गत सोमबार दिउँसो मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनभित्र सडक ग्राभेल गर्ने काम चल्दै थियो। पर्यटकलाई जिप सफारी गराउने बाटो बिग्रिएकाले बनाउन एक्साभेटर काम गर्दै थियो। वनका पदाधिकारीहरू कामको अनुगमनमा थिए।
एउटा रूखमुनि बसेर गफ गर्दैगर्दा सामुदायिक वनका सहसचिव जयश्वर भण्डारीको पछाडि ठूलो गर्जनसहित बाघ उफ्रियो। बाघ देखेपछि उनी कुदेर एक्साभेटरमा चढे। भाग्ने क्रममा सामुदायिक वनका अध्यक्ष वेदनिधि सुवेदी बाटैमा लडे।
धन्य! बाघले मान्छेमाथि आक्रमण गरेन। एक्साभेटरमा चढेपछि सबैले ढुक्कको सास फेरे। जीवनदान पाएको ठानेर घर फर्के।
बाघ भेटिएको ठाउँ मेघौलीको मानव बस्तीबाट करिब पाँच सय मिटरमा पर्छ। यो ठाउँ मेघौली विमानस्थलसँग जोडिएको छ।
उक्त साँझ गाउँनजिकै बाघ रहेको कुरा एक कान दुई कान हुँदै मेघौलीभर फैलियो। मंगलबार सामुदायिक वन र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरूले नजिकैको जंगलमा बाघ देखिएकाले त्यता नजान स्थानीयबासीलाई सजग गराए।
तैपनि बिहीबार दुःखद घटना भयो। बाघको आक्रमणमा परेर यही गाउँकी एक युवतीको ज्यान गयो।
बिहान ७ बजेतिर मेघौलीका महिलाहरू झोला बोकेर निउरो खोज्न जंगल पसेका थिए। यही समूहमा थिइन्, मेघौली बजारनजिकैकी २३ वर्षीया रेखा बस्नेत।
‘केही दिनअघि वनमा बाघ देखिएको हल्ला सुनेका थियौं। त्यही थाहा पाएर होला वन पुग्ने बेलामा रेखाले निउरो छुटे पनि साथीचाहिँ नछुटौं है भनेकी थिई,’ सँगै गएकी ५६ वर्षीया थुमाया गुरूङले भनिन्।
वन छिरेको एक घन्टाभित्रै थुमायाहरू निउरोमात्रै होइन साथी पनि छुटाएर फर्किनु पर्यो।
थुमायाले हेर्दाहेर्दै बाघ रेखामाथि जाइलाग्यो। अजंगको बाघले कोपरेर घिसार्दै झाडीभित्र लग्यो। उनले सँगै गएकी साथी फर्काउन सकिनन्। कुदेर गाउँ पुगिन् र आफ्ना आँखा अगाडिको घटना अरूलाई सुनाइन्। सुरक्षाकर्मीमा खबर पुग्यो।
केहीबेरमा चितवन राष्ट्रिय निकुञ्जको सेना, नेपाल प्रहरी, सामुदायिक वनका प्रतिनिधि र स्थानीय जुटे। हराएकी रेखालाई खोज्न वनभित्र पसे। नरभक्षी बाघ रेखाको शरीरमा दाह्रा गाडिरहेको थियो। मान्छेको चहलपहल देखेपछि बाघ रेखाको शरीर घिसार्दै अघि बढ्यो। सेनाले केही राउन्ड हवाई फायर गरेपछि शरीर छाडेर भाग्यो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर वनको गेटमा शव ल्याइपुर्याउँदा सयौं स्थानीय त्यहाँ भेला भएका थिए। प्रहरी पोस्टमर्टमका लागि शव भरतपुर लैजान चाहन्थ्यो। स्थानीयबासीले लैजान दिएनन्। शव उठाउनुअघि नरभक्षी बाघ नियन्त्रणमा लिनुपर्ने माग राखे।
‘आज मान्छे खाएको बाघ यसै छाडियो भने त्यसले हामी सबैलाई सिध्याउँछ,’ स्थानीय नारायण भुर्तेलले भने, ‘हामी यो बाघ नियन्त्रणमा नलिँदासम्म शव बुझ्दैनौं।’
बाघले अरूलाई आक्रमण गर्नसक्ने भयमा स्थानीय देखिन्थे।
रेखा गत स्थानीय निर्वाचनमा म्यादी प्रहरी बनेकी थिइन्। उनी सामुदायिक वनको निउरो बेचेर जीवन निर्वाह गर्थिन्। घरमा हेला भएपछि माइतमा बसेकी थिइन्।
उनका निकटस्थहरूका निउरो बिक्री गरेर दैनिक सरदर पाँच सय रुपैयाँ आम्दानी गर्थिन्। त्यही पैसाले आफू र तीन वर्षे छोरोको खर्च धानेकी थिइन्।
रेखाजस्तै कमजोर आर्थिक अवस्थाका अन्य महिलाले पनि सामुदायिक वनमा उम्रिने निउरोलाई जीवन निर्वाहको स्रोत बनाएका छन्। त्यसैले उनीहरू त्यो बाघका कारण आगामी दिनमा फेरि अर्को घटना नहोस् भन्नेमा सचेत छन्।
चितवन राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने आश्वासन दिएपछि बल्ल स्थानीयको आक्रोश केही थामियो। प्रहरीले शव पोस्टमार्टमका लागि लग्यो।
केहीबेरमा चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक वार्डेन गणेशप्रसाद तिवारीको नेतृत्वमा चिकित्सक, कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक, कर्मचारीहरूको समूह आइपुग्यो। त्यतिबेला अपराह्नको चार बज्नै लागेको थियो।
उनीहरूले छोटो समयमै सबै तयारी गरे। पाँच बजेभित्रमा निकुञ्जका विभिन्न पोस्टहरू, नजिकै रहेका होटल बारही र होटल टाइगर टप्सका सात वटा हात्ती पनि आइपुगे।
राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र, सौराहामा कार्यरत वन्यजन्तु प्राविधिक दीपप्रसाद चौधरी बन्दुक जस्तो देखिने तर बन्दुकभन्दा अली सानो हतियार बोकेर हात्तीमा चढे।
त्यो हतियार ‘डार्ट गन’ हो। त्यसमा वन्यजन्तुलाई बेहोस बनाउने औषधी लोड गरिएको हुन्छ। वन्यजन्तु प्राविधिकले निसाना लगाएपछि जन्तु बेहोस हुन्छ।
स्थानीयको भरोसा दीपप्रसाद नै थिए। उनलाई साथ दिन कर्मचारी, सेना र केही स्थानीय अन्य हात्तीमा चढे। ती हात्तीमा एउटा गद्दा र त्यसलाई बाँधिएको एउटा डोरीमात्रै थियो। त्यही डोरीको साहरामा अडिनुपर्थ्यो।
एउटा सानो खोलो तरेर हात्तीहरू जंगल पसे। दीपप्रसाद सुरूबाटै पोजिसनमा थिए। केहीबेरमै बाघको चाल पाइहाले। मान्छेको ज्यान लिएको बाघ झाडीभित्र निर्धक्क बसेको देखियो। उनले डार्ट गन सोझाएर सुई हाने तर बाघले झुक्याइदियो, दीपकुमारको निशाना चुक्यो।
डार्ट गनमा फेरि अर्को डोज औषधी लोड गर्नुपर्ने भयो। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक अमिर षडौला र भेटेरिनरी प्राविधिक किरण रिजालले डार्ट गनमा दोस्रो पटक औषधी लोड गर्दा साँझको ६ बजेको थियो।
दीपप्रसादको दोस्रो निशाना ठाउँमै लाग्यो। औषधीको सुई लागेपछि बाघ जुरूक्क उठेर करिब एक सय मिटर जति पर पुग्यो र त्यहीँ रन्थनिएर ढल्यो।
‘हात्ती चढेर थोरै अघि बढ्ने बित्तिक्कै बाघ रहेको ठाउँ पत्ता लगाइहाल्यौं। हात्तीले उसलाई घेरे। निशाना लागेपछि केहीबेर सामान्य रूपमा हिँडेको बाघ ढल्नुअघि डरलाग्दो गरी उफ्रियो,’ निकुञ्जकी गेम स्काउट कौशिला मोक्तानले डार्टको विवरण सुनाइन्।
बेहोस बनाउने औषधीले राम्ररी काम गरेको पक्का गर्न केहीबेर कुर्नु पर्थ्यो। साढे ६ बजे चितवन निकुञ्जको सबैभन्दा ठूलो हात्ती कृष्णगजको ढाडबाट दीपकुमार ओर्लिए। लौरोले बाघलाई घोचे, उसले थाहा पाएको कुनै संकेत देखिएन।
त्यसपछि बाघलाई उचालेर स्टेचरमा राखियो र बाघसहितको स्टेचर बोकेर गाडीमा राखिएको पिँजडामा हुलियो।
बेहोस भएको करिब आधा घन्टामा बाघलाई होस आउने सुई दिनु पर्दो रहेछ। पिँजडामा राखिसकेपछि वन्यजन्तु चिकित्सक अमिर षडौलाले बाघको ढाडमा होस फर्काउने सुई लगाए। पिँजडाको ढोका बन्द भयो।
बाघ नियन्त्रणमा लिएपछि चितवन निकुञ्जले त्यो बाघले कम्तीमा दुई जनालाई आक्रमण गरेको पत्ता लगायो।
गत जेठ २४ गते भरतपुर-२३ स्थित घैलाघारीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। लगत्तै त्यस क्षेत्रमा नरभक्षी बाघको फोटो खिच्न क्यामेरा जडान गरिएको थियो। बिहीबार साँझ मेघौलीबाट नियन्त्रणमा लिइएको बाघले नै ९ दिनअघि घैलाघारीमा निउरो टिप्न गएकी उमादेवी बोटेको ज्यान लिएको थियो।
चितवन निकुञ्जले घैलाघारी क्षेत्रको जंगलमा उक्त नरभक्षी बाघको खोजीमा धेरै समय खर्चियो तर फेला परेन। नरभक्षी बाघ त्यहाँबाट करिब १० किलोमिटर पर मेघौली पुगेको थियो।
‘दुई दिन म आफैं पनि घैलाघारी क्षेत्रमा बाघ खोज्न लागिपरें। हाम्रा कर्मचारीहरू त लागेका लाग्यै हुनुहुन्थ्यो,’ निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘ढिलै भए पनि बाघ नियन्त्रणमा आयो।’
चितवनमा पछिल्ला दिनमा बाघको आक्रमणका घटना बढेका छ।
गत चैतयता मात्रै चितवन निकुञ्ज र आसपासका वनहरूमा बाघको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ। बाघको आक्रमणबाट घाइते भएका दुई जना उपचारमा छन्।
तिवारीले आक्रमणका कतिपय घटनामा एउटै बाघको संलग्नता हुन सक्ने बताए। यस विषयमा निकुञ्जले अनुसन्धान गरिरहेको उनको भनाइ छ।
बाघको आक्रमण बढ्दै जानुमा बाघको संख्या बढ्नु र घना जंगलमा मान्छेको चहलपहल बढ्नु दुबै कारण हुनसक्ने उनले बताए।
‘बाघ गणनाको तथ्यांक आइसकेको त छैन, अहिले क्यामेरामा रेकर्ड भएका फोटोहरू हेरेर संख्याको विषयमा विश्लेषण गर्ने काम भइरहेको छ तर हामीले हेर्दा बाघको संख्या बढेको देख्छौं,’ तिवारीले भने, ‘संख्या बढ्दा आक्रमण बढ्यो भन्ने कुरा पनि सही हुनसक्छ। वन क्षेत्रमा मानिसको चहलपहल बढ्दा पनि आक्रमण बढेको छ। अहिले मान्छेहरू निउरो टिप्ने जंगल जाने क्रम चलेको छ।’
तिवारीले नरभक्षी बाघ डार्ट गरी नियन्त्रणमा लिएर आचरण सुध्रिएको संकेत पाएपछि निकुञ्जको कोर क्षेत्रमा छाड्ने गरिएको बताए।
डार्ट गरिएका बाघ राख्न चितवन निकुञ्जको कसरामा दुई वटा र सौराहामा एउटा इन्क्लोजर छन्। ती इन्क्लोजरमा बेलसहर मध्यवर्ती सामुदायिक वन, बर्दिया राष्ट्रिय निकुञ्ज र राप्ती नगरपालिकाबाट डार्ट गरिएका बाघ राखिएका छन्।
बिहीबार नियन्त्रणमा लिइएको बाघ कहाँ राख्ने भन्नेमा निकुञ्ज प्रशासन साँझसम्म पनि अन्यौलमै थियो।
चितवन निकुञ्जका वन्यजन्तु चिकित्सक विजयकुमार श्रेष्ठका अनुसार डार्ट गरिएको बाघ होस फिर्ता ल्याउने औषधी दिइएपछि पनि केही घन्टा लठ्ठिन्छ। उनले भने, ‘शुक्रबार दिउँसोसम्म त यसले खासै मेसो पाउँदैन। त्यसपछि मात्रै सक्रिय हुन्छ।’
उनका अनुसार यसपछिमात्रै कहाँ राख्ने भन्ने टुंगो लाग्नेछ।