सुर्खेतको बराहताल गाउँपालिका-५ चेपाङ गाउँकी पुतली सुनारको भान्सामा यो वर्ष हरियो तरकारी छुटेन। सुख्खायाममै पनि तरकारी खाली भएन।
आफ्नो बारीमा लगाएको बेमौसमी तरकारी खेतीबाट उत्पादन भएको तरकारी भान्सामा त प्रशस्त भयो नै, केही त गाउँमै पनि बेचिन्।
‘यो सिजनमा लगाएको तरकारी परिवारले नियमित खायौं। अझ केही तरकारी त बेचेर पनि ६-७ हजार रुपैयाँ कमाएकी छु,’ उनले भनिन्।
उनको पाँच जनाको परिवार छ। उनले तरकारी खेती गर्न थालेको दुई वर्ष भयो। यसअघि उनको बारीमा परम्परागत खेती गरिन्थ्यो। त्यसमा पनि खासै उत्पादन थिएन। अहिले तरकारी खेतीले उनको भान्सामा परिवर्तन ल्याएको छ भने सामान्य आम्दानी पनि भइरहेको छ।
‘खासै यस्तो तरकारी खेती गरिँदैनथ्यो, अलिअलि नियमित लगाउने तरकारी खेती पनि सीप नभएकाले उत्पादनै उति हुन्थेन,’ पुतलीले भनिन्, ‘फाँडोसँग, नुन-खुर्सानीसँग खाना खाइदिने गर्थ्यौं, अब त भान्सामा पोषिलो खाना पाक्छ भन्दा पनि फरक पर्दैन।’
केही वर्षअघि व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम पनि लिएकी थिइन्। गाउँको तरकारी उत्पादन गर्ने समूहलाई कृषि क्षेत्र विकास कार्यक्रमले दिएको तरकारी खेतीबारे तालिममा सहभागी भएपनि उनलाई यसतर्फ झन् उत्साह थपिएको हो।
अहिले बारीमा टनेललगायत विभिन्न प्रविधि प्रयोग गरी तरकारी खेती गर्ने गरेको उनले बताइन्।
उनका श्रीमानले पहिलेदेखि नै कहिले नेपाल त कहिले भारतमा मजदुरी गरी परिवार पाल्दै आएको थिए।
पुतलीलाई अब श्रीमानको कमाइमा मात्र भर पर्नुपर्दैन। परिवारको खर्च धान्न उनको पनि केही हिस्सा कमाइ थपिएको छ।
‘मजदुरी गरी हुने श्रीमानको सामान्य कमाइमा बाँच्नुपर्ने अवस्था थियो, एकजनाको कमाइले परिवारलाई पाल्न मुस्किलले पुग्थ्यो,’ उनी भन्छिन्, ‘मैले तरकारी खेती गर्न थालेपछि श्रीमानको कमाइ अधिकांश बचत हुन्छ।’
बराहताल-५ कै सातर्ना गाउँकी सूर्यकला घर्ती मगरलाई पहिलेभन्दा अहिले छोराछोरी पढाउन सहज भएको छ। सूर्यकलाले व्यवस्थित रूपमा तरकारी खेती गर्न थालेको २ वर्ष भयो।
उनलाई पनि अब श्रीमानको मात्र कमाइको भर पर्नुपर्दैन।
‘आफूले गरेपछि हुनेरहेछ, सात जनाको परिवारलाई नियमित खाएर पनि तरकारी बेच्न पुगेको छ,’ उनले भनिन्, ‘श्रीमान गाउँघरमै मजदुरी गर्नुहुन्थ्यो, उहाँको कमाइ मात्र हाम्रो जोहो गर्ने माध्यम थियो। अब त त्यसमा भर पर्नुपर्ने अवस्था छैन।’
यो सिजनमा उनले खुर्सानी, भान्टा, फर्सी खेती गरेकी थिइन्। उनले आफूले व्यावसायिक खेती नै भनेर दुई वर्षदेखि तरकारी खेती गर्न थालेकी हुन्। गाउँमा लिफ्टिङ सिँचाइ सुरू भएपछि आफ्नो तरकारी खेतीमा सहजता आएको सूर्यकलाले बताइन्।
पुतली र सूर्यकला मात्र होइन, बराहताल-५ मा तरकारी खेती गर्ने ६ वटा समूह छन्। ती समूहमा आवद्ध १८४ जना सदस्यमध्ये ८० प्रतिशत महिला सदस्य छन्। उनीहरूले व्यावसायिक रूपमा गरिने तरकारी खेतीबारे तालिम लिएका छन्।
तालिमपछि पुरूष सदस्यको आम्दानीले धान्न गाह्रो हुने परिवारमा महिलाको आम्दानीले सहजता ल्याएको शिद्धेश्वर कृषि तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष युवराज बस्नेतले बताए।
‘यहाँ व्यवस्थित रूपमा खेती गर्न थालेको दुई वर्ष भयो, यो अवधिमा सोचेको जस्तो परिवर्तन नभए पनि संकेत गज्जबको देखिएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘पहिले घरमा फलेको तरकारी बेच्न पनि लाज मान्ने महिला सदस्यहरू अहिले बेच्नुपर्दा डोकोमा लिएर पनि बजार जान्छन्।’
उनका अनुसार गत वर्ष ६ वटा समूहले उत्पादन गरेको १० हजार ५ सय किलो टमाटर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पठाइएको थियो।
पहिले परम्परागत रूपमा एकल बाली लगाउने समूहका सदस्यहरूले अहिले मिश्रित रूपमा पनि बाली लगाउन थालेको उनले बताए।
२०६० सालमा मजदुरी गर्न एक वर्षसम्म भारत बसेका चेपाङ गाउँका प्रेम वली अहिले गाउँमै तरकारी खेती गरिरहेका छन्। उनले तरकारीबाहेक अरू पनि कृषिकर्म गर्छन्।
‘त्यहाँ (भारतमा) यहाँभन्दा बढी दु:ख हुने तर कमाइ यहाँको जति पनि नहुने भएपछि म एक वर्ष भारत बसेर फर्केको हुँ, अहिले तरकारीसँगै अरू कृषिकर्म पनि गर्छु,’ उनले भने, ‘यो वर्ष मात्र मैले १० हजारको टमाटर बेचें, अब निर्वाहमुखी खेतीबाट उद्यमी बन्ने योजनामा छु।’
गाउँमा व्यावसायिक योजनाका साथ तरकारी खेती गरिएपछि यातायात र बजारको अभावले खपतमा समस्या भएको अध्यक्ष बस्नेतले बताए।
‘बजारीकरण भएन, यातायात पनि हाम्रो उत्पादन बिक्री गर्ने समयमा नियमित चल्दैन,’ पुतली सुनारले भनिन्, ‘मेरो ५ कठ्ठाभन्दा बढी जग्गा छ, बजारको व्यवस्था भए त म अझ तरकारी खेती बढाउँथें।’
गाउँमा भएको उत्पादनको बजारीकरणमा सहयोग गर्ने सडकको स्तरोन्नति हुने अपेक्षा गरिएको बस्नेतले बताए।
कृषि क्षेत्र विकास कार्यक्रमले गिमिनी खोलादेखि बराहताल-५ रक्सेनीसम्मको बाटो बाह्रै महिना चल्नेगरी निर्माण गर्ने भएको छ। यसका लागि ठेक्का प्रक्रिया सुरू भइसकेको कृषि क्षेत्र विकास कार्यक्रमले जनाएको छ।