करिब ५ सय धार्मिक पर्यटक बोकेर बिहीबार अपरान्ह रामायण सर्किट रेल जनकपुर आइपुगेको छ।
पर्यटक बोकेर नेपाल आएको यो पहिलो भारतीय रेल हो। १४ डिब्बा रहेको उक्त रेलको प्रत्येक बोगीमा भारतीय कला, संस्कृति, परम्परा, सम्पदालगायत चित्र छन्।
जनकपुर रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उद्योग वन पर्यटन तथा वातावरणमन्त्री शत्रुधन महतोले भारतीय पर्यटकलाई स्वागत गरेका थिए।
बाजा गाँजासहित भारतीय पर्यटकलाई गुलदस्ता लिएर यहाँका साधुसन्त, राजनीतिकर्मी तथा विद्यार्थीले जनकपुरमा स्वागत गरेका हुन्।
पर्यटक सहितको यो रेल नियमित रूपमै सञ्चालन हुने भारतीय रेल्वेका एक अधिकारीले जानकारी दिए। उनका अनुसार महिना वा दुई महिनामा यो रेल एक पटक जनकपुर आइरहनेछ। रामायण सर्किट रेलको यात्रा १८ दिनको हुनेछ। यात्राका लागि प्रति यात्रु ६२ हजार ३ सय ७० रूपैँया भाडा निर्धारण गरिएको ती अधिकारीले बताए।
यात्रा अवधिभर होटेल, खाना लगायतका सबै खर्च रेल्वेले बेहोर्नेछ। जनकपुर आइपुगेका पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम राखिएको छ।
उनीहरूलाई आज साँझ गंगा आरतीमा सहभागी गराइनेछ। भोलि धनुषाधाम दर्शनपछि पर्यटक फर्किने कार्यक्रम रहेको उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री महतोले बताए।