सँगै पढेका आफ्नै गाउँका साथीहरूमध्ये एक जना आफ्नै ठाउँमा खेतीपाती गर्छिन्। अर्की एक जना काठमाडौंमा व्यवसाय गर्छिन्। यी दुवै साथीका छोराछोरी कोही उच्च शिक्षा पढ्दैछन्, कोही रोजगारीमा छन्।
क्याम्पसका सहपाठी साथीहरू को कहाँ छन् सबै थाहा हुने कुरै भएन। एक जना चाहिँ विद्यालय शिक्षिका भइन्, प्रधानाध्यापक पदको जिम्मेवारीमा पुगिन्। स्थानीय निर्वाचन, २०७४ मा शिक्षण पेसा त्यागेर मेयर पनि बनिन्। अहिले नेपाली कांग्रेस पार्टी सदस्यका रूपमा सक्रिय राजनीतिमा छिन्।
टीकादेवी सिंहचाहिँ दुर्गम पहाडी गाउँको ‘प्रारम्भिक बाल विकास केन्द्र’ मा पढाउँछिन्। उनले पढाउन थालेको १८ वर्ष भयो।
बालबालिकालाई खेलाउँदै पठाउँदा उनलाई बेलाबेला आफ्ना सबै सहपाठीको याद आउँछ। बालबालिकालाई पढाउँदा पढाउँदै पुगेका बेला उनले हामीलाई उनले आफ्ना साथीहरूबारे सुनाएकी हुन्।
हामीले भने उनलाई बाल विकास केन्द्रको हालखबर सोध्यौँ।
यहाँ पाँच वर्षमुनिका बालबालिका भर्ना हुन्छन्। कक्षा एकमा भर्ना हुनुअघि प्रारम्भिक बालविकास केन्द्रमा कम्तीमा एक वर्षको सिकाइ हुन्छ।
नेपाल सरकारले प्रारम्भिक बालविकास केन्द्रमा पढाउने शिक्षकको तलब मासिक १५ हजार रुपैयाँ तोकेको छ। त्यसमध्ये आठ हजार संघीय सरकारले पठाउँछ। सात हजार स्थानीय सरकारले व्यहोर्नु पर्ने व्यवस्था संघीय सरकारको बजेटले गरेको थियो।
कुशे गाउँपालिकाले संघीय संसदले पारित गरेको उक्त व्यवस्था कार्यान्वयन गरेको छैन। यस्तो व्यवस्था भएको एक आर्थिक वर्ष पूरा भयो तर टीकादेवी आठ हजार रुपैयाँमात्रै पाउँदैछिन्। तलबबारे गुनासो छोड्ने हो भने उनलाई आफूले बालबालिकालाई नै पढाएर जिन्दगी बिताइदिने मन छ।
टीकादेवी जुम्लाको तिला गाउँपालिका, सापुँलीमा जन्मिन्, हुर्किन्। बिहे भएर २०४५ सालमा जाजरकोट जिल्लाको कुशे गाउँपालिका आइपुगेकी हुन्।
अहिले पाँचवर्ष मुनिका बालबालिकालाई खेलाउँदै पढाउने उनी आफू भने आठ वर्षकी हुँदा बल्ल विद्यालय भर्ना भएकी थिइन्। त्यो बेलासम्म पनि छोरीलाई पढाउन पर्छ भन्ने कसैले ठान्दैनथे। उनको पढाई पनि दशकक्षा पुरा नहुँदै रोकियो।
‘गाउँमा छोरीलाई पढ्न पठाउने चलन थिएन। अर्काको घर जाने छोरीलाई पढाएर के काम छ भन्ने मान्यता थियो,’ उनले भनिन्, ‘त्यति ठूलो गाउँमा तीन घरका एकएक जना गरेर तीन वटी छोरीमात्र स्कुल जान पाएका थियौँ।’
सात दिदीबहिनीमध्ये चौथो स्थानकी टीकादेवीमात्र स्कुल जान पाइन्।
‘बुबाले मलाई स्कुल पठाउनुभयो, अरूलाई पठाउनु भएन। बुबा वकालत गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘बुबाले मलाईमात्र स्कुल पठाउनुको कारण पनि थाह छैन।’
गाउँमा सबैभन्दा नजिकको स्कुल पुग्न आधा घण्टा लाग्थ्यो। बीचमा खोला तर्नु पर्थ्यो तर पुल थिएन। बर्खामा कहिलेकाहीँ रोकिनुपर्थ्यो
चार कक्षा पढ्न अर्को स्कुल जान थालिन्। स्कुल पुग्न दुई घण्टा लाग्थ्यो। यति टाढा भए पनि टीकादेवी नियमितरूपमा स्कुल जान्थिन्। पढाइमा लगनशील थिइन्। खेलकुद प्रतियोगितामा धेरै जसो पुरस्कार उनै जित्थिन्।
नौ कक्षा पूरा गरेपछि टीकादेवी शिक्षक बन्न आवश्यक पर्ने आधारभूत तालिम ‘बी लेभल’ लिन ‘जुम्ला विस्तार महिला क्याम्पस’ मा भर्ना भइन्। त्यो बेलामा महिलालाई मात्र आवासीयरूपमा पढाउने ‘जुम्ला विस्तार महिला क्याम्पस’ सदरमुकाम चन्दननाथमा थियो।
त्यहाँ उच्च शिक्षा पढ्न चाहनेहरू ‘अपग्रेडिङ’ प्रणालीअनुसार प्रवेश परीक्षा दिएर भर्ना हुन्थे। शिक्षक बन्न चाहनेहरू ‘बी लेभल’ मा भर्ना हुन्थे।
नौ महिनाको ‘बी लेभल’ तालिम पूरा हुनै लाग्दा २०४५ सालमा ‘जुम्ला विस्तार महिला क्याम्पस’ खारेज भयो। त्यसका सबै शैक्षिक कार्यक्रम त्यतिकै सकिए। तालिम पूरा गरेर प्रमाणपत्र लिन पाएको भए टीकादेवी कुनै विद्यालयको शिक्षक हुने थिइन् होला।
‘त्यही वर्ष मेरो बी लेभल तालिमको नतिजा आउँदै थियो तर त्यो व्यवस्था नै खारेज भइदियो,’ उनले भनिन्, ‘दुर्भाग्यवश मैले प्रमाणपत्र लिन पाइनँ।’
लगत्तै उनको बिहे भइगयो। पढाइ रोकियो। उनले भनिन्, ‘बिहे गरेर जाजरकोट आएको धेरै वर्षपछि एसएलसी पास गरेकी हुँ।’
‘जुम्ला विस्तार महिला क्याम्पस’ मा आधारभूत शिक्षा तालिम लिँदै गर्दा टीकादेवी २०४५ सालमा शैक्षिक भ्रमणमा काठमाडौं गएकी थिइन्। त्यही क्रममा उनले राजा वीरेन्द्रलाई भेट्न पनि पाइन्।
‘जुम्ला विस्तार महिला क्याम्पस’ खारेज भएर त्यो समयको उच्च माध्यमिक विद्यालय बन्यो। क्याम्पस हुँदा महिलामात्र पढ्न पाउँथे विद्यालय बनेपछि पुरुषले पनि प्रवेश पाए।
टीकादेवीका अनुसार जुम्ला विस्तार महिला क्याम्पसमा बाजुरा, बझाङ, मुगु, कालीकोट, डोल्पा, जाजरकोट, हुम्ला लगायतका पहाडी तथा हिमाली जिल्लाका महिलाहरू पढ्न र तालिम लिन पुग्थे।
क्याम्पसमा छात्राहरूको पढाइ र तालिम निःशुल्क थियो। खानेबस्ने सुविधा पनि निःशुल्क थियो।क्याम्पसको भौतिक संरचना र सेवासुविधा उत्कृष्ट थियो। विदेशी शिक्षक पनि थिए।
‘हामीलाई सिकाउने एक जना त अमेरिकी महिला हुनुहुन्थ्यो, क्याम्पस प्रमुख भक्तपुरका सिद्धिरत्न शाक्य हुनुहुन्थ्यो। असाध्यै राम्रो थियो,’ टीकादेवीले भनिन्, ‘त्यस्तो क्याम्पस भए त अहिले पनि म अल्छी नमानी पढ्न जान्थेँ होला।’
टीकादेवी अहिले ५२ वर्षकी भइन्। उनले २०६१ सालमा प्रारम्भिक बालविकास केन्द्रमा पढाउन थालेकी हुन्।
आफू बालविकास कक्षाको शिक्षकमा सीमित भएकोमा उनलाई गौरव अनुभूति हुन्छ। भन्छिन्, ‘आजका बालबालिका नै भविष्यका राष्ट्रनिर्माता हुन्। उनीहरूको प्रारम्भिक विकासमा मैले केही योगदान गर्न पाएकी छु। मेरो मिहिनेत खेर गएको छैन।’
प्रारम्भिक बालविकास शिक्षकका रूपमा टीकादेवीले झन्डै दुई दशकको अनुभव सँगालेकी छन्। सुरुका बालविकास कक्षा अहिलेका जस्ता सुविधायुक्त थिएनन्।
शैक्षिक सामग्री उपलव्ध भए पनि कक्षा व्यवस्थापन राम्रो थिएन। बालबालिकालाई खेलाउँदै पढाउने सुविधा थिएन। समयक्रममा सुधार हुँदै गयो। अहिले बालविकास कक्षाका लागि छुट्टै भवन छन्। भुइँमा बस्ने राम्रो सुविधा छ।
‘पहिले त बच्चाबच्ची धुलोमा बस्थे, जतिबेला पनि धुलाम्मे हुने,’ उनले भनिन्, ‘हामी पढाउनेहरूलाई काठको एउटा कुर्सी हुन्थ्यो। त्यो पनि कुनैमा त थिएन।’
टीकादेवीका अनुसार बालविकास कक्षा सुरु हुँदै गर्दा आठ वर्षसम्मका बालबालिका भर्ना हुन्थे। अहिले पाँच वर्षमुनिका मात्रै भर्ना गर्नुपर्ने नियम छ।
टीकादेवीले जाजरकोटको खलंगामा बालविकास शिक्षक तालिम लिइन्। दस दिनको त्यही तालिमपछि उनी २०६१ पुसमा बालविकास शिक्षकमा नियुक्त भइन्।
उनी शिक्षक नियुक्त हुँदा उनकै टोलमा एउटा बालविकास कक्षा थियो। दुई वर्षपछि मालिका प्राथमिक विद्यालय स्थापना भयो। उनले पढाउने बालविकास केन्द्र पनि त्यहीँ गाभियो।
उनले बालविकास कक्षा पढाउन थाल्दा तलब मासिक पाँच सय रुपैयाँ थियो। तीन वर्षपछि बढेर एक हजार भयो। त्यसको केही वर्षपछि बढेर एक हजार आठ सय पुग्यो।
क्रमशः बढ्दै चालु आर्थिक वर्षमा १५ हजार भनिए पनि टीकादेवी संघीय सरकारले दिने आठ हजार रुपैयाँ मात्र पाउँछिन्।
टीकादेवीले स्थानीय तहले व्यहोर्नु पर्ने तलब भुक्तान गरिदिने आश्वासन गाउँपालिकाबाट पाएकी छन्। यही असार मसान्तमा एक वर्ष पूरा हुन्छ तर उनले कहिले पाउँछिन्, टुंगो छैन।
टीकादेवीले पढाउने बालविकास कक्षा भएको विद्यालयमा माथिल्लो कक्षाका शिक्षकहरू पनि उनीबाट सिक्न खोज्छन्।
‘मैले पढाउने बालविकास कक्षाबाट एक कक्षामा गएका बच्चाहरू विद्यालयका अरू विद्यार्थीभन्दा तगडा हुन्छन्,’ उनी भन्छिन्, ‘उनीहरूको पढाइस्तर कसरी बढ्छ भनेर शिक्षकहरू मलाई सोध्नुहुन्छ।’
बालविकास कक्षामा पढाउनुअघि टीकादेवीले प्रौढकक्षा र चेलीकक्षामा पनि पढाइन्।
कहिलेकाहीँ सोच्छिन्– सँगै पढेका कति साथीहरूले धेरै प्रगति गरे, कोही ठूला जागिरे भए, कोही व्यापारी भए। टीकादेवी भन्छिन्, ‘बालबालिकालाई सिकाउँदै म आफ्नो जिन्दगीका वर्षौं बिताएँ। म यसैमा खुसी छु,सन्तुष्ट छु।’
बालविकास केन्द्रमा पढाउने शिक्षक महिला मात्र हुन्छन्। उनीहरू मासिक तलब बाहेक निभृत्तिभरण वा अन्य केही पनि सुविधा पाउँदैनन्।
उनलाई पढाइ सुरु गर्न थालेका कलिला बालबालिकालाई पढाएर देशका लागि दक्ष जनशक्ति निर्माणको जग राख्न सघाउन पाएकोमा टीकादेवीलाई गौरव अनुभूति हुन्छ।