जिल्ला न्यायाधीशलाई दुई करोड घुस खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउन प्रयास गरेका रूद्रप्रसाद पोखरेल झापा गौरादह स्थायी घर भएका कानुन व्यवसायी हुन्।
उनी २०५१ सालदेखि नै वकालत गर्दै आएका छन्। उनले २०५३ सालमा अधिवक्ताको लाइसेन्स लिएर वकालत गर्न थालेका थिए। अहिले उनको ल फर्म आरपी पोखरेल एन्ड एसोसिएट काठमाडौंको अनामनगरमा छ।
पोखरेल चन्डेश्वर श्रेष्ठ नेतृत्वको नेपाल बार एसोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए। एमाले पार्टीनिकट पोखरेलले वाम कानुन व्यवसायी समूहका तर्फबाट कोषाध्यक्ष जितेका थिए। पोखरेल पाटन बार एसोसिएसनमा २०७०-७३ सम्म अध्यक्ष थिए। उनी एमाले कानुन विभागका सदस्य पनि हुन्। इच्छाराज तामाङ पनि एमालेका पूर्व सांसद हुन्। उनी दोस्रो संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक सांसद चुनिएका थिए।
पोखरेलको घर भएको गौरादह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ। त्यसैले पनि एमाले अध्यक्ष ओलीसँग उनको राम्रो सम्बन्ध छ। प्रधानमन्त्रीका रूपमा ओलीले संसद विघटन गरेपछि पोखरेलले त्यसका पक्षमा सर्वोच्च अदालतमा बहस गरेका थिए।
पोखरेलको सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि नजिकको सम्बन्ध छ। नेपाल बार एसोसिएसनले राणालाई हटाउन आन्दोलन गरिरहेका बेला पोखरेल उनको समर्थनमा उत्रिएका थिए। नेपाल बारले आन्दोलन थालेपछि र सर्वोच्चका न्यायाधीशहरूले बेन्च बहिष्कार गरेपछि त्यसलाई चुनौती दिँदै पोखरेल मुद्दा लिएर अदालतमा बहस गर्न गएका थिए।
उनले नेपाल बारले गरेको आन्दोलन बेठिक भएको भन्दै राणाको राजीनामा मागेर आन्दोलन गर्न नहुने तर्क गरेका थिए।
राणासँग निकटको सम्बन्ध बनाएका पोखरेलले अदालतमा न्यायाधीश र मुद्दाका पक्षबीच बिचौलियाको काम गरेर सेटिङमा मुद्दा फैसला गराउने गरेको कतिपय वकिलहरूको आरोप छ।
न्यायाधीशसँग घुसको डिल गरेको अडिओ सार्वजनिक भएपछि न्याय परिषदका एक सदस्यले सेतोपाटीसँग भने, ‘यो मान्छे त चोर ठानेको चण्डाल निस्कियो!’
जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद मंगलबार साँझ न्युज-२४ टेलिभिजनमा प्रसारण भएको थियो।
झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भन्छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन्।
सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत भएको अडियो सम्वादबाट प्रष्ट हुन्छ।
सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ।
अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए। काठमाडौंका एक नम्बरका न्यायाधीश राजुकुमार खतिवडाले तामाङलाई धरौटीमा छाड्ने कुरामा असहमति जनाएपछि न्यायाधीश कोइरालाले तामाङलाई थुनामा पठाएको यो प्रकरणलाई नजिकबाट हेरेका एक अधिवक्ताले बताए।
अडिओ सार्वजनिक भएपछि सेतोपाटीले यसबारे पोखरेलसँग कुरा गर्न खोजेको थियो। उनको मोबाइल फोन स्वीच अफ छ।