विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन्।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट विस्थापित भएर आएका रोहिंग्याहरू छन्। उनीहरूसँगै धर्ना बंगलादेश, पाकिस्तान, श्रीलंका, सोमालिया, इराकलगायत देशका शरणार्थी पनि धर्नामा सहभागी छन्।
अध्यागमन विभागका अनुसार नेपालमा ६७२ जना रोहिंग्या शरणार्थीहरू छन्।
म्यानमारबाट आएका ३७८, पाकिस्तानबाट १८७, अफगानिस्तानबाट ५२, सोमालियाबाट २१, श्रीलंकाबाट १९, इरानबाट ९, बंगलादेशबाट ५ र इराकबाट आएका १ जना शरणार्थी छन्।
आफूहरूको पुनर्स्थापनाका लागि कार्यालयले गरेको काममा असन्तुष्टि जनाउँदै उनीहरूले धर्ना दिएका छन्।
हातमा विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर स-साना बालबालिका पनि धर्नामा सहभागी भएका छन्।
रोहिंग्या शरणार्थीहरू अधिकांश काठमाडौंको कपन क्षेत्रमा बसोबास गर्छन्। उनीहरूले आफूहरूले काम गर्न नपाउने भएकाले जीवन धान्न मुस्किल भएको बताउँदै आएका छन्।
आफ्ना मागहरू सम्बोधन नभएसम्म धर्ना जारी राख्ने उनीहरूले बताएका छन्।
हेर्नुस् तस्बिरहरू: