घरमा कोही पाहुना आउँदा अंग्रेजी भाषा बोलेर स्वागत गर्छन्। हालखबर के छ, बस्नुहोस्, पानी पिउनु हुन्छ कि– आगन्तुकलाई यस्ता कुरा अंग्रेजीमै सोध्छन्। आफ्नो परिचय अंग्रेजी भाषामै दिन्छन्। आगन्तुकको परिचय पनि अंग्रेजीमै माग्छन्।
उनी अंग्रेजी बोल्न नजान्ने वा नसक्नेका लागि नेपाली भाषामै बोल्न सहज भइदिन्छन्। उनी पनि सबै कुरा अंग्रेजीमै बोलेर पूरा गर्न सक्ने त भएका छैनन् तर सिक्ने क्रममा छन्। उनी आगन्तुकको स्वागत सत्कार गर्न; आफ्नो परिचय दिन; आफ्नो परिवार, विद्यालय र गाउँघरबारे अंग्रेजी भाषामै भन्न सक्छन्।
उनी हुन् जाजरकोटको कुशे गाउँपालिका–६, भार्मा गाउँका विनीत मल्ल।
अहिले उनी चार कक्षाका विद्यार्थी हुन् तर स्कुल जान सक्दैनन्। घरमै बसेर पढ्छन्। उनलाई पढाउन घरमै एक जना शिक्षिका आउँछिन्। ती शिक्षिकाले चार घण्टा पढाउँछिन्, केही अतिरिक्त क्रियाकलाप पनि गराउँछिन्।
विनीत १६ वर्षका भए। उनी पढ्न थालेको चाहिँ चार वर्ष भयो। सुरूमा त उनलाई आमाले बोकेर स्कुल लैजाने गरेकी थिइन्। विकट पहाडमा उनलाई बोकेर उकालो–ओह्रालो गर्न कठिन भएपछि स्कुल जान बन्द भयो। सधैं त्यस्तो फुर्सद पनि नमिल्ने भयो।
उनलाई घरमा पढाउने शिक्षिकाको व्यवस्था भने गाउँपालिका र केही संघसंस्थाले संयुक्त रूपमा गरिदिएका हुन्।
विनीत जन्मजात अपांगता भएका व्यक्ति हुन्। उनको कम्मरमुनिको भाग चल्दैन। उनलाई शरीर सम्हाल्ने काममा नै भरपर्दो सहारा चाहिन्छ।
उनकी आमा पशुपति मल्लले भनिन्, ‘सुरूमा एक वर्षसम्म त मैले उसलाई बोकेरै स्कुल लिएँ (पुर्याएँ), घरको कामले फुर्सद नमिल्दा सधैं बोकेर लिन सकिएन।’
स्कुल जान नसके पनि घरमै पढेर उच्च शिक्षा हासिल गर्ने र भविष्यमा दक्ष शिक्षक बन्ने विनीतको धोको छ।
उनी अंग्रेजी भाषाको शिक्षक हुन चाहन्छन्।
भन्छन्, ‘मलाई भविष्यमा अंग्रेजी विषयको टिचर (शिक्षक) बन्ने मन छ। अंग्रेजी मेरो रूचिको विषय हो।’
अपांगताको कारण अहिले स्कुल जान समस्या भए पनि आफू शिक्षक बन्दासम्ममा स्कुल जान सक्ने अनुकूल वातावरण बन्ने उनको अपेक्षा छ।
‘अहिले घरमै बसेर पढ्छु,’ उनी भन्छन्, ‘म शिक्षक भएर पढाउन लाग्दासम्ममा त स्कुल जान सक्ने केही व्यवस्था होला नि।’
घरमा पढाउने शिक्षकका अनुसार विद्यालयको कक्षामा बसेर पढ्ने बालबालिकाको भन्दा विनीतको पढाइ राम्रो छ।
उनलाई पढाउने शिक्षिका विनीता हुन्। उनका अनुसार विनीत उनको कक्षाका प्रथम विद्यार्थी हुन्। उनी घरनजिकैको दुर्गादेवी माध्यमिक विद्यालयमा भर्ना भएका छन्।
‘स्कुल एट होम’ अर्थात् ‘घरमै विद्यालय’ अवधारणा अनुसार अपांगता भएर विद्यालय जान नसक्ने बालबालिकालाई घरमै पढाउने व्यवस्था मिलाउने गरिएको छ।
त्यस्ता बालबालिका नजिकको विद्यालयमा भर्ना भएका हुन्छन्। परीक्षा पनि घरमै हुन्छ र उत्तरपुस्तिका विद्यालयमा जाँचिन्छ।
‘मैले उहाँलाई पढाउन थालेको दुई वर्ष भयो। अंग्रेजीमा निकै रूचि छ,’ विनीता भन्छिन्, ‘विद्यालयमा गएर पढ्ने उहाँका अरू साथीहरूसँग तुलना नै हुँदैन। सबै विषयमा तगडा हुनुहुन्छ।’
विनीताका अनुसार विनीतका हात पनि राम्ररी चल्दैनन्। लेखाइ अलिक ढिलो हुने र लेखेका अक्षर अरूले बुझ्न ठाउँठाउँमा समस्या हुने भए पनि कक्षामा उनी नै प्रथम हुने गरेका छन्।
विनीता भन्छिन्, ‘हामीले बानी नपरेको बायाँ हातले लेखेको जस्तै गाह्रो हुन्छ उहाँलाई। यसरी लेख्दा कतैकतै अक्षर नबुझिने पनि हुन्छ।’
उनको उत्तरपुस्तिका परीक्षणमा हतार गर्न नहुने विनीताको भनाइ छ।
विनीता सबै विषयको तालिका मिलाएर पढाउँछिन्। घरमा सरकारी विदाबाहेक सबै दिन नियमित पढाइ हुने गरेको छ।
आफू विद्यालय जान नसके पनि घरमै पढ्ने वातावरण बनाइदिएकोमा विनीत निकै खुसी छन्। शिक्षकसँग पढेकोबाहेक दैनिक कम्तीमा दुई घण्टा स्व-अध्ययन गर्ने गरेको उनले बताए।
विनीतलाई कुर्सीमा बस्न सजिलो हुन्छ तर लेख्नु पर्दा भुइँमा बस्छन्। अभिभावकहरू घरबाहिर जाँदा उनलाई कुर्सीमा बसाएर हिँड्छन्। धेरै जसो समय भने उनी आफैं कुर्सीबाट जबर्जस्ती भुइँमा ओर्लिएर लेखिरहेका हुन्छन्।
‘उसलाई कुर्सीमा बस्न सजिलो हुन्छ, कहिलेकाहीँ कुर्सीमै राखेर हामी काममा जान्छौं,’ आमा पशुपति भन्छिन्, ‘कामबाट फर्किंदा भुइँमा ओर्लेर लेख्दै गरेको हुन्छ। जबर्जस्ती ओर्लिंदा कहिलेकाहीँ त कुहिनामा चोट पनि लागेको हुन्छ।’
विनीत चार भाइबहिनीमध्ये तेस्रो सन्तान हुन्। तीन जना शारीरिक रूपमा सबल छन्।
विनीतको असामान्य शारीरिक अवस्थाको उपचारका लागि अभिभावकले दुई पटक भारतको सिम्ला पुर्याए।
चिकित्सकले रोग पत्ता लगाउन र यो उपचारले निको हुन्छ भनेर टुंगो गर्न सकेनन्। शक्तिबर्द्धक खानेकुरा खुवाउनू र हिँड्ने अभ्यास गराउनू भनेर पठाए।
सामान्यता विनीत पढिरहेका हुन्छन्। कडा अपांगता भए पनि पढाइमा उनको लगनशीलता देखेर आमा निकै खुसी हुन्छिन्।
‘दुई वर्ष जति भयो, अन्त खासै ध्यान दिँदैन। घोप्टो परेर पढेकोमात्र देख्छु,’ पशुपतिले भनिन्, ‘कहिलेकाहीँ उकुसमुकुस भएर होला, घुम्न जाने भन्छ। बोकेर गाउँ डुलाउँछु।’
विनीत राम्रो विद्यालयमा कक्षा कोठामै गएर पढ्न पाओस् भन्ने पशुपतिको चाहना छ।
कुशे गाउँपालिकामा विनीत र उनीजस्ता अपांगता भएका बालबालिकालाई घरमै शिक्षक पढाएर पढाउन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ र यसका साझेदार संस्थाहरूले मद्दत गरेका छन्।
विद्यार्थीलाई शैक्षिक सामग्री र शिक्षकलाई तलब तिनै संस्थाहरूमार्फत उपलब्ध हुन्छ। पाठ्यपुस्तक विद्यालयले दिन्छ।
कुशे गाउँपालिकामा ‘स्कुल एट होम’ कक्षा ६ वटा चलेका छन्।
अपांगता भएका बालबालिका पढ्ने ती कक्षामध्ये केहीको जिम्मेवारी गाउँपालिकाले नै लिएको छ। गाउँपालिकाले अपांगता भएका अरू बालबालिका पनि खोजिरहेको छ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत भन्छन्, ‘हामी बालबालिकाको खोजीमा छौं। स्कुल एट होम प्रभावकारी देखिएकोले अपांगता भएर स्कुल आउन नसक्ने सबै बालबालिकाले घरमै पढ्ने व्यवस्था मिलाउँछौं।’
‘स्कुल एट होम’ सुविधा विनीतजस्ता देशभरका सबै बालबालिकाले पाउन सके भने शिक्षा प्राप्त गर्ने उनीहरूको हक फलदायी हुनेछ।
विनीतको आकांक्षा पूरा हुन सकोस्।