काठमाडौं हनुमानढोकामा दुई ढुंगाका खम्बाको सहारामा ठडिएको एउटा ठूलो घन्टी छ। यसलाई सन् १७९७ मा राजा रणबहादुर शाहले निर्माण गर्न लगाएका हुन्।
त्यही घन्टीको छेउमा केही महिनाअघिसम्म गुम्बज शैलीमा बनेको र शिरमा गजुर भएको एउटा मन्दिर देख्न सकिन्थ्यो।
विष्णु मन्दिर भनेर चिनिने यसको वास्तविक स्वरूप गुम्बज होइन। यो पाटनको कृष्ण मन्दिरजस्तै शिखर शैलीको थियो। तर १९९० सालको भुइँचालोमा भत्किएपछि गुम्बज आकारमा पुनर्निर्माण गरियो।
नब्बे वर्षअघि आफ्नो अस्तित्व र मौलिक स्वरूप गुमाएको विष्णु मन्दिर अहिले पुरानै रूपमा फर्किन लागेको छ।
२०७२ को भुइँचालोले जिर्ण पारेको यो मन्दिरलाई हनुमानढोका हेरचाह अड्डाले पुरानै स्वरूप बनाउन लागेको हो।
धेरैले यो शिखर शैलीको मन्दिर हो भन्ने बिर्सिसकेका थिए। एउटा पुरानो फोटोका आधारमा वास्तविक स्वरूप पत्ता लाग्यो। त्यसपछि पुरातत्व विभागमार्फत मौलिक स्वरूपमै बनाउन लागेको हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले बताए।
'भुइँचालोले मन्दिरका गाराहरू चर्किएका थिए। झ्याल–ढोका भत्किएका थिए। पुरानो फोटोका आधारमा शिखर शैलीमै पुनर्निर्माण गर्ने कुरा आयो,' खनालले भने, 'हामी यसलाई प्राचीन स्मारक ऐनअनुसार ऐतिहासिक र पुरातात्विक मूल्यमान्यतालाई ध्यान दिएर निर्माण गर्छौं।'
यो मन्दिरमा पुजारीहरूले नियमित पूजा गर्छन्। एकादशी अनि विशेष पर्वहरूमा यहाँ पूजाआजा हुन्छ। जिर्ण भएपछि भक्तजनलाई नियमित जान रोक लगाइएको थियो। पुनर्निर्माण क्रममा मन्दिरको स्वरूप भत्काउँदा यहाँको चार कुनामा विभिन्न देवदेवीका मूर्तिहरू फेला परेका थिए। यिनलाई अहिले हनुमानढोका संग्रहालयमा राखिएको छ।
'मन्दिर बनिसकेपछि मूर्तिहरू पुनः मन्दिरमै राखिन्छ। प्रयोग गर्न मिल्ने प्रस्तरका थामहरू पनि मन्दिरमा पुनः प्रयोग गरिनेछ,' खनालले भने।
यहाँ विष्णुको मूर्ति भएकाले यसलाई विष्णु मन्दिर भनिएको हो। तर लेखक एवं संस्कृति अध्येता राजेन्द्रमान बज्राचार्य यो मन्दिर विष्णुको नभई कृष्णको भएको बताउँछन्। १९९० को भुइँचालोपछि मन्दिरको मूर्ति यताउता भएको उनको भनाइ छ।
हनुमानढोका दरबारको मूलढोकाबाट सिधाअगाडि सडकपारि आठकुने शैलीको मन्दिरलाई हामीले कृष्ण मन्दिर मान्दै आएका छौं। स्थानीयहरू उक्त मन्दिरलाई 'च्यासिंदेग' भन्छन्। नेपाल भाषामा च्यास भनेको आठ हो। त्यो मन्दिर भने विष्णु मन्दिर भएको उनको तर्क छ।
'यो मन्दिर र त्यो मन्दिरको मूर्ति पहिले साटिएको हो,' पुनर्निर्माण भइरहेको मन्दिरपछाडि घर भएका बज्राचायले भने, 'अझै पनि यहाँका स्थानीय यसलाई कृष्ण मन्दिर नै मान्छन्। नयाँ मान्छेलाई भने थाहा छैन।'
भनिन्छ, काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले पाटनको देखासिकी गरेर विक्रम सम्बत् १७०५ मा कृष्ण मन्दिर बनाउन लगाएका हुन्। पाटनका राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबारअगाडि बिक्रम सम्बत् १६९३ मा कृष्ण मन्दिर बनाएका थिए। हनुमानढोकास्थित मन्दिर कसरी निर्माण भएको भन्ने सम्बन्धमा इतिहासकार गौतमबज्र बज्राचार्यले आफ्नो किताब 'हनुमानढोका राजदरबार' मा विस्तृत वर्णन गरेका छन्।
किताबमा उल्लेख भएअनुसार प्रताप मल्लको प्रारम्भिक राज्यकालमा पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। सिद्धिनरसिंह नाताले प्रताप मल्लका काका पर्थे। तर उनीहरूबीच मिल्ती थिएन।
'सिद्धिनरसिंह एक धर्मात्मा राजा थिए। उनका धार्मिक गतिविधिबाट दुनियाँ प्रभावित थिए। मानिसहरू उनलाई श्रद्धाको दृष्टिले हेर्थे। यो कुराले उनका भारदारहरू भित्रभित्रै जलेका थिए,' गौतमबज्र लेख्छन्, 'बिक्रम सम्बत् १६९३ मा राजा सिद्धिनरसिंहले पाटनमा धूमधामसँग कोटिहोम गरी आफ्नो दरबारअगाडि कृष्ण मन्दिर स्थापना गरेका थिए। सिद्धिनरसिंह कोटिहोममा लागिरहेको अवसर पारेर प्रताप मल्लले पाटनमा हमला गरेका थिए।'
प्रताप मल्लले त्यति बेला पाटनमा हमला गर्दा केही हातहतियार कब्जा मात्र गरे। त्योभन्दा बढ्ता उपलब्धि हात पार्न सकेनन्। एक किसिमले भन्दा पाटनमाथिको हमला काठमाडौंका निम्ति पराजय नै थियो। यसबाट राजनीतिक रूपमा प्रताप मल्ललाई कुनै लाभ भएन।
राजनीतिक लाभ मात्र नभएको होइन, बिनाकारण पाटनमाथि हमला गर्नुलाई काठमाडौं राज्यभित्र सकारात्मक रूपमा नलिइएको इतिहासकार गौतमबज्र आफ्नो किताबमा उल्लेख गर्छन्।
उनका अनुसार, अर्काले गरेको धार्मिक काम बिगार्न खोजेको भन्दै प्रताप मल्लको बदनामी भएको थियो।
'यसैको प्रतिक्रियास्वरूप राजा सिद्धिनरसिंहले जस्तै आफ्नो दरबारको प्रांगणमा राजा प्रताप मल्लले कृष्ण मन्दिर बनाएको देखिन्छ,' गौतमबज्र लेख्छन्।
पाटनको कृष्ण मन्दिर ढुंगाले बनेको शिखर शैलीको छ। हनुमानढोकामा जसलाई कृष्ण मन्दिर भनिन्छ, त्यो छाने शैलीको इँटाले बनेको मन्दिर हो। गौतमबज्रले भनेजस्तै यदि प्रताप मल्लले पाटनको कृष्ण मन्दिरको नक्कल उतारेर आफ्नो प्रांगणमा कृष्ण मन्दिर बनाएका थिए भने त्यो पनि ढुंगाले बनेको शिखर शैलीको हुनुपर्थ्यो।
यस हिसाबले हेर्दा लेखक एवं संस्कृति अध्येता राजेन्द्रमान बज्राचार्यले भनेजस्तै मन्दिरको नाम परिवर्तन भएको सम्भावना देखिन्छ। तर यसबारे आफूलाई जानकारी नभएको हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक खनालले बताए।
बज्राचार्य भने मन्दिरले पुरानो स्वरूप पाए पनि पुरानो नाम नपाएकोमा दु:खी सुनिन्छन्। मन्दिरले पुरानो स्वरूप पाउँदा यसको पुरानो मूर्ति र पुरानै नाम फिर्ता पाए सुनमा सुगन्ध हुने उनी बताउँछन्।
'अहिले चल्तीमा यही नाम भइसकेकाले परिवर्तन गर्न गाह्रो छ। तर असम्भव होइन,' उनले भने, 'यो विषयमा अध्ययन हुन जरूरी देखिन्छ।'
प्रताप मल्लले कृष्ण मन्दिर बनाउन लगाएर एउटा शिलालेख पनि स्थापना गराएका थिए। गत वर्ष पुसमा उक्त शिलालेखलाई मानसिक अवस्था ठीक नभएकी एक महिलाले तोडफोड गरेकी थिइन्। ३७४ वर्ष पुरानो उक्त शिलालेखमा कृष्ण मन्दिर निर्माणसँगै आफ्ना दुई दिवंगत रानीहरू रूपमती र राजमतीको सम्झना गरेका छन्।
राजा प्रताप मल्लका धेरै रानी थिए। तीमध्ये रूपमती बिहारकी राजकुमारी हुन् भने राजमती कर्नाटक देशकी राजकुमारी। बिहार र कर्नाटकका राजकुमारीसँगको विवाह सम्बन्धलाई लिएर प्रताप मल्ललाई ठूलो गर्व थियो। उनले अनेक अभिलेखमा आफ्ना दुई रानीहरूसँगको सम्बन्धबारे उल्लेख गरेका छन्। यी दुवै रानीको बिक्रम सम्बत् १७०५ भन्दा अगाडि नै मृत्यु भइसकेको थियो। त्यति बेला राजा प्रताप मल्ल २६ वर्षका मात्र थिए।
'जवानीमै दुई रानीको असामयिक मृत्युले प्रताप मल्ललाई मनमा ठूलो चोट लागेको थियो,' गौतमबज्र लेख्छन्, 'कृष्ण मन्दिरमा रहेको उनको अभिलेखमा उनै दुई रानीको सम्झनामा त्यो मन्दिर निर्माण गराएको कुरा लेखिएको छ।'
उक्त अभिलेखअनुसार मन्दिरभित्र उनले स्थापना गरेका तीन मूर्तिमध्ये बीचको कृष्णको मूर्ति आफ्नै स्वरूपमा र दायाँबायाँ रहेका रूक्मिणी र सत्यभामाको मूर्ति भने तिनै दुई रानीको स्वरूपमा बनाउन लगाएका थिए।
आफूले निकै गर्व गरेको यी दुई रानीसँग जन्मजन्मान्तर कहिल्यै विछोड नहोस् भन्ने इच्छाले प्रताप मल्लले तीनै जनाको मूर्ति बनाउन लगाएको गौतमबज्रको भनाइ छ। वरिपरि मयूर, फूलका लहरा लगायत कलाकृतिले भरिएको शिलालेखमा ३६ पंक्तिको अभिलेख कुँदिएको छ। अभिलेखको माथिल्लो भाग संस्कृतमा र तल्लो भाग नेवारी भाषामा छ। आफ्ना दुई रानीलाई रूक्मिणी र सत्यभामाका रूपमा मूर्ति स्थापना गरेको कुरा उनले दुइटै भाषामा लेखाएका छन् भने कृष्णका रूपमा आफूलाई प्रस्तुत गरेको विवरण संस्कृत भाषामा मात्र छ।
'हाम्रो यता आफ्नो प्रकृतिका रूपमा देउताको मूर्ति बनाउने चलन दुर्लभ छ। प्रताप मल्लले स्थापना गरेको कृष्णको यो मूर्तिबाहेक अर्को यस्तो उदाहरण दुइटै मात्र देखापरेका छन्,' गौतमबज्र लेख्छन्।
उनका अनुसार लिच्छविकालका शक्तिशाली राजा विष्णुगुप्तले पशुपतिको बागमतीपारि रामचन्द्र भनी भगवान विष्णुको विशाल मूर्ति बनाउन लगाएका थिए। यो मूर्ति राजा विष्णुगुप्तकै स्वरूपसँग मिल्दोजुल्दो थियो।
त्यस्तै भक्तपुरका राजा यक्ष मल्लले बिक्रम सम्बत् १५२४ मा आफ्ना दिवंगत छोरा राजमल्ल देवको सम्झनामा उनकै सालिकका रूपमा ऋषिकेशको मूर्ति बनाउन लगाएका थिए। त्रिपुरासुन्दरीको अभिलेखमा यो कुरा वर्णन गरिएको छ।
यसबाहेक विष्णुको मूर्ति बनाउँदा त्यसको अगाडि भक्त गरूडका रूपमा आफ्नै सालिक बनाउने परम्परा खुब चलेको गौतमबज्र उल्लेख गर्छन्।
हनुमानढोकाको कृष्ण मन्दिरमा रहेको यति महत्वपूर्ण मूर्ति १९९० सालको भुइँचालोपछि आठ कुना भएको मन्दिरमा पुगेपछि त्यो मन्दिरलाई कालान्तरमा कृष्ण मन्दिर भनिएको राजेन्द्र बज्राचार्य बताउँछन्।
मन्दिर निर्माणमा इञ्जिनियरका रूपमा खटिएका रोशन डंगोलका अनुसार अहिले बनिरहेको मन्दिरको पेटी पुरानै स्वरूपमा थियो। माथिल्लो भाग मात्र परिवर्तन गरेर पहिले गुम्बज शैलीमा बनाइएको रहेछ। त्यसकारण पेटीको नापबाट माथिल्लो भागको उचाइ अनि नक्सांकन गर्न सजिलो भयो। अब बन्ने मन्दिर ६० फिट अग्लो हुनेछ। मन्दिरका पेटी भने भत्काएर अहिले जगबाटै नयाँ बनाउन लागिएको उनले बताए।
त्यसो गर्नुको कारण बताउँदै डंगोलले भने, 'पेटी अलि कमजोर भइसकेको र इँटाहरू पनि काम नलाग्ने अवस्थामा पुगिसकेकाले जगैदेखि बनाउन लागेका छौं।'
उनका अनुसार मन्दिरको पेटी बनाउन अघिल्लो वर्ष करिब ४० लाख लागत छुट्याइएको छ। मन्दिर बनाउन भने अबको आर्थिक वर्षपछि बजेट छुट्याइनेछ। करिब दुई करोड रूपैयाँ लाग्ने उनी अनुमान गर्छन्।
हामीले विष्णु मन्दिर भनेर चिन्दै आएको गुम्बज शैलीको मन्दिरले फोटोको आधारमा अब शिखर शैली स्वरूप पाउनेमा ढुक्क भए हुन्छ। यसको नाम र मूर्तिको दुविधा पनि समाधान भए साँच्चै सुनमा सुगन्ध हुने थियो!