कुरा दुई दशकअघिको हो। सुर्खेतको लेकबेँसी–९, काल्तडीका सन्तोष खाम्चा वर्षभरिका धेरै दिन भारतमा बिताउँथे। दसैं, तिहारजस्ता मुख्य चाडमा सकेसम्म घर आए पनि बाँकी दिन भारतमै हुन्थे।
सन्तोष गोवामा बस्थे। त्यहाँ धेरै वर्ष होटलको कूक भएर काम गरे। उनी २०५८ सालमा आफ्नै ठाउँ सुर्खेत फर्के। गोवामा प्राप्त अनुभवका आधारमा वीरेन्द्रनगरमा एउटा होटल खोले।
साढे दुई वर्षमा होटल व्यवसायबाट उनलाई घाटा त भएन तर सोचेअनुसार आम्दानी पनि भएन।
उनले अर्को व्यवसाय सुरू गरे। स्थानीय बजारमा कुखुरा पाले। कुखुराका चल्ला र मासु बेचेर दैनिक २० हजार रुपैयाँभन्दा बढीको कारोबार गरे।
काम राम्रै थियो। एक पटक अचानक कुखुरा बिरामी परे। उपचारले पनि केही लागेन। एकै पटक तीन सय कुखुरा खाल्डामा पुर्नु पर्यो। कुखुरा व्यवसायबाट उन्नति नहुने ठहर गरेर सन्तोष यातायात र ढुवानी व्यवसायमा लागे।
कुखुरा व्यवसायबाट बचत भएको केही रकमले उनले ट्याक्टर किने। त्यसबाट उनलाई केही फाइदा भयो। ट्याक्टर बेचेर बस किने। २०६८ सालमा आएको बाढीले बस काम नलाग्ने गरी बिगारिदियो।
त्यसपछि उनले लेकबेँसीकै गँगटे बजारमा फेन्सी पसल खोले। स्थानीय बजार नजिकमा दुई वटा घडेरी बेचेर सुरू गरेको फेन्सी पसलबाट फाइदा भएन। त्यो फेन्सी पसलमा भएको उधारो कारोबारले उनलाई ऋणमा डुबायो।
करिब ४० लाख रुपैयाँ लगानी गरेर फेन्सी पसल खोलेका सन्तोषको थाप्लोमा ३० लाख रुपैयाँ ऋण थपियो।
आफ्नो देश फर्केर चार किसिमका व्यवसाय गर्दा पनि उन्नति नभएपछि सन्तोषले विदेश जाने सोच बनाए।
विदेश जाने प्रक्रिया सुरू गरेपछि उनलाई एक जना छिमेकीले सुझाव दिए, ‘गाउँमा यति धेरै जग्गा भएको मानिस विदेश जानुभन्दा, यहीँ केही गर।’
ती छिमेकीले उनलाई कामका लागि १० लाख रुपैयाँ ऋण दिने भए।
विदेश जाने सोच त्यागेर सन्तोषले भैंसीपालन सुरू गरे। अहिले उनीसँग नौ वटा माऊ भैंसी र नौ वटा पाडापाडी छन्। अहिले उनी प्रतिलिटर ६५ रुपैयाँका दरले दैनिक ५० लिटर दूध बेच्दैछन्। एक बिघामा त घाँस खेतीमात्रै छ।
विदेश गएको भए पनि श्रमै गरेर दिन बित्थ्यो यहाँ पनि उनी भैंसीपालनमा काम गर्न र दूधको हिसाब गर्न व्यस्त हुन्छन्। उनलाई यसमै ज्यादा सन्तुष्टि मिलेको छ।
‘एक बेला थुप्रै काम गरेँ। विदेश जान आधा प्रक्रिया पूरा गरेको थिएँ,’ उनले भने, ‘अहिले भैंसीपालनपछि त पहिला व्यर्थैमा अनेक गरेछु जस्तो लाग्छ।’
भैंसी फार्म विस्तार गर्न कृषि विकास बैंकले सन्तोषका लागि ५० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ। त्यसमध्ये केही रकम लगानी गरिसके। दस वटा भैंसी थप्ने योजना छ।
सन्तोषले भैंसी पाल्न थालेको डेढ वर्षमात्रै भयो। उनले तीन वटा भैंसी किनेर काम सुरू गरेका थिए। एउटा भैंसीलाई ८० हजार रुपैयाँ परेको थियो।
सन्तोष अहिले मासिक एक लाख रुपैयाँसम्मको कारोबार गर्छन्। मासिक ५० हजार रुपैयाँजति बचाउने गरेको उनले बताए।
‘गएको महिना त डेढ लाखको कारोबार भयो। मलाई सन्तुष्ट बनाएको व्यवसाय नै यही (भैँसीपालन) हो,’ उनले भने, ‘अब त म बाहिर (विदेश) गएर रोजगारी गर्ने कल्पना पनि गर्दिनँ, यसैमा लगानी बढाउने हो।’
उनी भैंसीको दूध त बेच्छन् नै, मल बेचेर पनि आम्दानी गर्छन्। एक वर्षमा ७२ हजार रुपैयाँको मल बेचेको उनले बताए।
आफूले प्रयोग गरेर बचेको मल बेच्छन्। हाल चार वटा बंगुर पनि पालेका छन्।
काल्ताडी गाउँकै जैसरा वीरकट्टा पनि व्यावसायिक रूपमै भैँसीपालनमा लागेकी छन्। उनीसँग अहिले छ वटा भैंसी छन्। तीमध्ये चार वटा दुहुना छन्।
जैसराले सुख्खा सिजनमा पनि दैनिक १७ लिटर दूध बेचिन्। मासिक २५ हजार रुपैयाँ बचत गर्ने गरेको उनले बताइन्। उनका श्रीमान पहिले मजदुरी गर्न भारत जान्थे। अहिले घरमै भैंसीपालनमा व्यस्त छन्।
‘परम्परागत रूपमा त थियो। व्यावसायिक रूपमा चाहिँ दुइटा भैंसीबाट सुरू गरेको हो,’ जैसराले भनिन्, ‘बिस्तारै भैंसी थप्दै गएँ, कारोबार पनि बढ्यो। श्रीमान पनि यतै व्यस्त हुने व्यवसाय बनेको छ।’
उनले भैंसीपालन सुरू गरेको सात वर्ष भयो। अब चाँडै पाँच वटा भैंसी थप्ने तयारीमा छिन्।
‘भैंसी त थप्ने हो। अब पेसा नै यही हो,’ उनले भनिन्,‘अहिलेसम्म घाटा भएको छैन, परिवार चलाउन सजिलो भएको छ।’
काल्ताडी गाउँमा सन्तोष र जैसराजस्तै अरू २७ जना कृषक व्यावसायिक रूपमा भैंसीपालनमा छन्। उनीहरूले ‘काल्ताडी भैंसीपालन कृषक समूह’ बनाएका छन्।
समूहका सचिव दीपककुमार ढकालका अनुसार गाउँबाट सुख्खा मौसममा पनि दैनिक कम्तीमा १२५ लिटर दूध बजार जान्छ। सबै दूध वीरेन्द्रनगरका डेरीहरूमा खपत हुन्छ।
उनका अनुसार सिजनमा कम्तीमा दैनिक २१० लिटर दूध बजारमा पुग्छ।
दीपकुमारले दुइटा भैंसी पालेका छन्। उनी दैनिक १० लिटर दूध बेच्छन्। उनले व्यावसायिक रूपमा केरा खेती पनि गरेका छन्। उनी पनि भैंसी थप्ने योजनामा छन्।
दीपकुमारका अनुसार भैंसीपालनमा गाउँका किसान अग्रसर भएपछि जीवनस्तर समेत उकासिएको छ।
उनले भने,‘यहाँका मानिसको पहिले र अहिलेको जीवनस्तर निकै फरक छ। पशुपालन गरे पनि परम्परागत थियो। अहिले आधुनिक रूपमा भइरहेको छ।’
नेपाल सरकारअन्तर्गत कृषि क्षेत्र विकास कार्यक्रमले व्यावसायिक भैंसीपालनका लागि गाउँका कृषकहरूलाई भौतिक संरचना निर्माणमा सहयोग गरेको छ। कार्यक्रमबाट ४५ प्रतिशतसम्म अनुदान पाएको सन्तोषले बताए।
गाउँका पशु प्राविधिक नारायण ढकालका अनुसार काल्ताडीवासीहरू बलियो इच्छाशक्तिका साथ पशुपालनमा लागेका छन्। किसानहरू सल्लाहका लागि आफूसँग आउने गरेको उनले बताए।
समूहका सचिव ढकालका अनुसार ‘काल्ताडी भैंसीपालन कृषक समूह’ मा हाल कम्तीमा ७० वटा भैंसी छन्।