खोलानालामा आएको बाढीले डुबानमा परी विस्थापित परिवारलाई झापाको शिवसताक्षी नगरले मंगलबारदेखि सामूहिक रूपमा खाना खुवाउने भएको छ।
नगरको वडा नम्बर ६ का ९१ र वडा नम्बर ४ का १ सय ६० जनालाई उनीहरू आश्रय लिएर बसेको स्कुलमै वडाले खाना पकाएर खुवाउने नगर प्रमुख मेघाहाङ थोप्राले बताए।
विस्थापित परिवारले बाढी आएको थाहा पाएपछि लगाएका एकसरो कपडामा भागेर ज्यान जोगाएका थिए। उनीहरूको घरमा भएका सबै खाद्यान्न, लत्ताकपडा भिजेको उनले जानकारी दिए। प्रहरी, रेडक्रसकर्मी र स्थानीय बासिन्दाले ट्युब, डुंगा, पानीमा तैरिने वस्तुको सहायताले कतिपय घर बाहिर निस्कन नसकेका परिवारलाई उद्धार गरेका थिए।
चारैतिर पानी परेर डुबाउन लागेका १३ घरका परिवारलाई ट्युबको सहायताले उद्धार गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष नारायण प्रसाद दाहालले बताए।
वडा नम्बर ६ का विस्थापित परिवार स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा छन् भने वडा नम्बर ४ का विस्थापित त्रिभुवन माध्यमिक विद्यालयमा छन्। चारैतिर पानीले जमिन भरिएका कारण विभिन्न रोगको संक्रमण र सर्पदंसबाट बच्न विस्थापित परिवारलाई नगर प्रमुख थोप्राले सचेत गराएका छन्।
‘परिवारै पिच्छे राहत दिएर साध्य हुँदैन। सम्बन्धित वडा कार्यपालिकाले विस्थापितलाई खाना पकाएर खुवाउने योजना नगरले बनाएको छ,’ नगर प्रमुख थोप्राले सेतोपाटीसँग भने।
बेलुका सुत्न म्याट, तकिया र ब्ल्यांकेटहरू विस्थापितका हात हातमा दिएको उनले बताएका छन्।
विस्थापितमध्ये चार जना सुत्केरी र दुई जना गर्भवती पनि छन्। उनीहरू र शिशुको विषेश सुरक्षा व्यवस्था मिलाइएको वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलालले बताए। महिला र पुरुषका लागि अलगअलग बासस्थानको व्यवस्था मिलाइएको छ।
विस्थापित परिवारका लागि स्थानीय गोपाल गौरी दिगो विकास प्रतिष्ठानले शिवसताक्षी नगरलाई राहत सामग्री प्रदान गरेको छ। प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम, शिवसताक्षी नगरकी निवर्तमान उपप्रमुख भोजकुमारी नेपाल लगायतको टोलीले विस्थापित बसेकै ठाँउमा पुगेर नगर प्रमुख थोप्रालाई राहत सामग्री प्रदान गरेका हुन्।
नगरको एकद्वार प्रणालीबाट विपतका बेला खाद्य तथा गैर खाद्य वस्तु सहयोग गर्ने दाता र दाता संस्थाका पदाधिकारीलाई नगर प्रमुखले असली समाजसेवीको रूपमा हेरेको बताए। संस्थाहरूले चामल, चिनी, खानेतेल, दाल, चिउरा, भुजा, नुन, चाउचाउ र दुई थान खाना पकाउने ग्यास सिलिन्डर प्रदान गरेका छन्।
बाढीले नगरको झिलझिले हवल्दार चोक सडकमा पर्ने लालझोडाको कजवेमा क्षति पुर्याएको छ। सो सडकमा कुनै पनि सवारी साधन चल्न सक्दैनन्। नगरको वडा नम्बर ५ पनि डुबानमा परेको छ। सतासी, मकरडुवा र झिलझिले खोलाको पानीको बहाव बढेपछि मानव वस्ती डुबानमा परेका हुन्।
झापामा बाढीबाट भएको क्षतिको पूरा विवरण आइसकेको छैन। बुधबार बिहानसम्ममा सबै विवरण आइसक्ने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। मंगलबार जिल्लाका नदी नालामा आएको बाढीले २८९ परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। विस्थापित सबैलाई सामुदायिक विद्यालय, मन्दिर र आफन्तकोमा सुरक्षित राखिएको रेडक्रसका झापा सभापति लोकराज ढकालले बताए।