राम्रा सामुदायिक स्कुल
काठमाडौंका राम्रा सामुदायिक विद्यालयबारे शृंखला लेख्ने क्रममा यसपटक हाम्रो छनोटमा परेको छ क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालय।
नामै काफी छ भनेझैं यस विद्यालयमा छात्रा मात्र पढ्छन्।
हालैको एक दिन हामी विद्यालय पुग्यौं। छत्रपाटी चिकित्सालय नजिकै विद्यालयको गेट छ। गेटबाट प्रवेश गर्नासाथ हरियालीले ढाकिएको, ठूलो नै भन्न मिल्ने चउर छ। सामुन्नेमा छ एउटा पोखरी र बगैंचा। विद्यालय भवन आकर्षक छ।
राजधानीको पुरानो घना बस्तीबीच यति फराकिलो विद्यालय परिसर भेटिनु अनौठो लाग्दो रहेछ। यति भव्य विद्यालयमा कति विद्यार्थी पढ्लान्? विद्यालयको भौतिक संरचना मात्र भव्य हो कि यो भव्यताको उपयोग पनि हुन पाएको छ? शिक्षण–सिकाइ क्रियाकलाप र उपलब्धि कस्तो होला?
प्रथम दृष्टिमै यस्ता जिज्ञासाहरू उत्पन्न भए।
विद्यालयको चउरमै भैटिए विद्यालय पोशाकमा सजिएका प्रधानाध्यापक घनश्याम न्यौपाने।
हामीले जिज्ञासा राख्यौं– विद्यालय क्षेत्र निकै ठूलो रहेछ नि!
प्रसन्न मुद्रामा उनले भने, '(काठमाडौंका) सामुदायिक विद्यालयमा सबभन्दा धेरै क्षेत्रफल भएको विद्यालयभित्र पर्छ कन्या मन्दिर।'
फेरि सोध्यौं, 'काठमाडौंका अरू विद्यालयको तुलनामा कन्या मन्दिर चिनाउने फरक विशेषता चाहिँ के हो त?'
प्रधानाध्यापक न्यौपानेका अनुसार यस विद्यालयमा कुल नौ सय जना छात्रा छन्। तीमध्ये १० प्रतिशत मुस्लिम समुदायका छन्।
उनले भने, 'हाम्रो विद्यालयले मुस्लिम समुदायका छोरीहरूको पढाइलाई प्राथमिकता दिएको छ। उनीहरू यहीँ पढ्न मन पराउँछन्।'
हामीले पनि मुस्लिम समुदायकै एक छात्रासँग कुरा गर्यौं। उनी सेतो रङको कुर्ता, हरियो सुरूवाल र सेतै सलमा थिइन्। सलले कपाल पूरै छोपेकी थिइन्।
खास कारण के रहेछ भने विद्यालयले तोकेको युनिफर्म मुस्लिम छात्राका लागि अनिवार्य रहेनछ। उनीहरू आफ्नो परम्परा अनुसारको पोशाकमा स्कुल आउन पाउने रहेछन्। सोही अनुसारको युनिफर्म तोकिएको रहेछ। यस्तो सुविधाले मुस्लिम समुदायका छात्रालाई सहज भएको ती छात्राले बताइन्।
ती छात्राले घन्टाघरको मदरसा (मुस्लिम समुदायका विद्यार्थीहरू पढ्ने विद्यालय) मा कक्षा आठसम्म पढिन्। नौ कक्षा पढ्न कन्या मन्दिरमा पुगेकी हुन्। अहिले दस कक्षामा पढ्दैछिन्। उनलाई कन्या मन्दिरको वातावरण र पठनपाठन सबै राम्रो लाग्छ।
विद्यालयको पठनपाठनमा प्रविधि उपयोग हुन्छ। सबै कक्षाकोठामा इन्टरनेट छ। प्रधानाध्यापक न्यौपानेका अनुसार शिक्षण–सिकाइमा प्रोजेक्टर प्रयोग हुन्छ।
उनले भने, 'स्मार्ट बोर्ड, प्रोजेक्टर, कम्प्युटर ल्याब, पुस्तकालय र इन्टरनेट सुविधायुक्त कक्षाकोठा विद्यालयको विशेषता र आकर्षण हो।'
आर्थिक वर्ष २०७७/७८ मा 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम' अन्तर्गत प्राप्त पाँच लाख रूपैयाँ बजेटबाट विद्यालयले कक्षाकोठा आधुनिक शिक्षण क्रियाकलाप अनुकूल बनाउन थालेको हो। यो बजेट निकै थोरै हो। हरेक कक्षामा आधुनिक प्रविधि जडानका लागि आर्थिक स्रोत खोजिरहेको प्रधानाध्यापक न्यौपानेले बताए।
प्रधानाध्यापक न्यौपानेका अनुसार कन्या मन्दिर राणाकालमा छोरीलाई शिक्षा दिन सामुदायस्तरबाट २००३ सालमा खोलिएको नेपालको पहिलो कन्या विद्यालय हो। न्ह्योखा, भजनालय पाटीमा विद्यालय सुरू हुँदा १३ जना विद्यार्थी थिए। तीमध्ये २००८ सालमा पहिलो पटक पाँच जना विद्यार्थी एसएलसी परीक्षामा सामेल भएका थिए।
निजी स्कुल छ्यापछ्याप्ती नहुँदासम्म कन्या मन्दिरमा विद्यार्थी थेगिनसक्नु नै हुन्थ्यो। निजी स्कुल बढ्दै जाँदा अधिकांश सामुदायिक स्कुलमा विद्यार्थी कम हुँदै गए। प्रधानाध्यापक न्यौपानेका अनुसार करिब ४० वर्षअघि कन्या मन्दिरमा पन्ध्र सय हाराहारी विद्यार्थी थिए।
काठमाडौंको जनसंख्या बढ्दै जाँदा विद्यार्थी बढ्नु पर्नेमा करिब बीस वर्षअघि घटेर पाँच सयमा झर्यो। दस वर्षअघि त कन्या मन्दिरमा जम्मा तीन सय विद्यार्थी भए।
'विद्यार्थी घट्नुको मुख्य कारण पढाइको माध्यम थियो। सामुदायिक स्कुलमा नेपाली (भाषा) माध्यममा पढाइ हुन्थ्यो। निजीले अंग्रेजीमा पढाउने,' न्यौपानेले भने, 'अनि अंग्रेजीको लोभले अभिभावकले छोरीहरूलाई निजीमै पढाउन थाले।'
माध्यम भाषाकै कारण विद्यार्थी निजीतिर मात्रै जाने हो भने त सामुदायिक स्कुल बन्द हुने स्थिति भयो। कन्या मन्दिरको पनि नियति यस्तै हुने देखियो। सामुदायिक विद्यालय जोगाउनै पनि अभिभावकको रूचि ध्यानमा राखेर अंग्रेजी माध्यममा पढाउन पर्ने अवस्था आइलाग्यो। कन्या मन्दिरले अंग्रेजीमा पढ्न चाहने विद्यार्थीका लागि त्यो सुविधा उपलब्ध गरायो।
सरकारले पनि सामुदायिक स्कुलका विद्यार्थीलाई विभिन्न सुविधा दिने भयो। निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, उच्च शिक्षामा अग्राधिकार लगायत सुविधा र अंग्रेजीमा पढाइ हुने भएपछि कन्या मन्दिरमा भर्ना बढ्न थाल्यो। केही वर्षयता हरेक शैक्षिक वर्षमा डेढ सय जनासम्म नयाँ विद्यार्थी भर्ना हुन्छन्।
'छात्रा मात्र पढ्ने विद्यालयमा यति विद्यार्थी संख्या ठूलो हो,' न्यौपाने भन्छन्, 'शिक्षकहरूको मेहनतका कारण पछिल्लो वर्ष विद्यार्थी बढेका हुन्। आकर्षक विद्यालय परिसर र भौतिक सुविधा अर्को कारण हो।'
२०७२ सालको भूकम्पले भवनमा क्षति पुर्याएको थियो। त्यो बेला दुई सत्रमा कक्षा चलाएर व्यवस्थापन गरे पनि नयाँ विद्यार्थी थप्ने सक्ने अवस्था भएन। पछि युएसआइडी (युनाइटेड स्टेट्स एजेन्सी इन्टरनेसनल डेभलपमेन्ट) ले विद्यालय पुनर्निर्माण गरिदियो। करिब ७१ करोड रूपैयाँ लगानीमा विद्यालय भवन र छुट्टै सेमिनार भवन बने। नयाँ भवनमा २०७८ साल भदौदेखि पढाइ सुरू भयो।
यो स्कुलमा एक हजार जनासम्म विद्यार्थी पढ्न सक्छन्। हाल नर्सरीदेखि कक्षा दससम्म पाँच सय तथा कक्षा एघार र बाह्रमा चार सय गरी कुल नौ सय जना छन्। सबैभन्दा कम विद्यार्थी भएको कक्षामा २५ जना छन्। सबैभन्दा बढी, कक्षा नौमा, ९० जना छन्।
स्कुलमा पुस्तकालय छ जहाँ विद्यार्थीहरू आफ्नो अनुकूल समयमा जान पाउँछन्। विद्यार्थी र शिक्षकका लागि उपयोगी, साहित्यिक र अन्य पुस्तक त्यहाँ छन्।
'नयाँ भवनमा सरेपछि पुस्तकालयको राम्रो व्यवस्था गरेका छौं,' प्रधानाध्यापक न्यौपाने भन्छन्, 'यहाँ विद्यालयका लागि चाहिने सबै पुस्तक छन्। इन्टरनेटमार्फत पढ्न ट्याब पनि राखेका छौं।'
अब स्कुलले सय जनासम्म बस्न सक्ने छात्रावास सञ्चालनमा गर्ने तयारी गरेको छ। यसका लागि विद्यालय परिसरमा ठाउँ छ। अशक्त र असहाय छात्राको अग्राधिकार हुने गरी छात्रावास सञ्चालन हुने प्रधानाध्यापक न्यौपानेले बताए।
अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धाका लागि हिमालका नामबाट विद्यार्थीका समूह बनाइका छन्। खेलकुद प्राथमिकतामा छ। विद्यालयका छात्राहरू राष्ट्रिय प्रतियोगिताहरूमा पनि सहभागी हुन्छन्। महानगरको क्षेत्र नम्बर ७ मा महिला खेलमा कन्या मन्दिरका छात्रा अग्रस्थानमा छन्। कबड्डीमा छ जना छात्रा राष्ट्रिय स्तरमा खेल्दै छन्। बास्केटबल र भलिबलमा पनि यहाँका विद्यार्थीहरू अगाडि छन्। भलिबल सिकाउन कोच विद्यालयमै छन्।
शैक्षिक सीप अभिवृद्धि गर्ने, वादविवाद, वक्तृता, हाजिरीजवाफ, निबन्ध र कथा लेखनजस्ता आन्तरिक प्रतिस्पर्धा स्कुलले गरिरहन्छ। यहाँका छात्राका लागि क्षेत्रपाटी चिकित्सालयमा निःशुल्क उपचार सुविधा पनि छ।
एउटा प्रसिद्ध भनाइ छ– एक जना महिला शिक्षित हुँदा परिवारै शिक्षित हुन्छ।
यही कथनको प्रतीक हो कन्या मन्दिर माध्यमिक विद्यालय।
शिक्षक गीता कुमारी अधिकारीले प्रतीकात्मक रूपमा भनिन्, 'कन्या मन्दिरका नवमञ्जरी, कोपिला, कुसुमहरू मेरा लागि अत्यन्त प्रिय छन्। यिनीहरूको भविष्य निर्माणमा सानो भए पनि इँटा थप्न प्रयत्नशील छु।'
कन्या मन्दिर काठमाडौं महानगरको नमूना विद्यालय हो। गत वर्ष काठमाडौं महानगरले 'एक वडा, एक नमुना' विद्यालय छनौट गर्दा वडा नम्बर ७ बाट कन्या मन्दिर परेको हो। साढे सात दशक लामो शैक्षिक इतिहास रहेको कन्या मन्दिर माध्यमिक विद्यालय इतिहासको गौरव राख्न सफल छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
यी पनि पढ्नुहोस्ः