिओ एक्सरे गर्न आएका बिरामीहरू बिजुली नभएर दुई–तीन दिनसम्म पर्खिनुपर्छ, बिजुली आएपछि मात्र बिरामीको समेत उपचार हुने अवस्था छ।’
नौमुलेका मात्र होइन, कर्णाली प्रदेशमा राष्ट्रिय विद्युत प्रसारण खपत गरिरहेका सबै उपभोक्ताहरू बिजुली अनियमित हुने समस्याले आजित छन्।
अहिले कोहलपुर–सुर्खेत प्रसारण लाइनमार्फत् कर्णालीका सात जिल्लाका सदरमुकाम र आसपासमा विद्युत पुगेको छ। कम क्षमता भएको र भरपर्दो संरचना नभएकाले कर्णालीमा विद्युत उपभोग गरिरहेकाहरूले हैरानी खेप्नुपरेको छ।
कर्णाली प्रदेशमा थुप्रै जलविद्युत आयोजना छन्। डोल्पाको जगदुल्ला जलविद्युत आयोजना, जाजरकोटको नलगाड जलविद्युत आयोजना, दैलेखको माथिल्लो कर्णाली, कर्णालीको फुकोट र सुखेतको बेतानलगायत कर्णालीका ठूला क्षमताका आयोजना हुन्।
यी आयोजनामध्ये केही लामो समयदेखि चर्चामा छन्। केही आयोजनाको कामै सुरू भएको छैन। केही आयोजना सुरू भएर बीचैमा काम रोकिएका छन्। केहीमा काम गति सुस्त छ।
जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको कर्णालीमा ठूला आयोजनाहरू अधुरै रहे पनि नौमुलेका दुइटा साना आयोजनाले भने राष्ट्रिय प्रसारणमा योगदान गर्छन्। राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी नौमुलेमा थप दुइटा विद्युत आयोजना बन्दै छन्।
दैलेखको नौमुले गाउँपालिकामा पर्ने ‘द्वारीखोला साना जलविद्युत आयोजना’ र ‘पदमखोला साना जलविद्युत आयोजना’ बाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारणमा लाइनमा जोडिएका छन्।
द्वारीखोला हाइड्रोपावरबाट ३ दशमलव ७५ मेगावाट र पदमखोला हाइड्रो पावरबाट ४ दशमलव ८ मेगावाट विद्युत नियमित रूपमा राष्ट्रिय प्रसारण लाइनमा जान्छ।
पदमखोला जलविद्युत आयोजनाका प्लान्ट इन्चार्ज वसन्त जिसीका अनुसार द्वारीखोला र पदमखोला आयोजनाको विद्युत पदम खोलाको विद्युत गृहमा ल्याएर राष्ट्रिय प्रसारण लाइनमा पठाइन्छ।
पदम खोलाको विद्युत गृहमा रहेको ‘स्वीचयार्ड’ मार्फत् दुवै आयोजनाको विद्युत दैलेख सदरमुकाममा रहेको सब–स्टेसनमा जोडिएको छ।
नौमुलेमा बन्ने अरू दुइटा आयोजनाको विद्युत पनि पदम खोलाकै स्वीचयार्डमार्फत् राष्ट्रिय प्रसारण लाइनमा पठाइनेछ।
नौमुलेमा अन्य दुइटा विद्युत आयोजना पनि राष्ट्रिय प्रसारणमा जोडिने गरी बन्दैछन्। नौमुलेको माथिल्लो लोहोरेमा एउटा आयोजना निर्माणाधीन छ। तल्लो लोहोरे खोलामा आयोजनाको सर्वे भइरहेको छ।
अहिले सञ्चालनमा रहेको पदम खोला साना जलविद्युत आयोजनाबाट सुख्खा समयमा पाँच किलोवाटमात्र विद्युत उत्पादन हुन्छ। खोलामा पानी पर्याप्त हुँदा ४ दशमलव ८ मेगावाट उत्पादन हुने गरेको जिसीले बताए।
यस्तै द्वारीखोला साना जलविद्युत आयोजनाबाट सुख्खा समयमा ४७५ किलोवाट विद्युत उत्पादन हुन्छ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीमार्फत् निर्माण गरिएको द्वारी खोला साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २०७४ वैशाख २३ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
यो आयोजना सन् २०५० सम्म निर्माण कम्पनीले सञ्चालन गर्ने छ। त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण हुनेछ।
यस्तै, दोल्ती पावर कम्पनीमार्फत् बनाइएको पदम खोला साना जलविद्युत आयोजना २०७६ पुस ८ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। यो आयोजना सन् २०५३ सम्म निर्माण कम्पनीले सञ्चालन गर्नेछ। त्यसपछि सरकारमा हस्तान्तरण हुनेछ।
प्रदेशमा आवश्यक पर्ने विद्युतको झन्डै आधा उत्पादन आन्तरिक नै भए पनि कमजोर संरचनाका उपभोक्ताले हैरानी खेप्नुपरेको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश प्रमुख शम्भु यादवको भनाइ छ।
उनका अनुसार कर्णाली प्रदेशमा हाल अधिकतम् २० एमभिए (मेगा भोल्ट एम्पियर) विद्युत माग छ। यो माग विद्युत खपत हुने मुख्य समयको हो। अन्य समयमा १२ एमभिए विद्युत पर्याप्त हुन्छ। एक मेगा भोल्ट एम्पियर भनेको १० लाख भोल्ट एम्पियर हो।
‘कोहलपुरदेखि मुगुसम्म एउटै लाइन छ, त्यो पनि भरपर्दो संरचना छैन,’ यादवले भने, ‘यदि राम्रो संरचना हुन्थ्यो वा एउटा अवरूद्ध हुँदा अटोमेटिक अन हुने अर्को पनि प्रसारण लाइन हुन्थ्यो भने विद्युतको समस्या हुने थिएन।’
उनका अनुसार कोहालपुर–सुर्खेत ३३ केभिए (किलो भोल्ट एम्पियर) प्रसारण लाइनमार्फत् २० एमभिएभन्दा बढी नै विद्युत आपूर्ति हुन्छ।
एक किलो भोल्ट एम्पियर भनेको एक हजार भोल्ट एम्पियर हो।
विद्युत प्राधिकरणको तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्याको ४५ प्रतिशत विद्युतको पहुँचमा छ।
हुम्ला र डोल्पाको सदरमुकाममा विद्युत प्रसारण लाइन पुगिसकेको छैन। मुगुमा लाइन जोडिएको छ। मुगु चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ।
अरू सात जिल्ला सुर्खेत, रूकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, कालीकोट र जुम्लामा सुर्खेत हुँदै स्टेशनमार्फत् राष्ट्रिय विद्युत प्रसारण पुगेको छ।
दैलेखमा उत्पादन हुने विद्युत आइसोलेसन मोडमा राखेर जिल्लाभित्र वितरण गर्न मिल्ने बनाइएको छ तर त्यो प्रणालीले निरन्तरता पाएको छैन।
सुर्खेत हुँदै दैलेख पुगेको विद्युत प्रसारण लाइन बीचमा बिग्रिएमा नौमुलेको विद्युत आइसोलेसन गरी जिल्लाभित्र लाइन जोडिएको ठाउँमा दिन मिल्छ।
पदम खोला जलविद्युत आयोजनाका प्लान्ट इन्चार्ज वसन्त जिसीका अनुसार यो प्रणाली सञ्चालनको केही समयमै मुख्य ट्रान्सफर्मरमा समस्या आएपछि अन्तरजिल्ला विद्युत दिने काम निरन्तर हुन सकेको छैन।